कारोबार


बीमा क्षेत्रमा भारतकै मोडालिटी, डिजिटाइजेसनमा लान के गर्दै छ प्राधिकरण?

बीमा क्षेत्रमा भारतकै मोडालिटी, डिजिटाइजेसनमा लान के गर्दै छ प्राधिकरण?

केशर बोगटी
बैशाख ९, २०८० शनिबार २१:१३, काठमाडौँ

बीमा कम्पनीहरुका सेवा प्रविधिमैत्री नभएपछि नियामक निकाय बीमा प्राधिकरणले नयाँ मोडालिटीको गृहकार्य थालेको छ।

प्राधिकरणले भारतमा सञ्चालित पोलिसी बजार डट कम (अनलाइनबाट बीमा पोलिसी खरिद गर्न सकिने सुविधा) सञ्चालनमा ल्याउने गरी गृहकार्य थालेको हो।  

बीमा कम्पनीहरु डिजिटाइजेसनमा निकै कमजोर देखिएपछि कार्यविधि बनाएर मोबाइल फोनबाट बीमा पोलिसी किन्न मिल्ने मोडालिटी ल्याउन पहिलो चरणको छलफल सकिएको बीमा प्राधिकरणका एक अधिकारीले नेपालखबरलाई जानकारी दिए।  

‘नेपालका बीमा कम्पनी डिजिटलाइजेसनमा निकै पछि छन्’, ती अधिकारीले भने, ‘नेपालमा एग्रिगेटर (पोलिसी बजार) जस्तो अवधारणाअनुसार बीमा गर्न मिल्ने व्यवस्था मिलाउने तयारी भइरहेको छ।’

त्यसको लागि कार्यविधि बनाउन आवश्यक भएकाले अहिले त्यसको व्यापक काम भइरहेको ती अधिकारीले बताए। 

हाल केही बीमा कम्पनीले अनलाइनबाट बीमा पोलिसी खरिद गर्न सकिने व्यवस्था गरेका छन्। तर, केही सीमित पोलिसी मात्र खरिद गर्न पाइने सुविधा छ। 

केही सीमित बीमा कम्पनी सेवा प्रविधिमैत्री भए पनि सीमित पोलिसी मात्र खरिद गर्नसक्ने व्यवस्था हुँदा ग्राहकहरु सुविधाबाट वञ्चित हुनुपरेको छ।  

तर अधिकांश बीमा कम्पनीहरु भने डिजिटलाइजेसनमा अघि बढेका छैनन्। 

बैंक तथा वित्तीय संस्थाहरुले मोबाइलबाट ऋण दिन सुरु गरिसक्दा समेत बीमा कम्पनीहरु डिजिटल हुनसकेका छैनन्। 

डिजिटलाइजेसनमा गएका बीमा कम्पनीहरु पूर्ण स्वचालित प्रणाली (फुल अटोमेसन)मा गएका छैनन्। बीमा कम्पनीहरु फुल अटोमेसनमा जान नसक्दा ग्राहकले समस्या सुविधा लिनसकेका छैनन्।  

बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल बीमा कम्पनीहरु डिजिटलाइजेसनमा पछि रहेको स्वीकार्छन्। 

‘हामीले कम्पनीहरुलाई डिजिटलाइजेसनमा जान भनेका छौँ’, उनले भने, ‘कम्पनीहरु विस्तारै डिजिटलाइजेसनमा जानुपर्छ।’

पछिल्लो समय नेपाली बीमा क्षेत्र डिजिटलाइजेसनको सुरुवातमा रहेको उल्लेख गर्दै उनले नेपालमा एग्रिगेटर ल्याउने गरी लागिरहेको बताए।  
प्राधिकरणले हालै मात्र नयाँ ७ लघुबीमा कम्पनीलाई सञ्चालनको अनुमति दिएको छ। 

लघुबीमा कम्पनीले सानो सानो पोलिसी जारी गर्ने हुँदा मोबाइलबाट पोलिसी गर्न सकिने गरी नयाँ सफ्टवेयर ल्याउने तयारीमा रहेको एक लघुबीमा कम्पनीका सञ्चालकले बताए। 

‘अन्तर्राष्टियस्तरको सफ्टवेयर ल्याउने तयारी गरेका छौँ’, ती सञ्चालकले भने, ‘सानो सानो पोलिसी मोबाइलबाट खरिद गर्नसक्ने व्यवस्था गर्छौँ।’

गाडी घोडाको बीमा पोलिसी अनलाइनबाट किन्न मिल्ने व्यवस्था हुन्छ : क्षेत्री 
बीमक संघ अध्यक्ष तथा सगरमाथा लम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले गाडी, घोडालगायतका बीमा पोलिसी अनलाइनबाट खरिद गर्न मिल्ने व्यवस्था गरिने बताए। 

पछिल्लो समय बीमा कम्पनीहरुले ट्यारिफ (स्थिर भ्यालु) रहने किसिमका पोलिसी अनलाइन वा केही बीमा कम्पनीको वेबसाइटबाट लिन सकिने व्यवस्था गरेको क्षेत्रीको भनाइ छ।   

अधिकांश कम्पनीहरु डिजिटलाइजेसनमार्फत अघि नबढे पनि केही कम्पनी अघि बढेको उनले बताए। 

सगरमाथा इन्स्योरेन्स (हाल सगरमाथा लम्बिनी इन्स्योरेन्स)ले चार वर्षअघि हात हातमा बीमा योजना ल्याई (मोबाइल)बाट पोलिसी खरिद गर्ने व्यवस्था सुरु गरेको क्षेत्रीले बताए। 

‘हाल ट्राभल्स, मेडिकल, मोटर बीमाको (तेस्रो पक्ष बीमा), स्वास्थ्य र घर बीमा पोलिसी अनलाइनबाट खरिद गर्न मिल्छ’, उनले भने, ‘अन्य पोलिसी समेत अनलाइनबाट घरमा बसेर खरिद गर्न सकिने व्यवस्था गर्नेछौँ।’

सर्वसाधारणले बीमा के हो बुझिनसकेको अवस्थामा डिजिटलाइजेसनमा जान अझै केही समय लाग्ने क्षेत्रीको भनाइ छ। 

‘सगरमाथा लम्बिनी इन्स्योरेन्स फुल अटोमेसनमा पुगिसकेको छ’, उनले भने, ‘अन्य कम्पनीहरु पोलिसी खरिद गरेको रकम भेन्डरमा बस्छ र भेन्डरले खबर गरेपछि अर्को दिनमा पोलिसी बनाएर पठाउँछ।’ 

कोभिडयता अनलाइनमार्फत पोलिसी खरिद गर्ने र प्रिमियम भुक्तानी गर्ने क्रम विस्तारै बढिरहेको उनले उल्लेख गरे। 

साथै बीमा कम्पनीहरु डिजिटलाइजेसनमा अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ। 

अहिले तेस्रो पक्ष अर्थात् (थर्ड पाटी बीमा) लगायत केही पोलिसी घरबाटै खरिद गर्न मिल्ने व्यवस्था रहेकोमा विस्तारै कृषि समेत समेट्ने क्षेत्रीले बताए। 

बीमा कम्पनीहरु डिजिटलाइजेसनमा अगाडि बढिरहेका छन् : पाण्डे
सानिमा रिलायन्स इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डे बीमा कम्पनीहरु डिजिटलाइजेसनमा अगाडि बढिरहेको बताउँछन्। 

‘इन्स्योरेन्स सेक्टरमा भर्खरै मात्र आईटीबेस्ड टेक्नोलोजी (सूचना प्रविधिमा आधारित प्रविधि) अपग्रेडेसन हुँदै गएको अवस्था छ’, उनले भने, ‘अपग्रेडेसनबाट टेक्नोलोजीलाई डिजिटलाइज्ड गर्न सकिएन भने व्यवसायमा नै पछि परिने अवस्था छ।’ 

साथै डिजिटलाइजेसन अहिलेको आवश्यकता रहेको उनको भनाइ छ।  

‘बीमा क्षेत्रमा डिजिटलाइजेसन हिसाबले विस्तारै सुधार पनि भइरहेको अवस्था छ’, उनले भने, ‘अझै वर्कआउट गर्नुपर्नेछ। बैंक तथा वित्तीय संस्थाको तुलनामा बीमा कम्पनी डिजटलाइजेसनमा पछि छन्।’

यद्यपि विस्तारै डिजिटलाइजेसनमा बीमा क्षेत्र अघि बढिरहेको पाण्डे बताउँछन्। 

नियमनविना बीमा कम्पनी डिजिटलाइजेसनमा जाँदैनन् : बीमाविज्ञ रविन्द्र घिमिरे 
यता बीमाविज्ञ रविन्द्र घिमिरे नियमनकारी निकायको नियमनविना बीमा कम्पनीहरु डिजिटलाइजेसनमा नजाने बताउँछन्। 

‘प्रविधिको प्रयोग गर्ने कुरा चुनौतीपूर्ण छ, यसको प्रयोगको लागि नयाँ पिँढीको आवश्यकता पर्दछ’, उनले भने, ‘साथै लगानी बढी गर्नुपर्छ। करोडौं रुपैयाँ लाग्छ।’ 

मोबाइल बैंकिङ आएको धेरै भए पनि अझै मानिसहरुले त्यसको प्रयोग नगरेको उनको दाबी छ।  

‘डिजिटलाइजेसनमा विश्वास नगरेका कारण पनि हुन सक्छ’, उनले भने। 

बीमा कम्पनीहरु डिजिटलाइजेसन जान जरुरी रहेको भन्दै उनले कुनै संस्थामा परिवर्तन ल्याउन गाह्रो हुने बताए। 

‘जस्तै, पहिले चक डस्टरले पढाउने व्यवस्थापछि मार्कर हुँदै अहिले मल्टिमिडिया आयो’, उदाहरणसहित उनले थपे, ‘कतिपय मान्छेले मल्टिमिडिया प्रयोग गर्न जान्दैनन्। त्यस्तै हो यो पनि।’ 

अमेरिकामा पोलिसी किन्नुपर्यो भने बीमा कम्पनीको वेबसाइटमा गएर कुन पोलिसी किन्ने हो क्लिक गरेर आफूलाई आवश्यक प्रिमियम खरिद गरी बैंक एकाउन्टबाट पैसा भुक्तानी गर्न किल्ने व्यवस्था रहेको उनले बताए। 

‘उसको खातामा पैसा जम्मा भएपछि पोलिसी इमेलमार्फत पठाइदिन्छ’, घिमिरेले भने।  

पूर्ण रुपमा बीमा कम्पनीहरु डिजिटलाइजेसनमा गए अहिले देखिएका अनेक विकृति निर्मूल हुने उनले बताए। 

के छन् चुनौती?
नेपालमा बीमा प्रविधिमैत्री बनाउन आवश्यक भए पनि जानसकेका छैनन्। 

केही बीमा कम्पनीहरु डिजिटलाइजेसनमा गए पनि अझै अनेक चुनौती रहेको जानकार बताउँछन्।  

नेपालमा बीमा गरेका सवारीसाधन हराइसकेपछि त्यसलाई रोक्ने ट्राकिङ सिस्टम नै छैन। विदेशमा इम्बोस्ड नम्बरबाट हराएको मोटर कहाँ छ, थाहा हुन्छ। 

नेपालमा भने हराइसकेपछि प्रहरीमा जानकारी गराएको तीन महिना बित्दा समेत मोटरसाइकल भेटिँदैन। अनि बीमा कम्पनीहरुले दाबी भुक्तानी तिर्नुपर्छ। यो पनि एउटा चुनौती हो। 

साथै बीमा कम्पनीको सफ्टवेयर नै पुरानो अर्थात् काम चलाउ मात्र भएको एक जानकार बताउँछन्।  

‘बीमा कम्पनीहरु डिजिटलाइजेसनमा जान नयाँ सफ्टवेयर ल्याउनुपर्छ’, उनले भने, ‘नयाँ सफ्टवेयर ल्याउन १५÷२० करोडको खर्च गर्नुपर्छ। साथै हामीकहाँ रिसोर्स पनि छैन।’

बीमा कम्पनीहरुले अहिले पनि पुरानो तरिकाबाट काम गरिरहेका छन्। उनीहरु डिजिटलाइजेसनमा जाँदा नयाँ सफ्टवेयर र दक्ष जनशक्ति आवश्यक हुन्छ। 

‘बीमा पोलिसी अनलाइनबाट खरिद गर्नु इमेलबाट सामान बिक्री गरेजस्तो हैन’, उनले भने, ‘कुनै घरको बीमा गर्दा घरको फोटो, भिडियो खिचेर अपलोड गर्नुपर्यो। इन्जिनियरिङ डकुमेन्ट अपलोड गर्नुपर्यो। नागरिकता, लालपुर्जादेखि १५/२० डकुमेन्ट स्क्यान गरी अपलोड गर्नुपर्‍यो।’

सेक्युरिटी साथ पोलिसी बिक्री गर्न राम्रो किसिमको सफ्टवेयर चाहिन्छ। एउटै सफ्टवेयरलाई १०/१२ करोड चाहिने हुँदा बीमा कम्पनीहरु त्यो खर्च गर्न चाहन्छन् वा चाहँदैनन् भन्ने पनि मुख्य चुनौती देखिएको ती अधिकारी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .