ad ad

कारोबार


पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ पनि निगमलाई दिने तयारी

पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ पनि निगमलाई दिने तयारी

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १८:५६, काठमाडौँ

पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ पनि नेपाल वायुसेवा निगमले पाउने भएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङको अनुभव भएकाले तत्काललाई निगमलाई नै दिने भएको हो। 

केही समय अघिसम्म नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ आफैँ गर्ने बताएको थियो। भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नगरेको भन्दै प्रतिस्पर्धामार्फत अघि बढाउनसक्ने उल्लेख गरेको थियो। 

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले भैरहवा विमानस्थल र बुद्ध एयरले पोखराको ग्राउन्ड ह्यान्डलिङ आफूले गर्न पाउनुपर्ने निवेदन प्राधिकरणलाई दिएका थिए। नेपाल एयरलाइन्सले पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ पनि आफैँलाई दिन अनुरोध गरेको थियो। 

‘अहिले त्रिभुवन विमानस्थल र भैरहवा विमानस्थलको पनि ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमले गरेको छ’, प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘अरु कम्पनीले पनि चासो राखेका छन्। तर तत्काललाई निगमलाई नै दिने छलफल भएको छ।’

उनले सरकारी निकाय भएकाले निगमलाई दिने विषयमा छलफल भए पनि प्राधिकरणले निर्णय भने नगरिसकेको बताए। नेपाल वायुसेवा निगमले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु नगर्दा आक्रामक भएको प्राधिकरण दोहा र क्वालालम्पुरमा उडान गर्ने भएपछि निगमप्रति नरम भएको छ।  

निगमले अन्तर्राष्ट्रिय उडान गर्ने भएसँगै प्राधिकरणले भैरहवाको ग्राउन्ड ह्यान्डलिङ पनि उसलाई दिने भएको हो। निरौलाले भैरहवाको ग्राउन्ड ह्यान्डलिङ निगम आफैँले गर्ने बताए। 

अघिल्लो हप्ता नेपाल वायुसेवा निगमले नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ कार्य आफूलाई दिन आग्रह गरेको थियो। 

‘हाल गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ कार्यमा लामो समयसम्मको व्यवस्थापकीय अनुभव, सोहीअनुसारको दक्ष जनशक्ति र आवश्यक प्राविधिक र स्रोत साधनको उपलब्धता रहेको’ निगमले जनाएको छ। 

आफ्नो ग्राउन्ड ह्यान्डलिङ सेवा अन्तर्राष्ट्रियस्तरको रहेको पनि निगमले दाबी गरेको छ।  आन्तरिक वायुसेवाको भूमिस्थ सेवासमेत गर्न सक्षम भएकोले पनि प्राधिकरणलाई पोखरा विमानस्थलको जिम्मा पनि आफूलाई दिन निगमले आग्रह गरेको थियो।

‘जनवरीबाट पोखरा विमानस्थल सञ्चालन गर्ने तयारी गरेका छौँ’, निरौलाले भने, ‘अहिले टेन्डर गरेर अरुलाई तत्काल दिन भ्याइँदैन। राष्ट्रिय ध्वजावाहकलाई ग्राउन्ड ह्यान्डलिङ दिँदा टेन्डर आवश्यक पर्दैन।’

पोखरा विमानस्थलबाट सञ्चालन हुने आन्तरिक तथा बाह्य उडानका लागि ग्राउण्ड ह्याण्डलिङका लागि बुद्ध एयरले नागरिक उड्डयन प्राधिकरणमा निवेदन प्रस्ताव दर्ता गरिसकेको छ। 

यसैगरी बुद्ध एयरले सम्बन्धित निकायमा दिनको दुई दिन भारतको नयाँदिल्ली र साताको ३ दिन देहरादुन उडान अनुमतिको लागि सम्बन्धित निकायमा निवेदन पेश गरेको छ।

‘नयाँ विमानस्थल धेरै खर्चमा बनेको र सञ्चालन गर्न पनि बढी खर्च लाग्ने देखिन्छ । खर्च कम गर्न विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ व्यवस्था एकीकृत हुन जरुरी छ’, बुद्ध एयरले भनेको छ। 

बुद्ध एयर देशैभरि उसको गन्तव्यमा आफैँले ग्राउण्ड ह्याण्डलिङ गरिराखेको छ। ऊसँग लामो समयको अनुभव र पर्याप्त जनशक्ति पनि रहेको दाबी गरेको छ। 

बुद्ध एयरले यस अन्तर्राष्ट्रिय विमानस्थलको सुरुवातबाटै पाँचवटा विमान रात्रि–बिसान गरी साताको ३०० उडान भर्ने कार्यतालिका बनाएको जानकारी दिएको छ। जसमा हरेक दिन नेपालगञ्ज, भैरहवा, भरतपुर र भद्रपुरबाट आन्तरिक उडान भर्नेछन्। अन्तर्राष्ट्रियतर्फ साताको तीन दिन भारतको बनारस उडान भर्नेछन् । 

प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङ कसलाई दिने भन्ने निर्णय गर्ने अधिकार आफूलाई मात्रै भएको बताएको छ। 

‘ग्राउन्ड ह्यान्डलिङ कसलाई दिने भन्ने अधिकार प्राधिकरणलाई छ। अहिले निगमले गर्न सक्छ’, प्राधिकरणका निरौलाले भने, ‘आवश्यक परे प्रतिस्पर्धा गराउँछौँ। जहाँ निजी वायुसेवा कम्पनी र वायुसेवा निगमले प्रतिस्पर्धा गर्न सक्छन्।’

पोखरा विमानस्थल निर्माणसम्पन्न भई क्लालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) समेत सम्पन्न भएको छ। रिठ्ठेपानी डाँडा कटान सुरु भएको छ भने डम्पिङ साइट व्यवस्थापन पोखरा महानगरले पुससम्म गर्ने जनाएको छ। 

नेपाल सरकारले जनवरी १ बाट पोखरा विमानस्थल सञ्चालन गर्ने घोषणा गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .