ad ad

कारोबार


बुक बिल्डिङ र प्रिमियम विधिबाट सेयर जारी गर्न ३ कम्पनी मात्रै इच्छुक

६ वर्षमा १३६ कम्पनी पब्लिक भए, डेढ दर्जनले मात्रे जारी गरे आईपीओ
बुक बिल्डिङ र प्रिमियम विधिबाट सेयर जारी गर्न ३ कम्पनी मात्रै इच्छुक

नेपालखबर
फागुन १०, २०७९ बुधबार १०:२, काठमाडौँ

पछिल्लो छ वर्षमा १३६ कम्पनीले स्वामित्व रुपान्तरण गरेका छन्। 

आर्थिक वर्ष २०७४/०७५ देखि २०७९/०८० सम्म १३६ प्राइभेट कम्पनीले रुपान्तरण भई पब्लिक कम्पनीमा स्वामित्व परिवर्तन गरेका हुन्। 

स्वामित्व परिवर्तन गरेका करिब डेढ दर्जन कम्पनीले प्राथमिक निष्काशन (आईपीओ) जारी गरेका छन्। 

बैंक तथा वित्तीय संस्था, बीमा र जलविद्युत् कम्पनी पब्लिकमा रुपान्तरण भइसकेपछि अनिवार्य रुपमा आईपीओ जारी गर्नुपर्ने प्रावधान छ। 

जलविद्युत् कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि १० प्रतिशत अनिवार्य निष्काशन गर्नुपर्छ भने अन्य कम्पनीले वैदेशिक रोजगारी र सर्वसाधारण सेयर जारी गर्न पाउँछन्। 

हाल सेयरबजारमा बैंक तथा वित्तीय संस्था, बीमा र हाइड्रोपावर कम्पनीको बाहुल्यता धेरै छ। 

२०७९ पुसमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २४९ पुगेको छ। 

सूचीकृत कम्पनीहरुमध्ये १४९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ६३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। 

बैंक तथा वित्तीय क्षेत्रको बाहुल्यता धेरै हुँदा वास्तविक क्षेत्रका कम्पनीलाई पुँजी बजारमा ल्याउन प्रिमियम र अहिले बुक बिल्डिङ विधि कार्यान्वयनमा ल्याइएको छ। 

वास्तविक क्षेत्रका कम्पनी १०० रुपैयाँ नआउने देखिएपछि तत्कालीन नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीको पालामा प्रिमियमबाट सेयर जारी गर्न पाउने व्यवस्था गरिएको हो। 

पछिल्लो ६ वर्षमा स्वामित्व परिवर्तन गरेका दुई कम्पनी प्रिमियम र सर्वोत्तम सिमेन्ट बुक बिल्डिङमा आईपीओ ल्याउन खोजिरहेका छन्। यता सोनापुर मिनिरल एण्ड ओयल कम्पनीले भने प्रिमियमबाट आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएका छन्। 

आर्थिक वर्ष २०७९/०८०को बजेट सरकारले एक अर्ब रुपैयाँ भन्दा बढी चुक्ता पुँजी भएका र पाँच अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनीले धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्था मिलाउने उल्लेख छ। 

साथै प्राकृतिक स्रोतहरूको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीहरू सूचीकृत हुनुपर्ने व्यवस्था मिलाइने भएको हो। जसमा सिमेन्ट उद्योग, वातावरण प्रदूषणमा प्रभाव पार्ने किसिमका उद्योगहरू समिटिनेछन्। 

पछिल्लो समय विभिन्न फरक फरक क्षेत्रका कम्पनी स्वामित्व परिवर्तन गरेका छन्। होटल, मिडिया, औषधि, सिमेन्ट, स्टील्स, एग्रो लगायतका कम्पनी समेत पब्लिकमा जान थालेका छन्। 

बैंक तथा वित्तीय संस्था, बीमा र हाइड्रोपावर कम्पनी अनिर्वाय व्यवस्था हुँदा सेयरबजारमा यीनीहरुको मात्र उपस्थिती रहदा पछिल्लो समय अन्य क्षेत्रका कम्पनी पब्लिकमा जाने र आईपीओ जारी गर्ने क्रम बढ्न थालेको छ। 

अधिकांश कम्पनी आईपीओ जारी गर्न पब्लिकमा जाने गर्दछन्। पब्लिकमा रुपान्तरण भई सर्वसाधारण सेयर जारी गरी विश्वास प्रगाढ पार्न चाहन्छन्।

कम्पनी पब्लिकमा गई सेयर जारी गरिसकेपछि उसको वास्तविक भ्यालु थाहा हुने नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरी बताउँछन्। 

‘कम्पनी पब्बिलकमा गएपछि मात्र उसको वास्तविक भ्यालु थाहा हुन्छ’, उनले भने, ‘विश्वका ठूला कम्पनी सर्वसाधारणमा गइसकेपछि मात्र भ्यालु थाहा पाएका हुन्।’

उनका अनुसार विश्वभर राम्रा कम्पनीहरु सर्वसाधारणमा पुग्न इच्छुक भए पनि नेपालमा ठीक उल्टो देखिन्छ। 

नेपालमा राम्रा कम्पनीहरु सेयर जारी गर्न नखोजेको उनको भनाइ छ। एनसेल, केयूकेएलजस्ता कम्पनीहरु पब्लिक भए पनि सेयर जारी गरेका छैनन्। 

बुक बिल्डिङ विधिबाट यी कम्पनीहरु सेयरबजारमा आउन खोजिरहेकाले ढिलाइ भएको गिरीको भनाइ छ। 

अब चाँडै बुक बिल्डिङबाट यी कम्पनी सेयरबजारमा आउने उनी बताउँछन्। 

छ वर्षमा १३६ कम्पनीको पब्लिकमा रुपान्तरण 
आर्थिक वर्ष २०७४/०७५ देखि २०७९/०८० सम्म १३६ कम्पनीले प्राइभेटबाट पब्लिकमा जान स्वामित्व रुपान्तरण गरेका छन्। 

त्यसैगरी आर्थिक वर्ष २०७४/०७५ मा २८ कम्पनी, २०७५/०७६ मा १४ कम्पनी, २०७६/०७७ मा ९ कम्पनी, २०७७/०७८ मा ४३ कम्पनी, २०७८/०७९ मा २६ कम्पनी र २०७९/०८० मा १६ कम्पनीले स्वामित्व रुपान्तरण गरी पब्लिकमा गएका छन्। 

चालू आवको पुससम्म पब्लिक कम्पनीको संख्या।

यो वर्ष १६ कम्पनीको स्वामित्व रुपान्तरण 
अप्पर लाहोर खोला हाइड्रोपावर, युनिकेट हाइड्रोपावर, ठूलो खोला हाइड्रोपावर, सालु हाइड्रोपावर, सोलार फर्म, समृद्धि इनर्जी, मादमे खोला हाइड्रोपावर, जय अम्बे स्टील्स, जगदम्बा स्टिल्स, डाउन टाउन पार्क ईन, कस्मिक इलेक्ट्रिक, सिटी भ्यु पार्क इन, एपोलो हाइड्रोपावर, अदाणी ट्रान्समिसन नेपाल र अदाणी ग्रीन नेपाल कम्पनीले स्वामित्व परिवर्तन गरेका छन्। 

यो वर्ष निर्माण, विद्युत् उत्पादन, स्टिल्स, क्याटरिङ र होटल क्षेत्रका कम्पनीहरु स्वामित्व रुपान्तरण गरेका छन्। 

१ अर्ब बढी पुँजी भएका र आईपीओ निष्काशन गर्न बाँकी कम्पनी 
पछिल्लो समय पब्लिकमा स्वामित्व रुपान्तरण गर्ने ८ कम्पनीको चुक्ता पुँजी अर्ब रुपैयाँभन्दा बढी छ। 

सिउँरी न्यादी पावर कम्पनीको पुँजी १ अर्ब १० करोड, गौरीशंकर पावर डेभलपमेन्ट १ अर्ब १६ करोड, जगदम्बा स्पेनिङ मिल्स १ अर्ब, सनिगाड हाइड्रो १ अर्ब २६ करोड, वेनी हाइड्रो १ अर्ब ४ करोड, सोलु हाइड्रो ५ अर्ब, समृद्धि इनर्जी १ अर्ब २० करोड, जगदम्बा स्टिल्स १ अर्ब ७४ करोड रुपैयाँ पुँजी रहेको छ। 

यी कम्पनी आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछन्। प्राइभेट कम्पनी पब्लिकमा रुपान्तरण भएको एक वर्षपछि कम्पनीले आईपीओ निष्काशन गर्न पाउने व्यवस्था छ।  

अर्ब बढी पुँजी भएका आईपीओ निष्काशनको पाइपलाइनमा रहेका कम्पनी 
अर्ब बढी पुँजी भएका केही पब्लिक कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। 

सोनापुर मिनिरल एण्ड ओयलको चुक्ता पुँजी १ अर्ब ८४ करोड रहेको छ। त्यसैगरी घोराही सिमेन्ट ३ अर्ब २ करोड, सर्वोत्तम सिमेन्ट ४ अर्ब पुँजी रहेको छ। यी कम्पनीले आईपीओ निष्कासनको अनुमति मागदै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। 

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .