कारोबार


निर्जीवनको ठूलो हिस्सा बन्दै सवारीसाधन बीमा

सबैभन्दा धेरै बागमती प्रदेशमा, कुन आवमा कति हिस्सा?
निर्जीवनको ठूलो हिस्सा बन्दै सवारीसाधन बीमा

केशर बोगटी
फागुन २२, २०७९ सोमबार १८:१८, काठमाडौँ

चालू आर्थिक वर्षको पुस मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले कुल व्यवसायको ३३.३३ प्रतिशत सवारीसाधन बीमा गरेका छन्। 

उनीहरुले पुस मसान्तसम्म साढे ६ अर्बको सवारीसाधन बीमा व्यवसाय गरेका हुन्। 

सोही अवधिमा कम्पनीहरुको कुल व्यवसाय भने २० अर्ब ८ करोड रुपैयाँको छ। गत वर्ष यही अवधिमा उनीहरुले १९ अर्ब ९ करोड ८२ लाख रुपैयाँको व्यवसाय गरेका थिए। त्यसमा सवारीसाधन बीमाको हिस्सा ८ अर्ब रुपैयाँ थियो।  

उक्त तथ्यांकलाई हेर्दा गत वर्षको तुलनामा निर्जीवन बीमा व्यवसाय बढेको छ। तर सवारीसाधन बीमा व्यवसायचाहिँ केही घटेको छ।

यद्यपि सवारीसाधन बीमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसायको सबैभन्दा ठूलो हिस्सा बन्दै आएको छ। 

२०७८ पुसको तुलनामा चालू आवको पुस मसान्तमा कुल बीमा व्यवसाय ५.१५ प्रतिशतले बढेको छ।

आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तदेखि नेपाल राष्ट्र बैंकले आयात बढेर विदेशी विनिमय सञ्चिति घटेको भन्दै गाडी आयातमा नगद मार्जिनको व्यवस्था गरेको थियो। जसपश्चात् गाडी आयात घटेको थियो। 

त्यसपछि २०७९ वैशाखबाट पेट्रोल–डिजेलका गाडी आयातमै प्रतिबन्ध लगाएको थियो। गत मंसिरबाट उक्त प्रतिबन्ध पनि खुलेको छ। 

मंसिरदेखि आयात खुले पनि गाडीको आयात भने न्यून छ। विद्युतीय सवारीमा भने प्रतिबन्ध लगाइएको थिएन। तसर्थ चालू आवको माघसम्म विद्युतीय गाडीको आयात भने भइरहेको थियो। 

कुन महिना कति?  
आर्थिक वर्ष २०७९/०८० को साउनमा निर्जीवन बीमा कम्पनीले १ अर्ब २ करोड, भदौमा २ अर्ब ३ करोड ४४ लाख, असोजमा ३ अर्ब ३८ करोड ९९ लाख, कात्तिकमा ४ अर्ब ४४ करोड ७५ लाख, मंसिरमा ५ अर्ब ४८ करोड ११ लाख र पुससम्म ६ अर्ब ५५ करोड १७ लाख रुपैयाँको सवारीसाधन बीमा व्यवसाय गरेका छन्।  

अघिल्ला वर्षहरुमा निर्जीवन बीमा कम्पनीहरुले सवारीसाधन बीमामार्फत  औसतमा ४० प्रतिशत व्यवसाय गर्ने गरेको बीमा प्राधिकरणले जनाएको छ। 

आर्थिक वर्ष २०७६/०७७ मा निर्जीवन बीमा कम्पनीहरुले १० अर्बको ३५ करोडको व्यवसाय गरेका थिए।

सोही वर्ष निर्जीवन बीमा कम्पनीहरुले २७ अर्ब ५७ करोडको कारोबार गरेका थिए। उक्त वर्ष कुल निर्जीवन बीमा व्यवसायमा सवारीसाधन बीमाको हिस्सा ३७.५५ प्रतिशत थियो। 

त्यसैगरी २०७७/०७८ मा निर्जीवन बीमा कम्पनीको ३१ अर्ब ५६ करोडको व्यवसाय रहँदा १२ अर्ब २७ करोडको सवारीसाधन बीमा भएको थियो। सवारीसाधन बीमाको हिस्सा मात्र ३८.४९ प्रतिशत हो। 

२०७८/०७९ मा निर्जीवन बीमा कम्पनीले ३९ अर्ब २८ रुपैयाँको व्यवसाय गरेकोमा सवारीसाधन बीमाको हिस्सा ३५.६२ प्रतिशत देखिन्छ।

सो वर्ष उनीहरुले सवारीसाधन बीमामार्फत १३ अर्ब ९९ करोड १५ लाख ४६ हजार रुपैयाँको व्यवसाय गरेका थिए। 

सवारीसाधन बीमा विस्तार बढ्दै गइरहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सका वरिष्ठ डेपुटी सीईओ कमल गौतमले बताए।

‘गत वैशाखमा सरकारले सवारीमा प्रतिबन्ध लगाएको थियो’, उनले भने, ‘आयात प्रतिबन्ध हुँदा व्यवसाय घट्ने नै भयो।’

‘सवारीसाधन बीमा चैतपछि बढ्छ’
पछिल्लो समय सवारीसाधन बीमा व्यवसाय बढ्दै गएको नेपाल बताउँछन्। 

‘सवारीमा लगाएको प्रतिबन्ध खुलेको छ’, उनले भने, ‘चैतपछि विस्तारै ब्याजदर घट्दै गएपछि मोटर व्यवसाय बढ्दै जान्छ।’

अघिल्लो वर्षको तुलनामा सवारीसाधन बीमा व्यवसाय सामान्य घटेको बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए। 

उनका अनुसार केही समय सवारीमा लगाइएको प्रतिबन्धले व्यवसाय घटे पनि विस्तारै बढ्दै गएको छ। 

निर्जीवन बीमा कम्पनीले वार्षिक सवारीसाधन बीमामार्फत २० अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गर्दै आइरहेका छन्। 

आर्थिक वर्ष २०७६/०७७ मा निर्जीवन बीमा कम्पनीको सवारीसाधन बीमाको हिस्सा ३५ प्रतिशत थियो। त्यसैगरी २०७७/०७८ मा सवारीसाधन बीमा हिस्सा ३८.४९ प्रतिशत, २०७८/०७९ मा ३५.६२ प्रतिशत छ। निरन्तर बढ्दै गइरहेको सवारीसाधन बीमा २०७८/०७९ मा घटेको छ। 

२०७७/०७८ को तुलनामा २०७८/०७९ मा सवारीसाधन बीमा औसतमा घटेको देखिए पनि बीमा शुल्क आर्जन बढेको पौडेलले बताए। 

यसअनुसार आर्थिक वर्ष २०७८/०७९ मा पुसमा १ अर्ब ४५ करोड १६ लाख, फागुनमा १ अर्ब ९ करोड ९८ लाख, चैतमा १ अर्ब ४ करोड ७५ लाख, वैशाखमा ७६ करोड २९ लाख, जेठमा ७६ करोड ६ लाख, असारमा १ अर्ब ६४ करोड ६४ लाख रुपैयाँको व्यवसाय भएको छ। 

भन्सार विभागले सार्वजनिक गरेको रिपोर्टअनुसार माघ महिनासम्म १९ अर्ब ५१ करोड रुपैयाँको सवारीसाधन आयात भएको छ। अघिल्लो वर्ष माघ महिनासम्म ६९ अर्ब १५ करोड रुपैयाँको सवारीसाधन भित्रिएका छन्। 

अघिल्लो वर्ष ७ महिनामा डिजेल पेट्रोलका १० हजार ७०५ प्यासेन्जर गाडी भित्रिएकोमा चालू आर्थिक वर्षमा ११ सय १६ वटा मात्र आएका छन्। 

सबैभन्दा धेरै सवारीसाधन बीमा बागमती प्रदेशमा 
निर्जीवन बीमा कम्पनीहरुको आधाभन्दा बढी हिस्सा बागमती प्रदेशले ओगटेको छ। 

बीमा प्राधिकरणको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरुले बागमती प्रदेशबाट मात्रै साढे ३ अर्ब रुपैयाँको व्यवसाय गरेका छन्।
यो निर्जीवन बीमा कम्पनीहरुले पुससम्म आर्जन गरेको कुल व्यवसायकोे ५५ प्रतिशत हो।

बागमती प्रदेशपछि लुम्बिनी प्रदेशमा निर्जीवन बीमा व्यवसाय विस्तार भएको देखिन्छ। लुम्बिनी प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले ९० करोड ८८ लाख रुपैयाँ व्यवसाय गरेका छन्।

यस्तै, कोशी प्रदेशमा ६३ करोड ८६ लाख, मधेश प्रदेशमा ५० करोड ४३ लाख, गण्डकीमा ६० करोड ७७ लाख, कर्णलीमा ९ करोड र सुदूरपश्चिममा २६ करोड ७६ लाखको सवारीसाधन बीमा व्यवसाय भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .