विद्युत आपूर्ति सहज हुँदा १० वर्षमा घरायसी इलेक्ट्रोनिक्स र मेसिनरी सामानको खपत करिब २ खर्ब रुपैयाँले बढेको छ।
पछिल्लो दशकमा विद्युत् आपूर्ति सहज हुँदा विद्युतीय उपकरणबाट चल्ने सामग्रीको खपत ह्वात्तै बढेको हो।
आर्थिक वर्ष २०७०/०७१ मा ८६ अर्ब रुपैयाँको विद्युतीय उपकरण भित्रिने गरेकोमा गत आर्थिक वर्षमा २०७८/०७९ मा २ खर्ब ६६ अर्ब रुपैयाँको आयात भएको छ।
यसमा गत आर्थिक वर्षमा ‘होम अप्लाइन्स’का टिभी, फ्रिज लगायतका सामग्री मात्रै ७५ अर्ब रुपैयाँका आयात भएका छन्।
आर्थिक वर्ष २०७३/०७४ यता नेपालमा लोडसेडिङ अन्त्य भएको थियो। त्योसँगै आव ०७४/०७५ पछि २ खर्ब बढीको विद्युतीय सामग्री खपत हुनथालेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।
विद्युत् आपूर्ति सहज र नियमित नहुने समय आर्थिक वर्ष २०७१/०७२ मा १ खर्ब ४ अर्ब रुपैयाँको खपत भएकोमा ०७२/०७३ मा १ खर्ब १४ अर्ब र ०७३/०७४ मा १ अर्ब ५२ अर्ब रुपैयाँको खपत भएको थियो।
भन्सार विभागका अनुसार एचएस कोड ८४ मा मेकानिकल अप्लाइन्स र पार्ट्स आयात हुन्छ भने ८५ मा इलेक्ट्रिकल मेसिनरी र पार्ट्स आयात हुन्छ।
पम्प, एयरकन्डिसनिङ, ओभन, फ्रिजर, रेफ्रिजेनेरेटेर, डिस वासिङ मेसिन, वासिङ मेसिन, ड्राइङ मेसिन, अटोमेट्रिक सिविङ मेसिन, कम्प्युटर एसेसरिजलगायत एचएस कोड ८४ मा भित्रिने गरेका छन्।
त्यस्तै ८५ मा मोबाइल फोन एसेसरिज, लिथियम आयन ब्याट्री, इन्डक्सन चुल्हो, राइस कुकर, इलेक्ट्रिक केत्ली, टिभी, ल्याम्प्सलगायतका इलेक्ट्रिोनिक्स वस्तु आयात हुने गरेका छन्।
विद्युत् आपूर्ति सहज हुँदा होम अप्लाइन्सका सामग्रीको खपत हुँदै गएको तथ्यांकले देखाएको छ।
कम्पनीहरुको व्यापार व्यवसायलाई विश्लेषण गर्ने केयर रेटिङ एजेन्सीले नेपालमा इलेक्ट्रोनिक्स वस्तुको खपत बढ्नुमा विद्युत् सप्लाई सहज हुँदै जानु मुख्य कारण भएको जनाएको छ।
विद्युत् आपूर्तिसँगै रेटिङ एजेन्सीले घरपरिवारमा रेमिट्यान्स बढ्दा विद्युतीय अपकरणको खपत पनि बढेको उल्लेख गरेको छ।
भन्सार विभागको तथ्यांकअनुसार २०७४/०७५ मा २ खर्ब २ अर्ब, ०७५/०७६ २ खर्ब १२ अर्ब, २०७६/०७७ मा १ खर्ब ८० अर्ब रुपैयाँ र ०७७/०७८ मा २ खर्ब ३० अर्ब रुपैयाँको आयात भएको छ। कोभिड महामारीको समयमा नाका बन्द हुँदा आर्थिक वर्ष २०७६/०७७ मा भने वृद्धिदर रोकिएको थियो।
प्रतिक्रिया