ad ad

कारोबार


इन्धनको मूल्य घटाउने प्रधानमन्त्रीको निर्देशन तत्काल कार्यान्वयन नहुने, निगमको बोर्ड बैठक स्थगित

इन्धनको मूल्य घटाउने प्रधानमन्त्रीको निर्देशन तत्काल कार्यान्वयन नहुने, निगमको बोर्ड बैठक स्थगित

दीपक भट्ट
पुस २१, २०७९ बिहिबार १७:४५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इन्धनको मूल्य घटाउन दिएको निर्देशन तत्काल कार्यान्वयन नहुने भएको छ। 

नेपाल आयल निगमका अध्यक्ष समेत रहेका आपूर्ति तथा वाणिज्य सचिव तोयम रायलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले मूल्य घटाउन निर्देशन दिएका थिए। 

तर रायले आज बिहीबारका लागि डाकेको निगमको बोर्ड बैठक नै रद्द गरेर प्रधानमन्त्रीको निर्देशन टारिदिएका हुन्। 

रायलाई आजै बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिवमा सरुवा गर्ने निर्णय गरेको थियो। जाँदाजाँदै निगममा प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्दा विवादमा पर्ने भएपछि उनले गत मंगलबार नै बोर्डसदस्यलाई जानकारी गराइएको बिहीबारको बैठक रद्द गरेका हुन्। 

योसँगै मूल्य समायोजन गर्न प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशन तत्काल कार्यान्वयन नहुने भएको हो। 

नेपाल आयल निगमको सञ्चालक समितिका अध्यक्ष मन्त्रालयको सचिव रहने व्यवस्थाअनुसार हालसम्म अध्यक्षमा सचिव राय नै छन्। 

उनले आफू जाँदाजाँदै विवादमा पर्न सक्ने निर्णय नगर्ने बताउँदै बोर्ड बैठक नै रोकेका हुन्। 

आज ४ बजेर १५ मिनेटमा मन्त्रालयमा बोर्ड बैठक बस्ने भनिएको थियो। 

तर तोयम रायले आजको बैठक स्थगित गरिएको भनेर ३ बजेर ४५ मिनेटमा जानकारी गराएका थिए। 

त्यसपछि नेपाल आयल निगमका कार्यकारी निर्देशक तथा सदस्यसचिव उमेश प्रसाद थानीले बैठक स्थगित भएको बोर्ड सदस्यहरुलाई जानकारी गराएका थिए।

मन्त्रालयमा बोर्ड सदस्यहरु आउन थालिसकेका थिए। तर एकाएक बैठक स्थगित भएको जानकारी आएपछि उनीहरु मन्त्रालयबाट बाहिरिएका थिए। 

बैठक स्थागित हुनुमा मूल्य घटाउनुपर्ने बाध्यता नै प्रमुख रहेको वाणिज्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए। 

ती अधिकारीले भने, ‘अन्तिम पटक मूल्य बढेर आएको छ। यद्यपि खाना पकाउने एलपी ग्यासबाहेक अरुमा नाफा कायम छ। तर प्रधानमन्त्रीको चासो डिजेल र पेट्रोलको मूल्य घटाउनुपर्यो भन्ने छ। त्यसरी मूल्य घटाउँदा विवादमा पर्नसक्ने भन्दै सचिव रायले आजको बैठक टार्नुभएको हो।’

पछिल्लो समय मट्टीतेल र हवाइ इन्धनको नाफा कानुनभन्दा बढी गइसकेको छ। त्यसलाई समायोजन गर्न समस्या छैन तर प्रधानमन्त्रीको चासो डिजेल र पेट्रोलमा नै रहेकोले सचिव ले आजको बैठक स्थगित गराएको ती अधिकारीको भनाइ छ।

त्यसो त १९ गते नै बोर्ड सदस्यहरुलाई बिहीबारको बैठकबारे ५ वटा एजेण्डामा छलफल गर्ने जानकारी गराइएको थियो। त्यसमा नयाँ मूल्यको विषय समेत समावेश थियो। 

के–के थियो एजेण्डा? 

  • १ निगमका स्थायी कर्मचारी सहायक प्रबन्धक (लेखा) पदका रविन्द्र राज रेग्मी र सहायक  प्रबन्धक (सिभिल) पदका धर्मराज शाहीको राजीनामा स्वीकृत सम्बन्धमा 
  • २ सहायक प्रबन्धक लेखा तह ६ को वैकल्पिक उम्मेदवार श्याम बाबु साहको नियुक्ति सम्बन्धमा 
  • ४ इण्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको जनवरी १ मा प्राप्त नयाँ मूल्य  सम्बन्धमा 
  • ५ निगम सञ्चित नोक्सानीमा रहेसम्म सञ्चालक सदस्यहरुलाई दिँदै आएको मासिक सञ्चार खर्च स्थगन गर्ने सम्बन्धमा 
  • ६ विविध

निर्णय पेण्डिङमा राख्ने तोयम रायको पुरानै शैली 
तोयम रायसँग काम गरेका कर्मचारीहरु रायको काम गर्ने शैली नै छिटो निर्णय नगर्ने रहेको बताउँछन्। 

उनी सानो निर्णयको लागि पनि धेरै सोच्ने हाकिम रहेको बुझाइ कर्मचारीतन्त्रमा छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अहिले कार्यरत रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उनले धेरै निर्णयहरु पेण्डिङमा राखेको कर्मचारीहरुको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .