कारोबार


प्रत्यक्ष चुनाव लड्न तम्सिएका दर्जन व्यवसायी : कस्ता छन् प्रतिस्पर्धी?

प्रत्यक्ष चुनाव लड्न तम्सिएका दर्जन व्यवसायी : कस्ता छन् प्रतिस्पर्धी?

वसन्त अर्याल
असोज २५, २०७९ मंगलबार ५:९, काठमाडौँ

ठूला राजनीतिक दलबाट प्रतिनिधिसभामा दर्जन बढी व्यवसायीले प्रत्यक्ष निर्वाचन लड्दै छन्। 

मंसिर ४ गते हुने निर्वाचनमा व्यवसायी विभिन्न दलका चर्चित नेतासँग प्रतिस्पर्धा गर्दै आएका छन्। 

अघिल्लो निर्वाचनमा व्यवसायीहरु समानुपातिक निर्वाचनमा बाहुल्य रहने गरेकोमा २०७९ को निर्वाचनमा प्रत्यक्षमा बढी उम्मेदवार बनेका छन्।

प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेसले सबैभन्दा धेरै व्यवसायीलाई उम्मेदवार उठाएको छ। कांग्रेसबाट नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीदेखि पर्यटन व्यवसायी राजेन्द्र बजगाईंसम्मले अवसर पाएका छन्। 

एमालेको समानुपातिकमा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन उम्मेदवार बने पनि प्रतिनिधिसभामा नयाँ व्यवसायीको ‘इन्ट्री’ भएको छैन। एमालेबाट मोतिलाल दुगड र दुर्गा प्रसाईं उम्मेदवार बन्ने चर्चा रहे पनि प्रतिनिधिसभामा टिकट पाएनन्। 

एमालेबाट झापामा व्यवसायी एलपी साँवा दोहोरिएका छन् भने मनाङमा पोल्देन छोपाङ गुरुङ दोहोरिएका छन्।

२०७४ मा संसद छिरेका व्यवसायी कृष्णकुमार श्रेष्ठले एकीकृत समाजवादीबाट टिकट पाएका छन्। अघिल्लो निर्वाचनमा तनहुँबाट लडेका श्रेष्ठले रामचन्द्र पौडेललाई छाडेर बारा क्षेत्र नं. ४ बाट टिकट पाएका छन्। त्यस्तै राप्रपा उपाध्यक्ष विक्रम पाण्डे चितवनबाट निर्वाचन लड्दै छन्। 

कुन व्यवसायीको प्रतिस्पर्धी को?

नवलपरासी १ : 
अर्बपति विनोद चौधरीका प्रतिस्पर्धी हृदयेश त्रिपाठी र सिन्धु लजेशा बुढाथोकी

२०७४ को निर्वाचनको समयमा कांग्रेस प्रवेश गरेका उद्योगी विनोद चौधरीले यो पटक प्रत्यक्ष निर्वाचन लड्ने घोषणा नै गरेका थिए।

उनले सुरुमा नवलपुर क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने तयारी गरे पनि कांग्रेसले उक्त क्षेत्रमा देवेन्द्र कुँवरलाई उठाएर नवलपरासी १ बाट विनोद चौधरीलाई टिकट दिएको हो। 

विनोद चौधरीले उम्मेदवारी दर्तासँगै फरक भूमिका लिएर प्रत्यक्ष रुपमा जनतामा गएको उल्लेख गरेका छन्। 

‘हिजो पनि जनतामाझ थिएँ। तर आजदेखि फरक भूमिका लिएर प्रत्यक्ष रुपमा यहाँहरुका दुःख समस्यालाई सम्बोधन गर्न नवलपरासी १ बाट सांसद पदमा उम्मेदवारी दिएको छु’, चौधरी भन्छन्, ‘यहाँहरूको विश्वास खेर जान नदिने प्रण गर्दछु।’

१४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै उनले प्रत्यक्ष राजनीतिमा जोडिने बताएका थिए।

विनोद चौधरीले एमालेकी सिन्धु लजेशा बुढाथोकी र जनता प्रगतिशीलका हृदयेश त्रिपाठीसँग प्रतिस्पधा गर्नेछन्। २०७४ को निर्वाचनमा नवलपरासी १ बाट सूर्य चिह्नबाट हृदयेश त्रिपाठी विजयी भएका थिए। 

चितवन २ : 
राज्यमन्त्री उमेश श्रेष्ठको प्रतिस्पर्धा कृष्णभक्त पोखरेल र रवि लामिछानेसँग 

हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री व्यवसायी उमेश श्रेष्ठले चितवन क्षेत्र नं २ बाट टिकट पाएका छन्। हाल समानुपातिकबाट सांसद रहेका श्रेष्ठ यसपटक प्रत्यक्षमै चितवनबाट निर्वाचन लड्ने भएका हुन्। 

क्षेत्र नं. १ बाट उनको नाम पनि सिफारिस भएको थियो। शिक्षा व्यवसायमा चर्चित श्रेष्ठको जलविद्युत्, पर्यटनलगायतका क्षेत्रमा लगानी छ।

उमेश श्रेष्ठ एमालेका कृष्णभक्त पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन्। क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उम्मेदवारी दिएका छन्।  

मोरङ ३ : 
डा. सुनिल शर्मालाई भानुभक्त ढकाल र रेखा थापाको चुनौती 

मोरङ ३ बाट मेडिकल व्यवसायी डा.सुनिल शर्माले नेपाली कांग्रेसबाट टिकट पाएका छन्। नेपाली कांग्रेस मोरङले क्षेत्र नं. ३ बाट मेडिकल कलेज व्यवसायी शर्मालाई सिफारिस गरेको थियो। 

उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार भानुभक्त ढकालसँग पराजित भएका थिए।

शर्मा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर र काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन्। शर्मासँग नेकपा एमालेका भानुभक्त ढकाल र राप्रपाकी रेखा थापा भिड्दै छन्। 

रसुवा : 
मोहन आचार्यका प्रतिस्पर्धी फेरिए, छेवाङ तेन्जेन तामाङसँग भिड्दै

निर्माण व्यवसायी मोहन आचार्य २०७४ मा रसुवाबाट प्रत्यक्ष निर्वाचित सांसद भएका थिए। 

२०७४ को निर्वाचनमा १४ हजार ४५३ मतका साथ विजयी भएका उनले एमालेका जनार्दन ढकाललाई पराजित गरेका थिए। वाम गठबन्धनबाट लडेका ढकाल १० हजार २७८ मतमा सीमित भए। 

२०७९ को निर्वाचनमा आचार्यले एमालेका छेवाङ तेन्जेन तामाङसँग प्रतिस्पर्धा गर्नेछन्।  

संखुवासभा : 
दीपक खड्काको प्रतिस्पर्धा फेरि राजेन्द्र गौतमसँग

यता पार्टी जिल्ला सभापति एवम् पूर्वराज्यमन्त्री दीपक खड्काले पनि संखुवासभाबाट प्रतिनिधिसभामा टिकट पाएका छन्। उनले नेपाल स्काउटको ३ रोपनी जग्गा भाडामा लिएर १२ रोपनी कब्जा गरेको आरोप लागेको छ। उनले बैंक्वेट, रेष्टुरेन्टलगायत व्यवसाय गरिरहेका छन्। 
उनी कांग्रेसको १४औँ महाधिवेशनबाट संखुवासभा जिल्ला सभापति चुनिएका थिए। २०७० निर्वाचनमा संखुवासभाबाट निर्वाचित भएका उनी २०७४ मा एमालेका राजेन्द्र गौतमसँग पराजित भए। २०७९ को निर्वाचनमा खड्का एमालेकै राजेन्द्र गौतमसँग प्रतिस्पर्धा गर्दै छन्।  

गोरखा १ : 
राजेन्द्र बजगाईंको ‘डेब्यु’, रामशरण बस्नेतसँग प्रतिस्पर्धा

पर्यटन व्यवसायी राजेन्द्र बजगाईं पनि यसपटकको निर्वाचनमा गोरखा १ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। उनले गोरखा क्षेत्र नं. १ बाट उम्मेदवार बन्न निवेदन दिएका हुन्।

यसअनुसार उनले टिकट पाएका हुन्। बजगाईंको चुनावी प्रतिस्पर्धा एमालेका रामशरण बस्नेतसँग हुनेछ। उनले राप्रपाका उदय बहादुर भट्टको चुनौती पनि सामना गर्नुपर्नेछ।  

मनाङमा व्यवसायीबीच नै प्रतिस्पर्धा : पोल्देन छोपाङ गुरुङ भर्सेस टेक बहादुर गुरुङ
मनाङमा दक्षिण एसियाकै ठूलो स्याउ फार्म खोलेका पोल्देन छोपाङ गुरुङले पनि एमालेबाट निर्वाचन लड्दै छन्। 

उनीसँग कांग्रेसका व्यवसायी टेक बहादुर गुरुङ नै प्रतिस्पर्धा गर्दै छन्। २०७४ सालको निर्वाचनमा पनि दुई व्यवसायीबीच नै प्रतिस्पर्धा भएको थियो। 

छोपान गुरुङले २३ सय मत ल्याई विजयी भएका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पूर्वमन्त्री टेक बहादुर गुरुङले २ हजार २१ मत ल्याएका थिए। 

२०७० को संविधानसभा निर्वाचनपछि एमाले प्रवेश गरेका पोल्देन चर्चित स्याउ उत्पादक व्यवसायी हुन्। उनले एसियाकै उत्कृष्ट स्याउ फार्म चलाएर मनाङमा ख्याति कमाएका छन्।

म्यानपावर व्यवसायी टेकबहादुर गुरुङले मनाङबाट टिकट पाएका छन्। पूर्वश्रम राज्यमन्त्री गुरुङ काठमाडौंको भृकुटीमण्डपमा रहेको फन पार्कका समेत सञ्चालक हुन्। रामेछापमा निर्माण व्यवसायी पूर्णबहादुर तामाङले (कान्छाराम तामाङ)ले टिकट पाएका छन्। 

झापा ४ : एलपी साँवाका पुरानै प्रतिस्पर्धी
झापा क्षेत्र ४ मा व्यवसायी लाल प्रसाद (एलपी) साँवा लिम्बूले टिकट पाएका छन्। उनी गत चैतमा नेकपा एमालेनिकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षमा चयन भएका थिए।

काठमाडौंमा सम्पन्न महासंघको दोस्रो महाधिवेशनबाट झापा क्षेत्र नम्बर ४ का सांसद समेत रहेका लिम्बू सर्वसम्मत अध्यक्ष चुनिएका हुन्। 

२०७४ को निर्वाचनमा लिम्बूले नेपाली कांग्रेसका देउकुमार थेवेलाई पराजित गरेका थिए। थेवेले २६ हजार ८२२ मत ल्याउँदा उनले ४३ हजार ५१५ ल्याएका थिए। 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष समेत रहेका साँवा ग्लोबल अलाइन्स कन्सलटेन्सी प्रालिका सञ्चालक पनि हुन्। उनले विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेका छन्। 

चितवन ३ : 
प्रचण्ड गोरखा गएसँगै विक्रम पाण्डेका नयाँ प्रतिस्पर्धी 

पूर्वमन्त्री समेत रहेका निर्माण व्यवसायी विक्राम पाण्डे प्रचण्ड गोरखाबाट निर्वाचन लड्ने भएसँगै नयाँ प्रतिस्पर्धी पाएका छन्। 

२०७४ सालको निर्वाचनमा बामगठबन्धनका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका पाण्डे एमाले र माओवादी उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन्। 

चितवन क्षेत्र नम्बर ३ मा एमालेबाट रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् भने माओवादीबाट डा. भोजराज अधिकारीले दर्ता गराएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .