राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट कोशी र मधेश प्रदेशका लागि छनौट भएका नवनियुक्त सहायक प्रशासन सेवाका ११७ जना कर्मचारीहरुलाई आइतबारबाट चौध दिने पूर्व सेवाकालीन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ। तालिम पछि उनीहरु सेवा प्रवेश गर्दै छन्।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा पवेश गर्ने कर्मचारीलाई तालिम अनिवार्य दिनुपर्ने बताएको छ।
तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक ग्राहकहरुलाई आधुनिक गुणस्तरीय बैंकिङ्ग सेवा दिई संस्थाको उत्पादकत्व बृद्धि गर्न यो युवा जनशक्ति उपयोग हुने बताए।
उनले अन्य प्रदेशका सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछि पुरानो बैंक नयाँ कर्मचारीयुक्त हुने बताए।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराएका थिए।
कार्यक्रममा मानव संसाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक प्रशासन सेवाका ११७ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावलीबमोजिम शपथ गराएका थिए।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्ष्मी जि.सी.लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, लगायतका बैंकिङ्गका सेवाहरु समेत संचालनमा रहेका छन्।

प्रतिक्रिया