कारोबार


बीमा कम्पनी : अल्पकालीन लगानी घटाउँदै, दीर्घकालीन बढाउँदै

पुससम्म निर्जीवनको ५८ अर्ब ६५ करोड र जीवन बीमाको ५ खर्ब ४८ अर्ब लगानी
बीमा कम्पनी : अल्पकालीन लगानी घटाउँदै, दीर्घकालीन बढाउँदै

केशर बोगटी
चैत २, २०७९ बिहिबार १९:५१, काठमाडौँ

चालू आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासिकसम्म बीमा कम्पनीले विभिन्न क्षेत्रमा लगानी बढाएका छन्। 

जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीले पुस मसान्तसम्म लगानी बढाएका हुन्। 

पुस मसान्तमा बीमा कम्पनीले अल्पकालीन लगानी घटे पनि दीर्घकालीन लगानी भने बढाएका हुन्। 

पुस मसान्तसम्म जीवन बीमा कम्पनीले विभिन्न ११ क्षेत्रमा कुल ५ खर्ब ६५ अर्ब रुपैयाँ लगानी गरेका छन्। यता निर्जीवन बीमा कम्पनीले भने ५७ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन्। 

गत वर्ष यसै अवधिमा जीवन बीमा कम्पनीले ४ खर्ब ४८ अर्ब रुपैयाँ लगानी गरेका थिए भने निर्जीवन बीमा कम्पनीले ५३ अर्ब २९ करोड रुपैयाँ लगानी गरेका थिए। 

गत वर्षको तुलनामा जीवन र निर्जीवन बीमा कम्पनीहरुको अल्पकालीन लगानी उच्च दरले घटेको छ। अल्पकालीन लगानी घटे पनि दीर्घकालीन लगानी भने बढाएका छन्। 

आर्थिक वर्षको पुसमा बीमा प्राधिकरणले बीमा कम्पनीको लागि लगानी निर्देशिका जारी गरी ११ क्षेत्रमा लगानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ। 

बीमा प्राधिकरणले सरकारी बचतपत्र, बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेप, पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, साधारण सेयर, नागरिक लगानी कोष तथा म्युचुअल फण्डका योजना र घरजग्गा व्यवसाय लगानीको सीमा तोकेको छ। 

त्यसैगरी, कृषि उत्पादन, शीत भण्डार, पर्यटन, ऊर्जा, सडक, विद्युत्, केबलकार, स्वास्थ्य र शिक्षा, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा लगानी गर्न निर्देशन दिएको छ। 

प्राधिकरणले लगानीको सीमा तोकेर लगानी गर्न निर्देशन दिएसँगै बीमा कम्पनीले विभिन्न क्षेत्रमा लगानी बढाएका छन्। 

अघिल्लो वर्षतिर सेयरबजार र केही अल्पकालीन लगानी गरिरहेका बीमा कम्पनीले सेयरबजार मन्दी आएसँगै दीर्घकालीन ऋणपत्र, बन्ड र बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा लगानी बढाएका छन्। 

एक वर्ष कम अवधिको लगानीलाई अल्पकालीन र एक वर्षमाथिको लगानीलाई बीमा कम्पनीले दीर्घकालीन लगानी रुपमा परिभाषित गरेका छन्।

अघिल्ला वर्षहरुमा बीमा कम्पनीहरु अल्पकालीन लगानी राम्रो रहेको यो वर्ष केही घटेको बमिा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए। 

उनका अनुसार यो वर्ष सेयर बजार निरन्तर घट्दो घर जग्गको कारोबारमा समेत मन्दी हुँदा बीमा कम्पनी मुद्दती, डिबेञ्चर लगायतका दीर्घकालीन लगानी बढाएको देखिन्छ। 

‘पछिल्लो समय निक्षेपको ब्याजदर बढेको छ’, उनले भने, ‘उसै त बीमा कम्पनीहरु अन्य क्षेत्रमा सीमा पुर्याएर मुद्दतीमा लगानी गरिरहेका थिए। अहिले ब्याजदर पनि उच्च भएकाले दीर्घकालीन लगानी गरेका छन्।’

समग्रमा बीमा कम्पनीले लगानी बढाएको पौडेलले बताए। 

‘हामीले बीमा कम्पनीलाई लगानी निर्देशिका जारी गरी पूर्वाधार, स्वास्थ्य, पर्यटन र सडक लगायत केही क्षेत्रमा लगानी बढाउने गरी निर्देशिका जारी गरेका थियौँ’, उनले भने, ‘समग्र लगानी बढेको छ। विस्तारै लगानी विविधिकरण हुँदै जाला।’

बीमा कम्पनीहरु जोखिममुक्त क्षेत्रमा लगानी गर्न इच्छुक हुने गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्सका डीसीईओ कमल गौतम बताउँछन्। 

‘बीमा कम्पनीहरु जोखिममुक्त क्षेत्रमा लगानी गर्न चाहन्छन्’, उनले भने, ‘हामीले दाबी परेपछि तत्काल भुक्तानी दिनुपर्छ। जसकारण बीमा कम्पनीहरु सुरक्षित क्षेत्रमा लगानी गर्न चाहन्छन्।’

जीवन बीमा कम्पनीले गरे ५ खर्ब ४८ अर्ब लगानी
जीवन बीमा कम्पनीले चालू आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासिकसम्ममा ५ खर्ब ४८ अर्ब रुपैयाँ लगानी गरेका छन्। जसमध्ये अल्पकालीन ८९ अर्ब ४० करोड र दीर्घकालीन लगानी ४ खर्ब ५९ अर्ब ३१ करोड रुपैयाँ गरेका छन्। 

पुस मसान्तमा राष्ट्रिय बीमा संस्थानले दीर्घकालीन ३० अर्ब ७५ करोड र १४ अर्ब ६२ करोड रुपैयाँ अल्पकालीन लगानी गरेको छ। 

त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ४९ अर्ब ३० करोड दीर्घकालीन र १० अर्ब ८६ करोड रुपैयाँ अल्पकालीन लगानी, नेपाल लाइफ इन्स्योरेन्सले १ खर्ब ४४ अर्ब ६२ करोड दीर्घकालीन र ११ अर्ब ८३ करोड रुपैयाँ अल्पकालीन लगानी, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) कम्पनीले ९६ अर्ब ६९ करोड दीर्घकालीन र ६ अर्ब २ करोड रुपैयाँ अल्पकालीन लगानी, मेट लाइफ इन्स्योरेन्सले २ करोड रुपैयाँ दीर्घकालीन र ३८ हजार रुपैयाँ अल्पकालीन लगानी, एशियलन लाइफ इन्स्योरेन्सले २७ अर्ब ७७ करोड दीर्घकालीन र १० अर्ब ६५ करोडको लगानी, गुराँस लाइफ इन्स्योरेन्सले ४ अर्ब ३६ करोड दीर्घकालीन र ११ अर्ब १ करोड रुपैयाँ अल्पकालीन लगानी गरेका छन्। 

साथै, प्राइम लाइफ इन्स्योरेन्सले दीर्घकालीन २० अर्ब २५ करोड र २ अर्ब ८२ करोड अल्पकालीन लगानी, आईएमई लाइफले ८ अर्ब ८३ करोड दीर्घकालीन र ११६ करोड अल्पकालीन लगानी, युनियन लाइफले १४ अर्ब ८ करोड दीर्घकालीन र १६४ करोड अल्पकालीन लगानी, सन नेपाल लाइफले ११४ करोड दीर्घकालीन र ३० करोड रुपैयाँ अल्पकालीन लगानी, रिलायन्स लाइफले ४१८ करोड दीर्घकालीन र ९२० करोड अल्पकालीन लगानी गरेको छ।

त्यसैगरी रिलायबल लाइफ इन्स्योरेन्सले ८५० करोड दीर्घकालीन र १२५ अल्पकालीन लगानी, सिटिजन्स लाइफले ९५६ करोड दीर्घकालीन र १७३ करोड रुपैयाँ अल्पकालीन, सानिमा लाइफले ५४० करोड दीर्घकालीन र ९३ करोड अल्पकालीन, प्रभु लाइफले ३९७ करोड दीर्घकालीन र २२५ अल्पकालीन लगानी गरेको छ। 

महालक्ष्मी लाइफ इन्स्योरेन्सले दीर्घकालीन ३८० करोड र १३६ करोड अल्पकालीन लगानी र यता सुर्यज्योति लाइफले २० अर्ब ९२ करोड दीर्घकालीन र ८५८ करोड अल्पकालीन लगानी गरेको छ। 

निर्जीवन बीमा कम्पनीले गरे ५८ अर्ब ६५ करोड लगानी 
नेपाल इन्स्योरेन्स कम्पनीले चालू आवको पुस मसान्तसम्म दीर्घकालीन ५० करोड र अल्पकालीन ३०८ करोड रुपैयाँ लगानी गरेका छन्। 

त्यसैगरी ओरियण्टल इन्स्योरेन्सले दीर्घकालीन १६७ करोड र अल्पकालीन १०३ करोड, नेशनल इन्स्योरेन्सको २३ करोड दीर्घकालीन र १९४ करोड अल्पकालीन, युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)३० करोड दीर्घकालीन र १८३ करोड अल्पकालीन, प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले ४१ करोड दीर्घकालीन र २९४ करोड अल्पकालीन लगानी गरेको छ। 

त्यस्तै, नेको इन्स्योरेन्सले ५३ करोड र ४१० करोड अल्पकालीन, सगरमाथा इन्स्योरेन्सले ७४ करोड दीर्घकालीन र २९३ करोड अल्पकालीन, प्रभु इनस्योरेन्स कम्पनीले ४० करोड दीर्घकालीन र १०० करोड अल्पकालीन, आइएमई जनरलले ५२ करोड दीर्घकालीन र १५७ करोड अल्पकालीन, प्रुडेन्सियल इन्स्योरेन्सले ३६ करोड दीर्घकालीन र २०१ करोड अल्पकालीन, शिखर इन्स्योरेन्सले १२१ करोड दीर्घकालीन र ३३८ करोड रुपैयाँ अल्पकालीन, लुम्बिनी जनरलले २४ करोड दीर्घकालीन र २१४ करोड अल्पकालीन, एनएलजी इन्स्योरेन्सले ५५ करोड दीर्घकालीन र १७१ करोड रुपैयाँ अल्पकालीन लगानी गरेको छ। 

साथै, सिद्धार्थ इन्स्योरेन्सले ७२ करोड रुपैयाँ अल्पकालीन र ३२१ करोड दीर्घकालीन, राष्ट्रिय बीमा कम्पनीले १४६ करोड दीर्घकालीन र ६०७ करोड अल्पकालीन लगानी, अजोड इन्स्योरेन्सले २५ करोड दीर्घकालीन र १५६ करोड अल्पकालीन, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८५ करोड दीर्घकालीन र ३१२ करोड रुपैयाँ अल्पकालीन र सानिमा जिआईसीले ११ करोड दीर्घकालीन र २८२ करोड रुपैयाँ अल्पकालीन लगानी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .