कारोबार


पुँजीवृद्धि गर्नुपर्ने अन्तिम समयमा बीमा कम्पनीलाई जोडी बाँध्ने चटारो

थोरै पुँजी नपुगे पनि हकप्रद निकाल्न पाउने
पुँजीवृद्धि गर्नुपर्ने अन्तिम समयमा बीमा कम्पनीलाई जोडी बाँध्ने चटारो

केशर बोगटी
माघ २६, २०७९ बिहिबार १०:४८, काठमाडौँ

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई पुँजीवृद्धि गर्न निर्देशन दिएको थियो। यसअनुसार जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्‍याउनुपर्नेछ। त्यो पनि आगामी चैत मसान्तभित्र।

यदि तोकिएको समयमा निर्धारित पुँजी पुर्याउन नसके कम्पनीहरूलाई प्राधिकरणले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुने गरी पुँजी कायम गर्नुपर्ने बाटो खोलिदिएको छ।

उक्त निर्देशनलगत्तै बीमा कम्पनीहरू मर्जरमा जुट्नथालेका थिए भने १९ कम्पनीलाई प्राधिकरणले मर्जरको लागि सैद्धान्तिक अनुमति समेत दिएको थियो। 

अन्तिम समयमा जोडी बाँध्ने तयारी 
पुँजीवृद्धि गरिसक्नुपर्ने अन्तिम समय नजिकिँदै गर्दा केही बीमा कम्पनी जोडी बाँध्ने तयारी गरिरहेका छन्। 

यतिबेला नेपाल इन्स्योरेन्स, प्रुडेन्सीयल इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स र विदेशी कम्पनीको शाखा दि–ओरेन्टल मर्जरमा जान आन्तरिक छलफलमा जुटेका हुन्। 

कुन कम्पनीहरूसँग मर्जरमा अघि बढ्ने टुंगो भने लागेको छैन। 

यता विदेशी कम्पनीको शाखा दि–ओरेन्टल भने अर्को विदेशी कम्पनीको शाखा नेशनल इन्स्योरेन्स मर्जरमा जाने तयारीमा छ। 

भारतीय बीमा कम्पनी दि–ओरेन्टल र नेशनल इन्स्योरेन्स मर्जरमा जाने भएपछि नेपालमा रहेका शाखा स्वतः मर्ज हुने कम्पनीका एक अधिकारीले बताए। 

‘दि–ओरेन्टल र नेशनल इन्स्योरेन्स भारतीय बीमा कम्पनीका हुन्’, ती अधिकारीले नेपालखबरसँग भने, ‘भारतमा कम्पनी मर्जमा जाने कुरा चलेको छ। उता कम्पनी मर्ज हुँदा यता नेपालमा समेत कम्पनीका शाखा मर्ज हुन्छन्।’

केही समयअघि कम्पनी मर्ज हुने कुरा चले पनि प्रक्रिया अघि नबढेको ती अधिकारीले बताए। 

अधिकांश मर्जरको तयारीमा रहेका कम्पनीले माघभित्र एकीकृत करोबार सुरु गर्ने जनाए पनि कारोबार सुरु भने गर्नसकेका छैनन्। 
मर्ज भई पुँजी बढाउने अधिकांश कम्पनीले मर्जरको अन्तिम टुंगो समेत लगाउनसकेका छैनन्। यी कम्पनीलाई चैतभित्र पुँजी पु¥याउन सकस पर्ने देखिन्छ। 

यी कम्पनीले थाले एकीकृत कारोबार 
हालसम्म निर्जीवन बीमा कम्पनीतिर हिमालयन इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्ज भई एकीकृत कारोबार सुरु गरेका छन्। 

यता जीवन बीमा कम्पनीहरूमा ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्सले समेत एकीकृत कारोबार सुरु गरिसकेका छन्। 

अन्य १३ कम्पनीमध्ये आठले प्राधिकरणबाट सैद्धान्तिक सहमति पाए पनि मर्जरको अन्तिम सम्झौता गरेका छैनन्। 

निर्जीवनतिर सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स र जीवनतिर प्राइम लाइफ, गुँरास लाइफर युनियन लाइफले मर्जको अन्तिम सम्झौता गरेका छन्।  

सैद्धान्तिक सहमति पाएका दुई कम्पनीको मर्जर समेत भाँडिएको छ। प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेनसको मर्जर प्रक्रिया भाँडिएको हो। 

कम्पनीहरूबीच स्वाप रेसियोमा कुरा नमिल्दा मर्जर भाँडिएको कम्पनीहरूले जनाएका छन्। मर्जरको प्रक्रियामा ढिलाइ गरेको भन्दै बीमा प्राधिकरणले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बोलाएर प्रक्रिया तीव्रता दिन भनेको छ। 

यता हकप्रदबाट मात्र पुँजी वृद्धि गर्न नपाउने भएपछि मर्जरमा जुटेका कम्पनीहरू स्वापमै अड्किरहेका छन्। 

मर्जर भाँडिएपछि अजोड इन्स्योरेन्सले युनाइटेडसँग मर्जरमा जाने निर्णय गरेको छ। यी दुवैलाई मर्जरको प्रक्रियामा जान केही समय लाग्ने देखिन्छ। 

यी कम्पनी मर्ज भई चाँडै एकीकृत काराबार गरी चैत मसान्तभित्र एकीकृत कारोबार सुरु गर्न भने निकै कठिन हुनेछ। 

प्राधिकरणले मर्जर प्रोत्साहन गर्दै कम्पनीहरूलाई सुविधा प्रदान गर्नेछ। प्राधिरणले चैत मसान्तभित्र एकीकृत कारोबार सुरु गर्ने सुविधा दिनेछ। 

मर्जर प्रक्रियामा रहेका कम्पनीहरूमध्ये मर्जरपश्चात पनि केही कम्पनीहरूको चुक्ता पुँजी नपुग्ने देखिन्छ भने मर्ज भई एकीकृत करोबार गरेका कम्पनीहरूको पनि पुँजी पुगेको देखिँदैन।

थोरै पुँजी नपुगे पनि हकप्रद निकाल्न पाउने सुविधा
बीमा कम्पनीहरूलाई हकप्रद सेयर निष्काशनमा प्राधिकरणले बन्देज लगाएको थियो। तर, थोरै रकमले पुँजी नपुगेको अवस्थामा भने हकप्रद सेयर जारी गर्न दिइने प्राधिकरणको भनाइ छ। 

प्राधिकरणका अनुसार हकप्रद सेयर जारी गर्न पाउने सुविधा मर्जरमा जाने बीमा कम्पनीहरूले मात्रै पाउनेछन्।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले मर्जरमा गएपछि पनि पुँजी नपुग्ने बीमा कम्पनीहरूलाई हकप्रद सेयर जारी गर्न दिने योजना प्राधिकरणले बनाएको बताए।

‘पुँजी वृद्धि गर्न मर्जरको बाटो रोजेका र मर्जरपछि पनि पुँजी नपुगेका कम्पनीहरूलाई हकप्रद सेयर जारी गर्ने सुविधा दिइन्छ’, पौडेलले भने, ‘यस्तो सुविधा मर्जरमा गई पुँजी वृद्धि गर्ने योजना बनाएका कम्पनीहरूलाई मात्रै दिइन्छ।’

पुँजी वृद्धिका लागि केही पनि योजना नबनाएका कम्पनीहरूलाई भने हकप्रद सेयर जारी गर्न नदिने उनको भनाइ छ।

‘पुँजी वृद्धिका लागि केही पनि योजना नबनाएका कम्पनीहरू भने कारबाहीमा पर्छन्’, पौडेलले भने, ‘जो मर्जरमा गएका छन्, तिनीहरूलाई बढीमा २०÷२५ प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न अनुमति दिन्छौँ।’

यी हुन् मर्जरको लागि प्रारम्भिक सहमति गर्ने कम्पनी 
प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योेरेन्स, रिलायन्स लाइफ र सानिमा लाइफ, महालक्ष्मी लाइफ र प्रभु लाइफले प्रारम्भिक सम्झौता गरेका छन्। 

यी कम्पनीले मर्जरको लागि अन्तिम सम्झौता गरिसकेका छैनन्। 

यी हुन् मर्जरको लागि अन्तिम सम्झौता गर्ने कम्पनी 
तीन जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनीले मर्जरको लागि अन्तिम सम्झौता गरेका छन्। 

प्राइम लाइफ, युनियन लाइफ र गुँरास लाइफले मर्जरको लागि अन्तिम सम्झौता गरेका छन्। यता सगरमाथा र लुम्बिनी इन्स्योरेन्सले पनि अन्तिम सम्झौता गरिसकेका छन्। 

मर्जर भई एकीकृत करोबार गरेका कम्पनीहरूमा कुनको पुँजी कति? 
सूर्यज्योति इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। प्राधिकरणले तोकेबमोजिमको न्यूनतम चुक्ता पुँजी कायम गर्न कम्पनीले अब ४६ करोड रुपैयाँ थप गर्नुपर्ने हुन्छ। 

त्यसैगरी हिमालयन एभरेष्टको दुई अर्ब २३ करोड रुपैयाँ र जीआईसीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ। मर्ज भई एकीकृत कारोबार सुरु गरेका यी तीनवटै कम्पनीको पुँजी पुगेको छैन।

अब कम्पनीले बाँकी पुँजी बोनर वितरण र नपुगे हकप्रद निष्काशन गरी पुर्याउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .