ad ad

कारोबार


उद्घाटनको २ वर्ष : कहिले चढ्न पाइन्छ २२ तले धरहरा?

उद्घाटनको २ वर्ष : कहिले चढ्न पाइन्छ २२ तले धरहरा?

भूकम्पले भत्किएपछि पुन: निर्माणाधीन धरहरा। तस्बिर : सरोज बैजू/नेपालखबर


वसन्त अर्याल
फागुन ११, २०७९ बिहिबार ७:३५, काठमाडौँ

धरहराको पूरा काम सकिन अझै १ वर्ष लाग्ने निर्माण कम्पनीले बताएको छ। 

२ वर्षअघि नै उद्घाटन भएको धरहरा तयार हुन अझै १ वर्ष लाग्ने ठेकेदार कम्पनीले बताएको हो। 

२०७२ को वैशाखमा भूकम्पले ऐतिहासिक धरहरा भत्किएको थियो। सुरुमा नेपाल टेलिकमले बनाउने भने पनि पछि नेपाल सरकारले नै ठेक्का लगाएर काम थालेको थियो।

२०७५ वैशाखमा ठेक्का आह्वान गरी भदौमा जीआईआईटीसी– रमन जेभी छनोट भएको थियो। २ वर्षमा सक्ने गरी सम्झौता भए पनि ५ वर्ष बितिसक्दा अझै सम्पन्न हुनसकेको छैन। 

२०७८ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए। ओलीले २२ तल्लाको धरहरा (टावर) सकिनेबित्तिकै उद्घाटन गरेका थिए। उक्त समयमा समग्र भौतिक प्रगति ६० प्रतिशत थियो। 

२ वर्षयता धरहरा परिसरमा पर्खाल, गेट, पार्किङ, पार्क, म्युजियमलगायतको काम भइरहेको छ। पुरानो धरहरालाई कसरी संरक्षण गर्ने भन्ने विषयमा स्पष्ट भइसकेको छैन। 

१ वर्षअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज भएसँगै भवन निर्माण विभागले हेर्दै आएको छ। विभागका केन्द्रीय आयोजना कार्यान्वयन इकाइ प्रमुख कोषनाथ अधिकारीले निर्माण कम्पनीको ढिलाइ र स्थानीयका विभिन्न मागले आयोजना निर्माणमा ढिलाइ भइरहेको बताए। 

‘निर्माण कम्पनीले पर्याप्त मात्रामा कामदार नखटाउने र स्थानीयका माग बढ्दै जाँदा निर्माणमा ढिलाइ भइरहेको छ’, आयोजना कार्यान्वयन इकाइ प्रमुख अधिकारीले भने, ‘आगामी असारसम्म म्याद थप गर्ने प्रक्रिया हुँदै छ।’

स्थानीयले सुनधारामा नियमित पानी आउने व्यवस्था र त्यसको निकास नहुँदासम्म निर्माणकार्य गर्न नदिने बताउँदै आएका छन्। 

‘स्थानीयले नेचुरल अवस्थामै पानी खसाल्न र पानी बगेर जाने ठाउँ बनाउन माग गर्दै आएका छन्’, अधिकारीले भने, ‘हाम्रो कार्यक्षेत्रभन्दा बाहिरको काम हुँदा समय लागेको छ।’

काठमाडौंमा स्थानीयले बोरिङ खनेर पानीको सतह धेरै तल गएको हुँदा पहिलोको जस्तै पानी ल्याउन अप्ठ्यारो रहेको बताए। अहिले पानी कहाँबाट ल्याउन सकिन्छ र निकासा कसरी हुन्छ भनेर अध्ययन टोली गठन भएको छ। 

आयोजनाको कुल भौतिक प्रगति ८० प्रतिशत बढी भएको छ। ठेक्का सम्झौताअनुसारको काम भए आगामी असारसम्म सकिने उनले बताए।

तर पानीको स्रोत खोज्ने र निकासी कहाँबाट कसरी भन्ने समय लाग्दा समय थप गर्नुपर्ने उनको भनाइ छ।  

पानीको स्रोत खोज्ने र निकासको लागि ठेक्कामा भेरिएसन गरेर बढाउनुपर्ने उनले बताए। 

रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले सरकारले काम थपेको थप्यै गर्ने र नक्सा समयमै पास नगर्दा समय थपिँदै गएको बताए। 

‘काम सुरु हुँदा ४ रोपनी जग्गा मात्रै खाली थियो। अहिले ४२ रोपनीमा काम गर्दै छौँ’, नकर्मीले भने, ‘हाम्रो हिसाबले अझै १ वर्ष लाग्छ।’

उनले साइट क्लियरेन्सको लागि समय लाग्दा धमाधम काम गर्न नसकेको बताए। उनले सञ्चय कोषको भवन भत्काउनेदेखि स्थानीयका विभिन्न माग पूरा गर्न समय लागेको बताए।

‘पुरानो धरहरा के गर्ने अझै निर्णय भएको छैन’, उनले भने, ‘पुरातत्व विभागले डिजाइनको काम गरिरहेको छ।’

नकर्मीले कामदार कमी नभएको बताउँदै दैनिक २०० जना श्रमिकले काम गरिरहेको दाबी गरे। उनले पछिल्लो समय विस्तारै कामदार समेत थप गरिरहेको बताए। 

पुरानो धरहराबाहेक गोश्वारा हुलाक, काठमाडौं मलको बी ब्लक, राष्ट्र बैंकको पुरानो टक्सार भवनलाई समेटेर धरहरा बनिरहेको छ। 

नयाँ धरहरामा बगैँचा, संग्रहालय, रंगीन पानी फोहरा, प्रदर्शनी हल, पार्किङ स्थल, पसललगायत रहनेछन्। पार्कभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली, चमेना गृह हुनेछ। 

धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ। २२ तल्ले धरहरामा लिफ्ट र भर्‍याङ दुवैको व्यवस्था छ। 

सबै तस्बिर : सरोज बैजू/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .