कारोबार


घर किन्ने बढे, ८ महिनामा ३९ अर्बले बढ्यो ‘होमलोन’

घरजग्गा र आवासीय कर्जा साढे १४ अर्बले बढ्यो
घर किन्ने बढे, ८ महिनामा ३९ अर्बले बढ्यो ‘होमलोन’

वसन्त अर्याल
बैशाख १, २०८० शुक्रबार ८:२, काठमाडौँ

चालू आर्थिक वर्षमा घरजग्गामा ऋण प्रवाह बढेको छ। साउनयता घरजग्गा कारोबारमा सुधार हुँदै जाँदा ऋण प्रवाह पनि बढेको हो। 

बैंकहरुको ब्याजदर बढी भए पनि घरजग्गामा ऋण प्रवाह भइरहेको छ।  राष्ट्र बैंकले सेयर धितो र अटो क्षेत्रमा जोखिम भार बढाउँदा दुवै क्षेत्रमा कर्जा प्रवाह घटेको छ।

हायर पर्चेज कर्जा ११.२ प्रतिशत र सेयर धितो ६.६ घट्दा आवासीय कर्जा २.८ प्रतिशतले बढेको छ। घरजग्गा र आवासीय कर्जा १४ अर्ब ५८ करोडले बढेको छ भने हायर पर्चेज १७ अर्ब ६५ करोड र सेयर धितो कर्जा ५ अर्ब ३२ करोड रुपैयाँले घटेको छ। 

राष्ट्र बैंकको तथ्यांकले आवासीय ऋण र रियलस्टेट (व्यावसायिक) लोन दुवै बढेको देखिएको छ। बैंकहरुले व्यक्तिलाई १ करोड ५० लाख रुपैयाँसम्म होम लोन प्रवाह गर्न सक्छन्। २०७८ असार मसान्तसम्म २ खर्ब ५८ अर्ब रुपैयाँ ऋण प्रवाह व्यक्तिगत आवासीय होम लोन प्रवाह भएको छ। 

२०७९ फागुन मसान्तमा आइपुग्दा ३ खर्ब ३७ अर्ब रुपैयाँ व्यक्तिगत घर खरिदको लागि ऋण प्रवाह भएको थियो। जुन ८ महिनामा ३९ अर्ब ४ करोडले बढेको हो। 

२०७८ फागुनदेखि आवासीय कर्जा प्रवाह बढ्नसकेको थिएन। साउनसम्ममा पनि ३ खर्ब ३७ अर्बमै सीमित रह्यो। भूमि तथा अभिलेख विभागका अनुसार साउनयता घरजग्गा कारोबार केही बढ्दै गएको छ।

राष्ट्र बैंकले अटो, सेयर र घरजग्गामा प्रवाह हुने कर्जालाई कडाइ गर्दै आएको छ। सरकारले समेत जग्गालाई धितो राखेर प्रवाह हुने लोनको भ्यालुएसन (मूल्यांकन) समेत घटाएको छ। बैंकले सरकार र भ्यालुएटर (मूल्यांकनकर्ता)ले गरेको मूल्यांकनमा ६० देखि ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्दै आएका छन्। 

‘सरकारले ऋणको लागि भ्यालुएसन घटाउँदा ठूला प्रोजेक्टमा कर्जा प्रवाह कम भइरहेको छ’, नेपाल जग्गा विकास तथा आवास महासंघका अध्यक्ष भेषराज लोहनीले भने, ‘ठूला प्रोजेक्टको तुलनामा आवासीय कर्जा बढी छ।’

गत साउनयता व्यक्तिगत घर खरिदमा २.८ प्रतिशत ऋण प्रवाह बढेको छ। ८ महिनामा ९ अर्ब ४८ करोड रुपैयाँ ऋण बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ। गत फागुनसम्म ३ खर्ब ४७ अर्ब रुपैयाँ उक्त क्षेत्रमा कर्जा प्रवाह भएको छ। 

रियलस्टेट क्षेत्रमा व्यावसायिक रुपमा ल्याएको लोन २.२ प्रतिशतले बढेको छ। १ करोड ५० लाखबाहेकको आवासीय रियलस्टेट लोन २ अर्ब ६८ करोड रुपैयाँले बढेको छ। कमर्सियल कम्पेक्स र रेसिडेन्टल अपार्टमेन्ट निर्माणको लागि व्यवसायीले लिने लोन बढेको छ। १ अर्ब रुपैयाँ यस्तो ऋण विस्तार भएको छ। 

सबैभन्दा बढी ऋण कमर्सियल कम्पेक्स खरिदमा भएको छ। ८ महिनाको अवधिमा ४७.७ प्रतिशतले ऋण प्रवाह भएको छ। उक्त अवधिमा ३ अर्ब ५९ करोड रुपैयाँ ऋण प्रवाह भएको छ। 

जग्गा र प्लटिङमा ८ महिनामा २ अर्ब ३६ करोड
राष्ट्र बैंकका अनुसार जग्गा खरिद र प्लटिङमा पनि ऋण प्रवाह बढेको छ। गत फागुनसम्म ३८ अर्ब ५८ करोड रुपैयाँ घरजग्गामा गएको छ। 

साउनयता २ अर्ब ३६ करोड रुपैयाँ घरजग्गा र प्लटिङमा ऋण बढेको छ। अघिल्लो वर्ष १७.४ प्रतिशतले बढेकोमा घरजग्गाकै अन्य क्षेत्रमा ऋण प्रवाह १.६ प्रतिशतले घटेको छ। 

राष्ट्र बैंकले भने घरजग्गामा मात्रै ऋण प्रवाह हुँदा अर्थतन्त्र सकारात्मकतर्फ जान नसक्ने बताएको छ। अहिले ऋण प्रवाह घर जग्गा, आयात र सेयरमा केन्द्रित हुँदा अप्ठ्यारो आएको दाबी गर्दै आएको छ। 

घरजग्गा व्यवसायीले भ्यालुएसन एकदमै कम रहेकाले बैंकको कर्जा सबैभन्दा सुरक्षित हुने बताउँदै आएका छन्।  

‘बैंकहरुले घरजग्गामा लगानी गरेको ऋण सजिलै उठाउन सक्छन्’, महासंघका अध्यक्ष लोहनीले भने, ‘मिलेमतोमा भ्यालुएसन हुने १ प्रतिशतभन्दा पनि कम हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .