ad ad

कारोबार


नेपाल र उत्तराखण्ड सिधा उडान तयारी, बनारसपछि पोखरा-देहरादुन रुटमा बुद्धको चासो

नेपाल र उत्तराखण्ड सिधा उडान तयारी, बनारसपछि पोखरा-देहरादुन रुटमा बुद्धको चासो

फाइल तस्बिर


वसन्त अर्याल
कात्तिक ५, २०७९ शनिबार ९:१०, काठमाडौँ

नेपाल र भारतको उत्तराखण्ड राज्यमा सिधा उडान गर्न छलफल अघि बढेको छ। 

उत्तराखण्ड राज्य सरकार देहरादुनबाट नेपालमा सिधा उडानका लागि सकारात्मक भएको हो। 

अहिले काठमाडौंबाट देहरादुन पुग्न दिल्ली गएर अर्को जहाज चढ्नु पर्ने बाध्यता छ। 

नेपाल र देहरादुनको दूरी लामो नभएपनि सिधा उडान नहुँदा धेरै घुम्नुपर्ने बाध्यता छ।  

देहरादुनबाट सकडमार्ग हुँदै नेपालको सुदुरपश्चिम सडकमार्ग आउन घण्टौँ लाग्ने गरेको छ। 

‘देहरादुनबाट  नेपाल घुम्न आउन चाहने धैरै छन्। तर यातायातको सहज व्यवस्था छैन,’ पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भने। 

देहरादुनमा नेपाली विद्यार्थीसमेत छन्। उत्तराखण्डका खर्च गर्ने पर्यटक कैलाश मानव सरोवर जान देहरादुनबाट दिल्ली, दिल्लीबाट काठमाडौं, काठमाडौंबाट नेपालगञ्ज र हुम्लाको सिमकोट हुँदै हेलिकप्टरमा जाने गरेका छन्।  

देहरादुनका औद्योगिक क्षेत्रमा नेपाली उद्योगीसमेत जाने गरेका छन्। त्यसका लागि सिधा हवाई उडान नहुँदा लामो दूरीको सडकमार्ग प्रयोग गर्दै आएका छन्। 

पहल
नेपाल र उत्तराखण्डबीच सिधा हवाई उडान गर्न नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने र उत्तराखण्डका पर्यटनमन्त्री सतपल महाराजबीच छलफल भएको छ।  

उत्तराखण्डका पर्यटनमन्त्री सतपल महाराजले बुद्ध एयरले अन्तराष्ट्रिय उडानका लागि चासो देखाएको जानकारी दिए।  

‘बुद्ध एयरले अन्तर्राष्ट्रिय उडानका लागि चासो व्यक्त गरेको थियो,’ मन्त्रीले टेलिफोनमा भने, ‘हामी त्यसका लागि तयार छौँ। हाम्रो राजकीय अतिथि गृहलाई अन्तर्राष्ट्रिय उडान टर्मिनल बनाउन सकिन्छ।’

उनले त्यसका लागि मुख्यमन्त्रीसँग छलफल गरिसकेको बताउँदै त्यहाँका मुख्यमन्त्री राजकीय अतिथिगृहलाई अन्तराष्ट्रिय टर्मिनल बनाउन सहमत भइसकेको संवादका क्रममा बताएका छन्। 

पर्यटनमन्त्री महाराजले नेपालबाट उत्तराखण्डका लागि अन्तर्राष्ट्रिय उडान हुँदा फाइदा हुने उल्लेख गरेका छन्। 

उत्तराखण्डमा धेरै नेपाली बस्दै आएका छन्। केदारनाथ धाम रहेको उत्तराखण्डबासी हिन्दु धर्मावलम्वीहरु पशुपतिनाथ दर्शनका लागि आउने गरेका छन्। यदि सिधा उडान सम्भव भए ती धार्मिक पर्यटकलाई सजिलो हुने पर्यटन मन्त्री महाराज बताउँछन्। 

‘यदि सिधा उडान सम्भव भएमा नेपालको पशुपतिनाथ र उत्तराखण्डको केदारनाथ पनि जोडिन्छन्,’ मन्त्री महाराजले भने। 

भारतकालागि नेपाली राजदुत डा. शंकर शर्माले पनि उत्तराखण्डमा सिधा उडानका लागि त्यहाँको राज्य सरकारसँग छलफल गरेका थिए।  

बुद्धको चासो


नेपालस्थित पर्यटन बोर्डले ‘क्रस ब्रोर्डर टुरिजम’ कार्यक्रम गर्दै आएको छ। उक्त कार्यक्रममा पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले उत्तराखण्ड र सुदुरपश्चिम प्रदेशलाई सिधा जोड्नबारे छलफल गरेका थिए।   

सुरुमा देहरादुनलाई नेपालसँग हवाई उडानमार्फत जोड्न धनगढी विमानस्थल प्रयोग गर्न सकिने गरी छलफल भएको थियो। 

काठमाडौंबाट धनगढी दैनिक नियमित उडान हुन्छन्। धनगढी पुग्ने जहाजलाई देहरादुन पठाउने गरी छलफल भएको थियो। 

लामिछानेले बुद्ध, यति एयरलाइन्ससँग काठमाडौंबाट धनगढी हुँदै देहरादुन उडानबारे छलफल गरिसकेका छन्। 

‘धनगढी अहिले आन्तरिक विमानस्थल मात्रै हो। अन्तर्राष्ट्रिय विमानस्थल बनाउन समय लाग्छ,’ लामिछाने भन्छन्, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयार भएकाले त्यहाँबाट सिधा देहरादुन उडान गर्न सकिन्छ।’

पोखराबाट सन् २०२३ जनवनरी १ देखि अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा सरकारले गरिसकेको छ। बुद्ध एयरले पनि पोखरालाई अन्तर्राष्ट्रिय उडानको विमानस्थलका रुपमा प्रयोग गर्ने बताउँदै आएको छ। 

‘काठमाडौं वा पोखराबाट देहरादुन सिधा उडान गर्न सकिने भएको छ,’ लामिछानेले भने, ‘पोखराबाट देहरादुन सिधा उडान गर्न बुद्ध सकरात्मक देखिएको छ।’

बुद्धको पोखरा–देहरादुन सिधा उडान भए यात्रुलाई समस्या नहुने लामिछाने बताउँछन्। पोखराबाट काठमाडौं बुद्धका थुप्रै उडान भएकाले यात्रु आवश्यकताका आधारमा सिधै काठमाडौं वा पोखरामै बस्न सक्छन्। 

‘बुद्धले पोखराबाट देहरादुनको सम्भाव्यता अध्ययन गर्छु भनेको छ,’ उनी भन्छन्, ‘यात्रुको समस्या हुँदैन। उत्तराखण्ड राज्य सरकारले सहजीकरण गर्ने प्रतिवद्धता जनाइसकेको छ।’

पोखराबाट देहरादुन दैनिक एउटा उडान मात्रै गर्न पाए पर्यटन क्षेत्रलाई ठूलो योगदान पुग्ने लामिछानेको विश्वास छ। बुद्धले सिधा उडान गर्न थाले भारतीय एयरलाइन्सले पनि उडान गर्न सक्छन्। 

बुद्ध एयरले काठमाडौं–बनारस पनि उडान गरिरहेकाले भारतको अर्को गन्तब्यमा जान सक्छ। 

बुद्ध एयरका सेल्स एन्ड ग्राउन्ड हेन्डलिङ प्रमुख रुपेश जोशीले पोखराबाट देहरादुन उडानका लागि कुरा अघि बढेको बताए।

‘पोखराबाट देहरादुन उडानबारे छलफल भइरहेको छ,’ जोशीले भने, ‘तर पोखरा विमानस्थल कहिलेबाट सञ्चालनमा आउँछ? यात्रुको अवस्था कस्तो हुन्छ भन्नेमा सबै कुरा निर्भर छ।’

जोशीले गण्डकी प्रदेशबाट भारतको देहरादुन सिधा जोड्ने गरी हप्ताको ३–४ उडान गर्न सकिने देखिएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .