ad ad

कारोबार


हवाइ क्षेत्रमा भारतसँग स्थायी एजेन्डा : प्रचण्ड–मोदी भेटमा ३ विषयलाई प्राथमिकता

हवाइ क्षेत्रमा भारतसँग स्थायी एजेन्डा : प्रचण्ड–मोदी भेटमा ३ विषयलाई प्राथमिकता

वसन्त अर्याल
चैत ६, २०७९ सोमबार ६:४१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी भारत भ्रमणमा नेपालले उड्डयन क्षेत्रका ३ एजेन्डा अघि सार्ने भएको छ। 

उच्चस्तरीय भ्रमणका क्रममा नेपालको हवाइ क्षेत्र विकासमा अवरोध गर्दै आएका मुख्यतः ३ एजेन्डालाई नेपालले प्राथमिकता दिने भएको हो।

यसअनुसार हवाइ क्षेत्रमा सबैभन्दा ठूलो समस्या रहेको हवाइ प्रवेशविन्दुलाई पहिलो प्राथमिकतामा राखिनेछ। हाल नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाज सिमरा भएर मात्रै आउन सक्छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको लागि प्रवेश विन्दु केही सहज भए पनि भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडानमा पश्चिमबाट प्रवेश अनुमति नपाउँदा सिमरा भएर नै अवतरण गर्नुपर्ने बाध्यता छ। भैरहवामा जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान गर्दा सिमरा भएर भैरहवा अवतरण गरिरहेको छ। 

नयाँ हवाइ प्रवेश विन्दुको विषयमा २०७२ मा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यो विषय उठाएका थिए। त्यसपछि भारत भ्रमणमा जाने हरेक प्रधानमन्त्रीका यही एजेन्डा बन्दै आएका छन्। तर अहिलेसम्म नेपालले हवाइ रुट पाएको छैन।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उड्डयन महाशाखा प्रमुख बुद्धिसागर लामिछानेले परराष्ट्र मन्त्रालयबाट आधिकारिक रुपमा एजेन्डा माग नभए पनि आफूहरुका स्थायी एजेन्डा नै रहेको बताए। 

‘७–८ वर्षदेखि नेपालले थप हवाइ प्रवेश विन्दुको एजेन्डा उठाउँदै आएको छ’, उनले भने, ‘भारत भ्रमणमा नेपालका हरेक प्रधानमन्त्रीले मुद्दा उठाए पनि सम्बोधन हुनसकेको छैन। अहिले पनि त्यही मुद्दा नै प्राथमिकतामा छ।’

उड्डयन मन्त्रालयका अधिकारीहरुले केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा नेपालले उठाएका मुद्दा प्रचण्ड, देउवा फेरि ओली नै प्रधानमन्त्री हुँदा समेत सम्बोधन हुनसकेका छैनन्। 

२०७५ मा भारतले नेपाल आउने जहाजलाई महेन्द्रनगर, नेपालगन्ज, जनकपुर र विराटनगरबाट हवाइ प्रवेश विन्दु दिन सहमत भएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आएको समय हवाइ रुटबारे तत्काल प्राविधिक वार्ता गर्ने सहमति भएको थियो। 

२०१८ सेप्टेम्बरसम्म कार्यान्वयनको तहमा जाने सहमति भएको थियो। नेपालले प्रस्तावित रुटको डिजाइन, अध्ययन तथा मूल्यांकन रिपोर्ट भारतीय पक्षलाई बुझाउने र भारतले अध्ययन गरी दुवै पक्षबीचको बैठक बसी सहमतिपछि कार्यान्वयन गर्ने सहमति भएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले हवाइ प्रवेश विन्दुसँगै भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन भारतले सहजीकरण गर्न आवश्यक रहेको बताए। 

भारतले सहजीकरण नगर्दा भैरहवाको गौतमबुद्ध र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनसकेको छैन। कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा सिधा उडान गरे पनि आईएलएस (इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम) सञ्चालन नहुँदा उडान नै रोकेको थियो।

मौसम खराब भएको समयमा आईएलएस प्रयोग गरी अवतरण गर्न सकिन्छ। ९ मार्चबाट भने जजिराले नियमित उडान गर्न थालेको छ।

आईएलएस सञ्चालन गर्दा ‘वेभ’ भारतीय भूमिमा समेत पर्ने भएकाले भारतको अनुमति आवश्यक पर्छ। नेपालले भारतसँग आईएलएस सञ्चालनको लागि अनुमति माग गरे पनि अहिलेसम्म दिएको छैन। पर्यटन मन्त्रालयले परराष्ट्रमार्फत भारतमा पत्र पठाए पनि अनुमति पाएको छैन। 

भारतले पुराना एजेन्डा सम्बोधन नगर्दा नयाँ समस्या थपिँदै गएका छन्। बुद्ध एयरले पोखराबाट भारतको बनारस सिधा उडान तालिका नै पठाए पनि अनुमति पाएको छैन। 

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बुद्धको उडान अनुमति र गौतमबुद्धको आईएलएस सुचारु गर्ने विषय हवाइ रुटसँग जोडिएको बताए। 

‘प्राधिकरण र मन्त्रालयका अधिकारीले प्रधानमन्त्रीलाई भेटेर नेपालले भारतसँग उठाउनुपर्ने विषयमा ब्रिफिङ गरिसकेका छन्’, भुलले भने, ‘सबै मुद्दा हवाइ रुटमा जोडिएका छन्। हवाइ रुटको विषयमा उच्चस्तरीय सहमति भए साना समस्या समाधान हुन्छन्।’

उनले भारतका प्रधानमन्त्री मोदीको नेपाल भम्रण र नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा भएका सहमति कार्यान्वयन हुन नसकेको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइसकेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .