कारोबार


महालेखा प्रतिवेदन : वीरगन्ज सबैभन्दा अपारदर्शी, भरतपुर र काठमाडौं पारदर्शी

महालेखा प्रतिवेदन : वीरगन्ज सबैभन्दा अपारदर्शी, भरतपुर र काठमाडौं पारदर्शी

दायाँबाट क्रमशः भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह। तस्बिर : नेपालखबर


वसन्त अर्याल
बैशाख १, २०८० शुक्रबार १९:१९, काठमाडौँ

वीरगन्ज महानगरपालिकाले सबैभन्दा अपारदर्शी रूपमा काम गरेको पाइएको छ। महालेखाको ६०औँ प्रतिवेदनले भरतपुर महानगर धेरै पारदर्शी र वीरगन्जअपारदर्शी रहेको देखाएको हो। 

वीरगञ्ज महानगरको ७ अर्ब ४३ करोड रुपैयाँको लेखा परीक्षण गर्दा म्याद नाघेको पेस्कीसमेतको बेरुजु ६७ करोड रुपैयाँ देखिएको छ। ८ करोड ७६ लाख रुपैयाँ पेस्की उठाउनु पर्नेछ।  अर्थात् लेखा परीक्षणको तुलनामा बेरुजु ९.१२ प्रतिशत छ। 

महानगरपालिका सञ्चालनमा पारदर्शी देखिएको भरतपुर महानगरको ६ अर्ब ९६ करोड रुपैयाँको लेखा परीक्षण गरेकामा ६६ लाख रुपैयाँ मात्रै पेस्कीसमेतको बेरुजु पाइएको छ। त्यसमा पेस्की १३ लाख रुपैयाँ छ। 

भरतपुरपछि काठमाडौँ महानगरपालिको कारोबार पारदर्शी रहेको महालेखाको प्रतिवेदनमा छ। काठमाडौँ महानगरको २५ अर्ब ४१ करोड रुपैयाँको लेखा परीक्षण गर्दा ६६ करोड १९ लाख पेस्कीसहितको बेरुजु छ।

काठमाडौँ महानगरपालिकाले २९ करोड रुपैयाँ पेस्की उठाउनुपर्ने महालेखा प्रतिवेदनले देखाएको छ। काठमाडौँको बेरुजु २.६० प्रतिशत छ। 

त्यस्तै काठमाडौँसँगै जोडिएको ललितपुर महानगरपालिकाका गतिविधि पारदर्शी देखिएका छैनन्। ललितपुरको ८ अर्ब ७९ करोड रुपैयाँको लेखा परीक्षण गर्दा ६१ करोड रुपैयाँ पेस्कीसमेतको बेरुजु देखिएको छ। जसमा पेस्की मात्रै ४२ करोड रुपैयाँ छ। ललितपुर महानगरमा ७.०४ प्रतिशत बेरुजु देखिएको छ। 

त्यस्तै पोखराको तुलनामा विराटनगर महानगरपालिकाको बेरुजु कम छ। पोखरा महानगरको १२ अर्ब ७४ करोड रुपैयाँको लेखा परीक्षण गर्दा ७० करोड रुपैयाँ पेस्कीसहितको बेरुजु पाइएको छ। ६ करोड रुपैयाँ पेस्की उठाउनुपर्ने छ। विराटनगरको ५ अर्ब ८५ करोड रुपैयाँ लेखा परीक्षण गर्दा २२ करोड रुपैयाँ पेस्कीसहितको बेरुजु छ। २ करोड पेस्की उठाउनु पर्नेछ। ३.९२ प्रतिशत लेखा परीक्षणको तुलनामा बेरुजु देखिएको छ। 

महानगरपालिकाको ६७ अर्ब २१ करोड रुपैयाँको लेखा परीक्षण गर्दा २ अर्ब ९० करोड रुपैयाँ पेस्कीसहित बेरुजु छ। ४.३२ प्रतिशत बेरुजुमा पेस्की मात्रै ८९ करोड रुपैयाँ छ। 

महानगर     बेरुजु प्रतिशत
विराटनगर    ३.९२
वीरगञ्ज       ९.१२
काठमाडौँ     २.६०
ललितपुर      ७.०४
भरतपुर         ०.०९
पोखरा           ५.५४

सम्पत्ति कर असुल कम 
स्थानीय सरकार सञ्चालन ऐनअनुसार महानगरपालिकाले सम्पत्ति र घरबाहल कर उठाउनुपर्छ। वीरगन्ज महानगरपालिकाले १० करोड १६ लाख कर असुल गर्न बाँकी छ।

काठमाडौँ महानगरपालिकाको ३ करोड ६७ लाख, ललितपुर महानगरको १ करोड ७४ लाख र पोखरा महानगरपालिकाको १० करोड रुपैयाँ कम असुल भएको देखिएको छ। भरतपुर महानगरपालिकाले सबै सम्पत्ति कर उठाएको देखिएको छ। 

त्यस्तै घरबहाल करमा वीरगन्ज महानगरपलिकाको ५६ लाख, काठमाडौँ महानगरपालिकाको ११ करोड ७३ लाख असुल हुनुपर्नेमा ८८ लाख मात्रै असुल गरेको छ।

१० करोड ८५ लाख रुपैयाँ बाँकी रकम असुल हुनुपर्ने महालेखा प्रतिवेदनले उल्लेख गरेको छ। ललितपुर महानगरपालिकाले १ करोड, पोखरा महानगरपालिकाले ६ करोड रुपैयाँ घरबहालबापत उठाउनुपर्ने छ। 

काठमाडौँ महानगरका ठेक्का अव्यवस्थित
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा ९ अर्ब ८७ करोड लागत अनुमानका १६४ निर्माण कार्यका लागि ठेक्का आह्वान गरेको थियो। लागत अनुमान ४ अर्ब ७ करोडमा ६० वटा बोलपत्र आह्वान भई मूल्यांकनका चरणमा रद्द भएका छन्। 

‘धेरै ठेक्का अस्वीकृत भएकाले लागत अनुमान तयारीदेखि मूल्यांकन चरणका खर्च उपलब्धिमूलक देखिएन’, प्रतिवेदनले औँलाएको छ। 

त्यस्तै नयाँ र पुराना दुवै बसपार्कसँग सम्बन्धित सम्झौताले महानगरपालिकालाई घाटा भइरहेको देखिएको छ। नयाँ बसपार्क सञ्चालनको ठेक्का पाएको कम्पनीबाट १ करोड कम रोयल्टी र ४९ लाख जरिवाना असुल भएको छैन।

पुरानो बसपार्कको टावर निर्माण गर्न ३० वर्षको ठेक्का २०७१ फागुनमा सम्झौता भएको थियो। सम्झौताअनुसार ५ वर्षभित्र संरचना निर्माण नहुँदा महानगरको रोयल्टी गुमिरहेको छ। 

‘गौतबुद्ध रंगशालामा ६३ करोड खर्च भयो, महानगरले निर्णय गर्नुपर्छ’
निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला द्विपक्षीय सम्झौताबमोजिम धुर्मुस–सुन्तली फाउन्डेसनले बाँकी निर्माण गर्न असमर्थता जनाएको छ। 

भौतिक प्रगति मूल्यांकन गर्न सघन सहरी तथा भवन निर्माण आयोजना चितवन र एक एसोसिएट्सलाई जिम्मेवारी दिएकोमा २०७८ मंसिरमा मूल्यांकन प्रतिवेदन प्राप्त भइसकेको छ।

जसअनुसार लागत अनुमान ४ अर्ब ९८ करोड रुपैयाँ रहेकामा ५० करोड बराबरको निर्माण सम्पन्न भएको छ। 

जसमा व्यवस्थापन खर्च ४ प्रतिशत, बोलपत्रदाताको ओभरहेड १५ प्रतिशत, मूल्य अभिवृद्धिकर १३ प्रतिशत समावेश गर्दा ६३ करोड २२ लाख हुने महालेखा प्रतिवेदनमा उल्लेख गरिएको छ। ३९ करोड ८० लाख रुपैयाँ आम्दानी भएकामा १८ करोड ४३ लाख रुपैयाँ भुक्तानी बाँकी रहेको प्रतिवेदनमा छ। 

‘रंगशाला निर्माण कार्यमा ६३ करोड २२ लाख खर्च भइसकेको र ११ करोड ८४ लाख सरकारी निकायको रकम लगानी भइसकेको अवस्थामा रंगशाला निर्माण कार्यलाई सुचारु राख्नेतर्फ सम्बन्धित निकायबाट आवश्यक निर्णय हुनुपर्छ’, महालेखाको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .