ad ad

कारोबार


सेमिकन्डक्टर उद्योगका यी प्रणेता जसले कम्प्युटर क्रान्तिको बाटो खोलिदिए

के हो इन्टेलका गर्डन मूरेको ‘मुरेज ल’?
सेमिकन्डक्टर उद्योगका यी प्रणेता जसले कम्प्युटर क्रान्तिको बाटो खोलिदिए

रोयटर्स
चैत १२, २०७९ आइतबार १२:१३, काठमाडौँ

इन्टेलका सहसंस्थापक गर्डन मूरेलाई सेमिकन्डक्टर उद्योगकै प्रणेता मानिन्छ। जसको ‘मूरेज ल’ किताबले धेरै दशकसम्म कम्प्युटिङ पावर बढ्ने भविष्यवाणी गरेको थियो। 

गत शुक्रबार उनको ९४ वर्षमा मृत्यु भएको छ । इन्टेल र मूरेको पारिवारिक परोपकारी फाउन्डेसनका अनुसार हवाईस्थित उनकै घरमा परिवार–सदस्यमाझ उनको मृत्यु भएको हो। 

सन् १९६८ मा इन्टेलको सहसंस्थापना गर्दैगर्दा मूरे एक प्रविधि क्षेत्रका उत्प्रेरक इन्जिनियर थिए जसले विश्वका ८० प्रतिशत बढी व्यक्तिगत कम्प्युटरमा ‘इन्टेल इन्साइड’ प्रोसेसरहरु राखेका थिए।

सन् १९६५ मा उनले लेखेको एउटा आलेखमा मूरेले नियालेका थिए, ‘प्रविधिको सुधारलाई साधुवाद! केही वर्षअघिमात्रै आविष्कृत एकीकृत सर्किटहरुपछि माइक्रोचिपहरुका ट्रान्जिस्टरहरुको संख्या हरेक वर्ष झण्डै दोब्बर भएको छ।’

‘मुरेज ल’का रुपमा प्रसिद्ध त्यो ट्रेन्ड (चलन) चलिरहला भन्ने उनको भविष्यवाणीलाई पछि हरेक २ वर्षमा हुने बनाइयो। यसले इन्टेल र यसका प्रतिस्पर्धी चिपमेकरहरुलाई उनीहरुको अनुसन्धान र विकास स्रोतहरुलाई जबर्जस्त रुपमा लक्षित गर्न मद्दत गर्यो ता कि त्यो सही साबित होस्!

‘एकीकृत सर्किटहरुले घरायसी कम्प्युटरहरु, टर्मिनल जोडिएका सेन्ट्रल कम्प्युटर, अटोमोबाइल र सार्न मिल्ने व्यक्तिगत सञ्चार सामग्रीमा स्वचालित नियन्त्रणतर्फ लैजान्छन्’, मूरेले यो व्यक्तिगत कम्प्युटर (पीसी)को क्रान्ति हुनुभन्दा दुई दशकअघि र एप्पलले आईफोन ल्याउनुभन्दा ४० वर्षअघि लेखेका थिए।

मूरेको आलेखपछि आधा शताब्दीका लागि विश्वको प्राविधिक विकासलाई हाँक्न मद्दत गर्ने गरी चिपहरु धेरै प्रभावकारी र तीव्रदरमा कम महँगा भए। यसले केवल व्यक्तिगत कम्प्युटर (पीसी)को आगमनलाई मात्रै अनुमति दिएन, इन्टरनेट र सिलिकन भ्यालीका ठूला कम्पनीहरु एप्पल, फेसबुक र गुगललाई पनि स्वागत गर्यो। 

‘यो निश्चित रुपमा सही समयमा सही ठाउँमा हुन राम्रो छ’, मूरेले सन् २००५ तिर एक अन्तर्वार्तामा भनेका थिए, ‘यसकै शैशवावस्थामा सेमिकन्डक्टर उद्योगमा हुन पाउनुमा म साँच्चै भाग्यमानी रहेँ। र त्यो समय मलाई अघि बढ्ने एउटा अवसर थियो किनकि सिंगो एउटा सिलिकन ट्रान्जिस्टर पनि बनाउन नसक्ने त्यो समयलाई हामीले एउटै चिपमा १.७ अर्ब ट्रान्जिस्टर राख्न सक्ने अवस्थामा पुर्‍याएका छौँ।’

पछिल्ला वर्षहरुमा इन्टेलका प्रतिस्पर्धीहरु ‘विडिया’लगायतले चिप उत्पादन नै सुस्त भएकोले मूरेको नियम लागू नहुने बताएका छन्। 

तर पछिल्ला वर्षमा उत्पादन गिरावटसँगै इन्टेलले बजार हिस्सा गुमाए पनि हालका प्रमुख कार्यकारी (सीईओ) प्याट जेलसिन्जरले कम्पनीले अर्बौँ डलर लगानी गरिरहेको भन्दै ‘मूरेज ल’ अझै सान्दर्भिक रहेको बताउँछन्। 

‘आकस्मिक उद्यमी’ 
‘पीसी मुभमेन्ट’को भविष्यवाणी गरे पनि फोर्ब्स म्यागेजिनलाई भने मूरेले आफूले सन् १९८० को दशकको अन्त्यसम्म घरायसी कम्प्युटर नकिनेको बताएका थिए। 

सनफ्रान्सिस्कोका मूरेले सन् १९५४ मा क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीमा केमिस्ट्री र फिजिक्स (रसायन र भौतिक विज्ञान)मा विद्यावारिधि गरेका थिए। 

पछि उनी शकले सेमिकन्डक्टर ल्याबोरेटरीमा काम गर्न गए जहाँ उनको भेट भविष्यका इन्टेल सहसंस्थापक रोबर्ट नोयससँग भयो। ‘ट्रेटरस ८’कै अंगको रुपमा उनीहरुले सन् १९५७ मा कम्पनी छाडेर फेयरचाइल्ड सेमिकन्डक्टर सुरु गरे। सन् १९६८ मा मूरे र नोयसले मेमोरी चिप कम्पनी खोल्न फेयरचाइल्ड पनि छाडे। त्यसैको नाम थियो इन्टेल अर्थात् इन्टिग्रेटेड इलेक्ट्रोनिक्स।  

मूरे र नोयसको पहिलो हायर फेयरचाइल्डकै एक सहकर्मी एन्डी ग्रोभ बने जसले सन् १९८० र ९० को दशकमा इन्टेललाई शिखरमा पु¥याउने नेतृत्व प्रदान गरे। 

मूरेले फर्च्युन म्यागेजिनलाई आफूलाई एक ‘आकस्मिक उद्यमी’को संज्ञा दिएका छन् जोसँग एउटा कम्पनी सुरु गर्ने दृढ इच्छाशक्ति थिएन। तर उनी, नोयस र ग्रोभले एउटा शक्तिशाली साझेदारी बनाए।

नोयससँग चिप इन्जिनियरिङका समस्या समाधान गर्ने सिद्धान्त थियो भने मूरेसँग नोयसका फराकिला र कहिलेकाहीँ गलत परिभाषित विचारलाई परिष्कृत गर्ने क्षमता। जसले ट्रान्जिस्टरहरुलाई राम्रो बनाउन घण्टौँ बिताउँथे। ग्रोभले इन्टेलको सञ्चालन र व्यवस्थापन विज्ञका रुपमा तीनभाइ समूहको अभाव पूर्ति गरे। 

मूरेको उच्च प्रतिभाले पनि अन्य इन्जिनियरहरुलाई उनका लागि काम गर्न प्रेरित गर्‍यो। उनी र नोयसको नेतृत्वमा इन्टेलले माइक्रोप्रोसेसरको आविष्कार गर्‍यो जसले व्यक्तिगत कम्प्युटर क्रान्तिको बाटो खोलिदियो।

उनी र सीईओ नोयसले बराबरी हैसियत बताए पनि सन् १९७५ सम्म मूरे नै कार्यकारी अध्यक्ष रहेका थिए। सन् १९७९ बाट १९८७ सम्म मूरे प्रमुख र सीईओ थिए र उनी सन् १९९७ सम्म प्रमुख रहिरहे। 

सन् २०२३ मा फोर्ब्स म्यागेजिनले उनीसँग ७.२ अर्ब डलर सम्पत्ति रहेको अनुमान गरेको थियो। उनी र उनकी श्रीमती बेट्टीले सन् २००० मा पर्यावरणीय कारणहरुलाई केन्द्रित गरी फाउन्डेसन खोलेका थिए। जसले अमेरिका, क्यानडा र रुसमा वातावरणीय संरक्षणका परियोजना सञ्चालन गर्यो। फाउन्डेसन इन्टेल सेयरमार्फतका मुरेका ५ अर्ब डलरजति दानरकमले खोलिएको थियो। 

उनले क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीलाई प्रविधि र विज्ञानमा अग्रपंक्तिमा रहन सयौँ लाख डलर दिएका थिए भने सर्च फर एक्स्ट्राटेरेस्ट्रियल इन्टेलिजेन्स (सेती) परियोजनालाई पनि सघाएका थिए। 

उनलाई तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुसबाट सन् २००२ मा राष्ट्रकै उच्च नागरिक सम्मानका रुपमा चिनिने ‘मेडल अफ फ्रिडम’ पनि प्रदान गरिएको थियो। उनी र उनको श्रीमतीबाट दुई सन्तान रहेका छन्।  भावानुदित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .