ad ad

कारोबार


होमस्टेका ‘सूत्रधार’ श्रीअन्तुका धन कुमार जसले रोजगारी खोज्न गाउँ छाड्ने बाध्यता हटाए

होमस्टेका ‘सूत्रधार’ श्रीअन्तुका धन कुमार जसले रोजगारी खोज्न गाउँ छाड्ने बाध्यता हटाए

वसन्त अर्याल
माघ १४, २०७९ शनिबार ७:४४, काठमाडौँ

१० वर्ष अघिसम्म जीविका टार्न इलाम श्रीअन्तुका युवा रोजगारी खोज्दै विदेश जान्थे। 

मेची राजमार्गको फिक्कलबाट १४ किलोमिटर दूरीको अन्तु एउटा विकट गाउँजस्तै थियो। २ दशक अघिसम्म त गाउँमा आवश्यक सबै वस्तु भारतीय बजारबाटै खरिदबिक्री हुन्थे। अन्तुबाट करिब एक डेढ घण्टाको दूरीमै भारतीय बजार पर्छ। 

अहिले भने यहाँका स्थानीयलाई रोजगारीकै लागि गाउँ छाड्ने बाध्यता छैन। केही वर्षअघिसम्म चिया, अलैँची, अदुवाको खेतीपातीमा भर पर्ने गाउँ अहिले आतिथ्य पस्किने भएको छ। होमस्टेबाटै यहाँ बच्चा पढाउन होस् कि औषधि उपचार, कुनै समस्या छैन। 

अध्ययनबाहेक अहिले गाउँ छाड्नु नपरेको बताउँछन् स्थानीयबासी। ‘होमस्टे सञ्चालनबाटै खाडी मुलुकमा गएर कमाउनेभन्दा बढी आर्जन भएपछि किन जाने?’, उनीहरु उल्टै सोध्छन्।

स्थानीय धन कुमार आलेले होमस्टे खोल्दा ३० वर्षका थिए। उनी २०५२ सालदेखि निरन्तर होमस्टे सञ्चालन गरिरहेका छन्। श्रीअन्तु डाँडा सामुदायिक होमस्टे समितिअन्तर्गत ६० वटा होमस्टे छन्। आले समितिको अध्यक्ष समेत हुन्। 

‘यहाँ मुख्यतया सूर्योदय हेर्नकै लागि पर्यटक आउँछन्। अहिले छुट्टी मनाउन, शैक्षिक भम्रणको लागि विद्यार्थी आइरहेका छन्’, उनले नेपालखबरसँग भने, ‘अन्तुमा एकैदिन ३ हजार पाहुना राख्न सकिन्छ।’

अन्तु सामुदायिक होम स्टेअन्तर्गत एउटा घरले ४ वटा कोठामा राख्न सक्छन्। आलेले सुरुमा होम स्टे सञ्चालन गर्दा एक्लै भएकाले बढी कोठा बनाएका थिए। 

‘हामीले सामान्य अवस्थामा एउटा घरले ४ वटा कोठाभन्दा बढीमा पाहुना राख्दैनौँ’, उनले यसबारे बुझाए, ‘कहिलेकाहीँ अत्यधिक पाहुना आउँदा ४ कोठाभन्दा बढी पनि राख्नुपर्ने हुन्छ।’

अप्ठ्यारो पर्दा वैकल्पिक रुपमा घरमा ५० जनासम्म पनि अट्ने व्यवस्था गरेको आले बताउँछन्। 

अन्तुको होमस्टेमा ‘एट्याच्ड बाथरुम’सहितका सुविधा छन्। चुल्होमा स्थानीय स्वाद नै पाक्छ। खानेकुराको व्यवस्थापन होमस्टे आफैँले गर्छन्। प्रत्येक घरले होमस्टे सेवाशुल्क भनी प्रतिपर्यटक १० रुपैयाँ लिने गरेका छन्। उक्त रुपैयाँबाटै समिति चल्ने गरेको आले सुनाउँछन्।

पहिलो घामको झिल्को नै यहाँको आकर्षण र विशेषता हो। दैनिक करिब ५ सय पर्यटक अन्तुडाँडामा उदाउने सूर्य हेर्न आउने गरेको स्थानीय बताउँछन्। 

अन्तुमा विशेषगरी पाहुनाले १ रात बिताउँछन् भने श्रीअन्तुका पोखरी र  चियाबगान घुम्नेहरु २ रात बसेर फर्किन्छन्।   

इलामका माइपोखरी, सिद्धिथुम्कामा होमस्टे सञ्चालनमा छन्। पहिले पहिले त्यहाँ धेरै पर्यटक जान्थे। तर अहिले सबैभन्दा बढी पर्यटक अन्तुमै आउने गरेको आले बताउँछन्।  

यसरी बन्यो श्रीअन्तु पर्यटकको गन्तव्य
आले बच्चा हुँदा अन्तु डाँडामा सूर्योदय हेर्न जाने गरेका थिए। उनले थाहा पाउँदा अन्तुडाँडा गौचरणमात्रै थियो। खुल्ला ठाउँ। ससाना रुखका बुट्यान। 

आलेका अनुसार २०३३–२०३४ सालतिर वृक्षरोपण गरियो। गाईवस्तु लैजान छाडेसँगै थुप्रै रुख बिरुवा उम्रिए। वृक्षरोपणसँगै बुट्यान हुर्किँदै जाँदा अहिले अन्तु डाँडा सल्लो प्रजातिले ढाकेको छ। 

दार्जिलिङ सिक्किमतिर २०४० सालतिरै पर्यटक घुम्न जान्थे। ब्रिटिस शासनकै पालामा दार्जिलिङमा पर्यटकको भीड लाग्दा नजिकै रहेको अन्तुडाँडा गाईचरण क्षेत्रमै सीमित थियो। अन्तु डाँडाबाट सूर्यलाई नजिकबाट नियाल्न पाइने र दार्जिलिङ, कालेम्बुङसहित भुटान समेत देखिन्छ। 

नेपालीहरु दार्जिलिङ घुम्न जाने तर आफ्नोमा पर्यटक ल्याउने विषयमा ध्यान दिँदैनथे। 

२०४० सालपछि राष्ट्रिय पञ्चायतले अन्तुबाट देखिने सूर्योदयलाई पनि पर्यटनको रुपमा विकास गर्नुपर्छ भन्ने छलफल गर्न थालेको आले बताउँछन्। 

उनका अनुसार तत्कालीन सरकारले कृषि बैंकअन्तर्गत साना किसान आयोजना संस्था चलाएको थियो। त्यसले कसरी उद्यमी बन्ने, उद्योग कसरी चलाउने भन्ने तालिम दिन्थ्यो। छोटो समयका लागि ऋण समेत दिन्थ्यो। 

‘८० प्रतिशत ब्याज छुटमा ३–६ महिने छोटो अवधिको ऋण साना किसान आयोजनाअन्तर्गत ऋण पाइन्थ्यो’, आफू उद्यमी बनेको कथा सुनाउँदै उनले भने, ‘उक्त आयोजनाले गरिबीबाट कसरी माथि उठ्ने भन्ने तालिम पनि दियो। त्यसबाट केही नयाँ गर्नुपर्छ भन्ने लाग्यो।’

त्यो बेलासम्म नेपालमा हुने सूर्योदयलाई नजिकबाट नियाल्न बाहिरबाट कोही जाँदैनथे। अन्तु डाँडामा साधुसन्तहरु ध्यानका लागि जान्थे भने लामाहरु सूर्यको भाकल बुझाउन आउँथे। 

लामाले प्रत्येक वर्ष पूजापाठ गर्ने गरेको उनी बताउँछन्। 

यतिमै सीमित आफ्नो गाउँठाउँलाई नै कसरी पर्यटनमा विकास गर्न सकिन्छ भनेर आले लागेका थिए। 

‘साना किसान आयोजनाबाटै २०५० सालमा उद्यमी बन्नको लागि एउटा समूह गठन भयो’, उनले भने, ‘२०५२ सालमा समूहबाटै अन्तुलाई पर्यटकीय गन्तव्य बनाऔँ भनेर लाग्यौँ।’

५० रुपैयाँमै सुरु भएको ‘अन्तुडाँडा होम स्टे’
उक्त समयमा केही मानिस अन्तु घुम्न आउँथे। तर बस्ने ठाउँ थिएन। धनकुमार आलेका बुवा तिलाराम आले त्यो बेला वडा अध्यक्ष थिए। उनको घर अन्तु डाँडाको शिरमा थियो।

‘तल पाहुना आउँदा पनि माथि आलेको घर छ त्यहाँ बास पाइन्छ भन्दै हाम्रोमा पठाउँथे’, उनी सम्झिन्छन्, ‘पाहुना बढ्दै जाँदा पाल्न धेरै गाह्रो हुने रहेछ। गाह्रो हुँदै गएपछि सामान्य शुल्क लिएर पाहुना राख्न थाल्यौँ।’

आलेले आफ्नै घरलाई होमस्टे बनाए। उक्त समयमा नेपालमा होमस्टे शब्द नै प्रचलनमा थिएन।  

‘हामीलाई पाहुना पाल्न गाह्रो भयो। होमस्टे सुरु गरौँ भन्दा सबै साथीले मानेनन्’, उनी भन्छन्, ‘घरमा पैसा दिएर राख्न थाले। जो पनि आएर बस्छन्, हाम्रा छोरी–चेली सुरक्षित रहँदैनन्, इज्जत जोगाउन गाह्रो हुन्छ भन्थे।’

त्यो समयमा मानिसलाई पर्यटनको ‘कन्सेप्ट’ नै थाहा थिएन। आले बढी डुल्ने घुम्ने गर्थे। होमस्टे व्यावसायिक रुपमा चल्नसक्ने आकलनसाथ उनले २०५२ सालमा एक रातको ५० रुपैयाँ शुल्क लिने गरी सुरुवात गरे। 

‘बिहान र बेलुकीको खाना, बास, बिहानको चियाको ५० रुपैयाँ लिने गथ्र्यौँ’, उनले सुनाए, ‘तर धेरै पर्यटक आएनन्।’

२०५७ सालमा अन्तु डाँडामा होमस्टे प्रवर्द्धन गर्न इलाम सदरमुकाममा  प्रमुख जिल्ला अधिकारीसहित कार्यालय प्रमुखहरु, सञ्चारकर्मी ल्याएर ६३ जनालाई प्रत्येक घरघरमा राखे। ५० रुपैयाँ शुल्क रहँदा उनीहरुले समायनुकूल नभएको भन्दै १००–१०० रुपैयाँ तोके।  

‘त्यसबाट हाम्रो प्रचार हुन थाल्यो। १०० रुपैयाँमा खान बस्न पाइन्छ भनेर पर्यटक बढ्न थाले’, आले भन्छन्, ‘त्यो बेला पर्यटन बोर्डले अन्तुमा पर्यटन महोत्सव गर्न ४–५ लाख रुपैयाँ छुट्याएको रहेछ। हामीलाई थाहा भएन। सदरमुकामका साथीले इलामका सबै क्षेत्रको प्रवर्द्धन गर्ने योजना अघि सारे।’

त्यो बेला अन्तुसँगै कन्याम, फिक्कल, पशुपतिनगर, माइपोखरी, सिद्धिथुम्कामा एकै पकट महोत्सव आयोजना गरियो। 

२०६० साल वैशाख १–३ गतेसम्म इलाममा ठूलो महोत्सव भयो। उक्त महोत्सवमा सबैभन्दा बढी पाहुना अन्तुबासीले ल्याए। यसले अन्तुमा पर्यटक बढाउन सहयोग पुग्यो।  

पर्यटकलाई बिहानको सूर्योदय हेर्नेबाहेक अरु भुल्ने बाटा कम भए। अन्तुमा सानो पोखरी थियो। २०४० साल तिरै जिल्ला पञ्चायतको सहयोगमा पोखरी बनाउन पैसा आएको थियो। पोखरीलाई केही बढाए पनि पानी जम्मा गर्न सकिएन। २०६० साल पछाडि आलेको नेतृत्वमा जिल्ला र पर्यटन बोर्डको सहयोगमा पोखरी निर्माण भयो। पोखरीमा चुहिने समस्या समाधान थियो। 

पोखरीमा डुंगा लिएर चलाउन थाले। २०६० पछि लगातार ८ वर्ष अन्तु महोत्सव गरे।

‘२ वर्ष डुंगा भाडामा लिएर चलायौँ। डुंगा सस्तो र भाडा महँगो रहेछ’, उनले भने, ‘भाडामा लिएर चलाउनुभन्दा ३५ जना युवा मिलेर ७५ हजार गोटा २ वटा डुंगा किने।’

वर्षातको समयमा अन्तुमा कम पर्यटक आउने हुँदा डुंगा भाडामा लगाए। डेढ लाख रुपैयाँ नै भाडा आयो। त्यसले थप २ वटा डुंगा किने। फेरि पछि २ वटा डुंगा थप गरी ६ वटा चलाउन थाले। 

‘पोखरीमा डुंगा चल्न थालेपछि पर्यटक रमाउन थाले। पर्यटक भुल्ने बाटो बढ्यो’, उनी भन्छन्, ‘२०७४ सालमा नगरपालिका बनी नयाँ जनप्रतिनिधि आएपछि पोखरी नगरपालिकाले चलाउन थाल्यो। हामीले छाड्यौँ।’  

अहिले अन्तुका होमस्टे एउटा कोठाको ८०० देखि १२०० रुपैयाँसम्म पर्छ। लोकल खानेकुरा पाक्छ। 

पुरानो होमस्टे ओझेलमा पर्दै
आलेले सुरुमा दर्ताविनै एकल रुपमा होमस्टे सञ्चालन गरेका थिए। २०५७ सालमा अन्तु पर्यटन विकास केन्द्र संस्था दर्ता गरे। केन्द्रअन्तर्गत नै होमस्टे सञ्चालन गरे। 

गाउँमा होमस्टे बढ्दै गए पनि दर्ता गर्ने ठाउँ थिएन। सुरुमा उनले मात्रै सञ्चालन गरेको होमस्टे २०६७ सालसम्म १ दर्जन बढी भएका थिए। तर बढी पाहुना हुँदा सबैका घरमा पाहुना राख्ने गरेका थिए। 

सरकारले २०६७ सालमा मात्रै होमस्टे कार्यविधि ल्यायो। त्यसपछि पर्यटन कार्यालयमा दर्ता गरेर सञ्चालनमा आउन थाले। अहिले अन्तुडाँडा सामुदायिक होम स्टे समितिअन्तर्गत ६० वटा होम स्टे सञ्चालित छन्। अहिले वडाले पनि दर्ता गराउन थालेको छ। त्यसबाहेक ६ वटा निजी रुपमा चलेका छन्। 

नेपालमा रुद्रमान गुरुङले स्याङ्जामा पहिलो होम स्टे सञ्चालनमा ल्याएको भनी प्रचार हुँदै आएको छ। गुरुङ तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालानजिक थिए। पछि सांसद पनि भए। उनले आफ्नो प्रचार गर्न सफल भएको आलेको बुझाइ छ। 

‘रुद्रमान गुरुङले २०५४ सालमा होम स्टे सञ्चालनमा ल्याएका थिए। घले गाउँले २०५६ सालमा खोलेको छ’, उनले दाबी गरे, ‘मैले २०५२ सालमै खोलेको थिएँ। त्यसैले हामी पहिलो हौँ।’

घले गाउँमा सुरुमा ५ घरबाट सुरु भएको थियो। त्यहाँ सरकारले धेरै लगानी गर्यो। त्यहाँ व्यवस्थित भएको उनी बताउँछन्। 

‘हामीले सरकारको ठूलो सहयोगविनै अन्तु डाँडालाई पर्यटकीय गन्तव्य बनाउन सफल भयौँ’, उनले सुनाए, ‘पर्यटन बोर्डले हामीले गरेको कामको उदाहरण दिँदै अरु ठाउँ प्रवर्द्धन समेत गरेको छ। पूर्वाधारमा सरकारले लगानी गरेको छैन।’

पछिल्लो समय अन्तुमा होटल तथा कटेजको रुपमा बढी खुल्नथालेका छन्। 

‘२०७४ सालमा विभिन्न गा.वि.स एकीकृत गरी सूर्योदय नगरपालिका बनेर नयाँ जनप्रतिनिधि आएसँगै होमस्टेभन्दा होटल तथा कटेजलाई सिफारिस गरेका छन्’, असन्तुष्ट हुँदै उनले भने, ‘अहिले होमस्टे र होटल कटेजका २ समूह हुँदा व्यवस्थित हुनसकेको छैन।’

होटल तथा कटेजले होमस्टेलाई तल पार्ने गरेको आलेको अनुभूति छ। 

‘अन्तुलाई होमस्टेकै रुपमा प्रवर्द्धन गर्नुपर्छ भनेर हामी लागेका थियौँ। अन्तु चिनिएकै होमस्टेले हो। यसैलाई व्यवस्थित गरौँ भन्ने थियो’, उनी भन्छन्, ‘अहिले होटल र कटेज खोल्न प्रतिस्पर्धा छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .