ad ad

कारोबार


नयाँ सांसदलाई नयाँ भवन, २ वर्षपछि सिंहदरबारमै बस्नेछ संसद् बैठक (फोटो/भिडिओ)

नयाँ सांसदलाई नयाँ भवन, २ वर्षपछि सिंहदरबारमै बस्नेछ संसद् बैठक (फोटो/भिडिओ)

सिंहदरबारको पुतली बगैंचामा निर्माणाधीन संसद् भवन। तस्बिर-भिडिओ : सरोज बैजु/नेपालखबर


वसन्त अर्याल
मंसिर २१, २०७९ बुधबार ८:५४, काठमाडौँ

सिंहदरबारको पुतली बगैंचामा निर्माणाधीन संसद् भवन पूरा हुन अझै २ वर्ष लाग्ने भएको छ। 

‘सिभिल’ काम भइरहेको नयाँ संसद् भवनको ६० प्रतिशत मात्रै कुल कार्यप्रगति भएको हो। 

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले निर्माण गरिरहेको छ। आम निर्वाचनअघि नै तयार गर्ने लक्ष्य राखिए पनि सिभिल काम पूरा गर्न १ वर्ष लाग्ने भएको छ। 

हाल संसद् भवनभित्रको फर्निसिङको लागि छुट्टै टेन्डरको प्रक्रिया अघि बढेको छ। भौतिक निर्माण १ वर्ष र फर्निसिङ पूरा गर्न १ वर्ष गरी कुल २ वर्ष लाग्ने भएको हो। 

परिसरभित्रका भवनहरु ३ देखि ५ तलासम्मका हुनेछन्। प्रतिनिधिसभाको भवन ४ सय सिट क्षमताको र राष्ट्रियसभाको भवन १ सय सिट क्षमताको बन्नेछ।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय प्रमुख मचाकाजी महर्जनले भौतिक निर्माण सम्पन्न गर्न अझै १ वर्ष लाग्ने बताए। 

‘अहिले ६० प्रतिशत काम सम्पन्न भएको छ’, महर्जनले भने, ‘सबै भौतिक निर्माण सुरु गर्न १ वर्ष लाग्छ। फर्निसिङको लागि थप समय आवश्यक हुन्छ।’

कार्यालयले १६ असोज ०७६ मा ठेकेदार कम्पनी टुन्डी÷शेख जेभीसँग पाँच अर्ब ६८ करोड ३९ लाखमा ठेक्का सम्झौता गरेको थियो। 

फर्निसिङलगायतको लागि संघीय संसद् भवनको निर्माण कुल लागत साढे ७ अर्ब बढी नाघ्ने अनुमान गरिएको छ। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारको पुतली बगैँचामा भवनको शिलान्यास गर्दै आगामी आम निर्वाचनमा जानुपहिले संसद् भवन सञ्चालन गर्ने दाबी गरेका थिए। ३ वर्षमा सक्ने लक्ष्य राखेको आयोजना कोभिडलगायत कारण देखाउँदै आगामी चैतसम्म समय थप गरिएको छ। 

मंसिर ४ को निर्वाचन परिणाम आइसकेको छ। अब बस्ने संसद् बैठक बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्नेछ। 

‘भौतिक प्रगति नहुँदै फर्निसिङको टेन्डर आह्वान गर्न मिल्दैन’, महर्जनले नेपालखबरसँग भने, ‘सिभिल कामसँगै फर्निसिङको टेन्डर प्रक्रिया अघि बढ्छ। सिभिलको काम सकिनेबित्तिकै फर्निसिङ सुरु हुन्छ।’

उनले छिटो काम सकाउन भौतिकसँगै फर्निसिङको काम समानान्तर रुपमा अघि बढाउने बताए। 

आधुनिक प्रविधि जडानसहितको संसद् भवन भएकाले फर्निसिङको लागि १ वर्ष लाग्ने कार्यालयको आकलन छ। 

प्रतिनिधि र राष्ट्रियसभा छुट्टै भवनसँगै साझा लबी, अतिविशिष्ट व्यक्तिको कार्यालय, पुस्तकालय र संग्रहालय, संसदीय दलको कार्यालय, संसदीय सचिवालयको भवन रहनेछन्। 

त्यसका अतिरिक्त चमेनागृह, प्रेस छपाइ भवन, सात सयवटा सवारीसाधनका लागि पार्किङ र करिब ३ सय सुरक्षाकर्मी अट्ने छुट्टै भवन हुनेछ। सिंहदरबारको पूर्वतर्फ डबल बेसमेन्टको पार्किङ निर्माण अन्तिम चरणमा छ। 

त्यस्तै राष्ट्रपति, प्रधानमन्त्री, विदेशी विशिष्ट पाहुनाहरूबाट हुने सम्बोधनका लागि दुईवटै संसदका सदस्यहरू अटाउने अथवा संयुक्त संसद् सञ्चालनका लागि ठूलो हल समेत निर्माण भइरहेको छ। 

परिसरमा भीभीआईपी, सांसद, कर्मचारीलगायत विभिन्न तह र दर्जाका लागि छुट्टाछुट्टै प्रवेशद्वार निर्माण हुनेछ।

प्रतिनिधिसभा भवनमा प्राविधिक कक्ष, सभामुख कार्यकक्ष, पत्रकार सम्मेलन कक्ष, विशिष्ट कक्ष हुनेछन् जसमा ३ सय पत्रकार, दर्शक र आगन्तुक अट्ने बाल्कोनी निर्माण भइरहेको छ। 

विशेष भवन समन्वय कार्यालयका अनुसार भवन क्षेत्रले करिब २७ प्रतिशत स्थान ओगटेको छ भने खुला हरियाली क्षेत्रले ४५ प्रतिशत क्षेत्र ओगट्नेछ भने बाँकी सडक पूर्वाधार तथा जलक्षेत्र हुनेछ।

पर्यावरणमैत्री ग्राउन्ड वाटर रिचार्ज, सिवेज ट्रिटमेन्ट प्लान, सौर्य ऊर्जा, रेन वाटर हार्भेस्टिङजस्ता प्रविधि रहनेछन्। 

थप तस्बिरमा हेर्नुहोस् निर्माणधीन संसद् भवन 

भिडिओ (सरोज बैजु/नेपालखबर) : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .