ad ad

कारोबार


वैदेशिक जागिर छाडेर भैँसीपालन, मासिक ७० हजार आम्दानी

वैदेशिक जागिर छाडेर भैँसीपालन, मासिक ७० हजार आम्दानी

आफ्नो कृषि फार्ममा हिक्मत कठायत


नेपालखबर
माघ २९, २०७९ आइतबार १८:१४, सहजपुर

क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भैँसीपालनमा रमाइरहेका छन्। उनले भैँसीपालनबाट राम्रो आम्दानी पनि गरिरहेका छन्। 

साइप्रसबाट ‘बीएससी नर्सिङ’ अध्ययन पूरा गरेका गोदावरी नगरपालिका– २ अत्तरियाका उनले विदेशमा छँदा मासिक तीन लाख आम्दानी गर्थे। 

पुर्ख्याैली घर बझाङको छविस पाथिभेरा - २ भएका उनी नेपालमा ‘एचए’ पूरा गरी नर्सिङ पढ्न साइप्रस गएका थिए। साइप्रसबाट अध्ययन सकेर स्वदेश फर्किएको केही समयपछि जागिर नपाएपछि उनी वैदेशिक रोजगारीमा गएका थिए। 

सुरुवातमा काम गर्न दुबई पुगेका उनी त्यहाँ मासिक एक हजार ६ सय डलरमा काम सुरु गरे। करिब १४ महिना दुबईमा काम गरेका हिक्मतलाई विदेशमा भइरहेको त्यो कमाइ चित्त बुझेन। दुबईको १४ महिनाको कामलाई विश्राम दिएर उनी कुवेतमा मासिक रु दुई लाख ९० हजारको जागिर थाले। 

‘व्यक्तिगत खर्च कटाएर मासिक रु दुई लाख ९० हजार घर पठाउँथेँ’, उनले भने, ‘त्यहाँ मैले चार वर्ष आठ महिना काम गरेँ।’ त्यसपछि बिदामा घर आउनुभएका उहाँ विदेश फर्केनन्। 

बिदामा घर आएका उनले कुवेतको जागिर छाडेर सुरुमा कुखुरापालन सुरु गरे। कुखुरापालनबाट सुरुवाती चरणमा राम्रै आम्दानी भए पनि पछि भने लाखौँ घाटा बेहोर्नुपर्‍यो। 

‘सुरुवाती चरणमा करिब चार लाख जति कमाएँ’, उनले भने, ‘पछि बजारको सिन्डिकेटका कारण घाटा बेहोरेँ।’ उनले कुखुरापालनकै कारण विदेश छँदा कमाएको ४६ लाख नगद र छ तोला सुन पनि सकाए। कुखुरापालनबाट लाखौँ डुबेपछि हरेश खाएका हिक्मतले फेरि विदेश जाने सोच बनाए। क्यानडाको भिसा लगाएर जाने तयारी गरेका उनले साथीको सल्लाहका कारण त्यहाँ गएनन्। 

‘कुखुरापालनबाट लाखौँ गुमाउँदा भएको तनावपछि विदेश जाने भनेर क्यानडाको भिसा लगाए, सबै तयारी पूरा भएर जाने तरखर गर्दै थिए साथीको सल्लाहले फेरि रोकिए’,  उनले भने। ‘साथीको सहयोगमा बैंकबाट कर्जा लिएर भैँसीपाल्न सुरु गरेको हुँ। अहिले भैँसीपालनबाट राम्रो आम्दानी भइरहेको छ।’ कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मा एक बिघा १२ कठ्ठा जमिन भाडामा लिएर उनले हेमा कृषि फार्म सञ्चालन गरेका छन्। 

फार्ममा भैँसीपालन व्यवसाय सुरु गरेको करिब सात महिना पुग्न लाग्यो। भैँसीपालनमा पनि सुरुवाती चरणमा आफूले घाटा बेहोर्नुपरेको उनले सुनाए। ‘साथीको सल्लामा अर्का एकजनामार्फत भैँसी किनेर ल्याए तर दूधै नदिने भएपछि आधा पैसामा बिक्री गरेँ’ उनले भने। हाल उनको फार्ममा छ वटा भैँसी छन्। दूध बिक्रीबाट मात्रै हाल मासिक करिब ७० हजार नाफा भइरहेको उनको भनाइ छ। 

‘अहिले प्रतिलिटर रु ८० का दरले दैनिक ६४ लिटर दूध बिक्री गर्छु’, उनले भने, ‘प्रत्येक महिना दूध बढ्दै गइरहेको र आम्दानी पनि बढ्दै जाने विश्वास लिएको छु।’ कुल रू ५६ लाख लगानी भएको कुखुरापालन व्यवसाय डुबेपछि रु आठ लाख ऋण लिएर सुरु गरेको भैँसीपालनबाट भने सन्तुष्टि मिलेको उनको भनाइ छ। भैँसीपालनमा श्रीमती र एक जना आफन्तले सहयोग गरिरहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .