कारोबार


बढ्दो डिजिटल भुक्तानी : थपिँदै छ कारोबार र डेटा सुरक्षाको चुनौती

बढ्दो डिजिटल भुक्तानी : थपिँदै छ कारोबार र डेटा सुरक्षाको चुनौती

केशर बोगटी
बैशाख १३, २०८० बुधबार १८:१६, काठमाडौँ

नेपालमा पछिल्लो समय डिजिटल कारोबार निरन्तर उकालो लागिरहेको छ। 

कोभिड महामारीपछि मोबाइल र इन्टरनेटबाट गरिने डिजिटल रकम भुक्तानी निरन्तर बढ्दै गइरहेको हो। 

कोरोना भाइरस महामारीबीच सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था तथा अनलाइन सेवाको बढ्दो उपयोगका कारण इन्टरनेट माध्यमबाट गरिने कारोबारमा वृद्धि भइरहेको जानकारहरू बताउँछन्।

वि.सं. २०७७ देखि गत फागुनसम्मको तथ्यांक हेर्दा डिजिटल कारोबार उच्च दरले बढेको नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल बताउँछन्।

पछिल्लो समय सानातिना किनमेललाई क्यूआर कोडमार्फत डिजिटल भुक्तानीको दायरामा ल्याउने विषयमा उल्लेख्य प्रगति भएको उनको भनाइ छ।

उनका अनुसार बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ संस्थामार्फत डिजिटल कारोबार बढेको छ। सुरुवाती समयमा डिजिटल कारोबारमा अनेक चुनौती देखिए पनि अहिले चुनौती नरहेको पौडेलले बताए। 

निरन्तर बढ्दै छ डिजिटल कारोबार 
अघिल्ला वर्ष मासिक ३ अर्ब हाराहारीमा रहेको क्यूआर कोड भुक्तानी बढेर पछिल्लो समय मासिक २० अर्ब बढी पुगेको छ। 

‘अन्य उपकरणहरूको हकमा पनि ठूलो वृद्धि देखिएको छ’, पौडेलले भने।

खुद्रा भुक्तानीतर्फ क्यूआर र ठूला कारोबारका लागि आरटीजीएस (रियल टाइम ग्रस सेटलमेन्ट)मा पनि उल्लेख्य प्रगति देखिएको उनले बताए।

‘वि.सं. २०७७ यता डिजिटल कारोबारमार्फत हुने भुक्तानीले ठूलो फड्को मारेको देखिन्छ’, पौडेलले भने।

नेपालमा सामान्य कारोबार बढेर दोब्बर/तेब्बर भए प्रतिएकाइ शुल्क अझै सस्तो हुँदै जाने पौडेलको भनाइ छ। 

आरटीजीएसमा फागुन महिनामा मात्रै करिब २३ खर्बको कारोबार भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। 

पछिल्लो एक वर्षमा औसतमा भने आरटीजीएसमार्फत ३० खर्बको कारोबार भएको छ। 

२०७७ अघितिर यस्तो कारोबार १२/१५ खर्ब थियो। भुक्तानीको प्रणालीमा ठूला कारोबार आरटीजीएसबाट हुन्छ भने खुद्रास्तरका कारोबारमा वालेट, क्यूआर कोड र कार्ड भुक्तानी हुने उनले बताए। 

छिमेकी देशहरुको तुलनामा नेपालमा डिजिटल कारोबार शुल्क सस्तो रहेको पौडेलको भनाइ छ। 

कस्तो छ अवस्था ? 
राष्ट्र बैंकको तथ्यांक २०७८/०७९ अनुसार नेपालमा १५ वटा पेमेन्ट सिस्टम अपरेटर पीएसओ छन् भने २८ वटा भुक्तानी सेवा प्रदायक छन्। फागुनसम्मसम्म देशैभर ४,७१३ एटीएम छन्।

डेबिट कार्डको सख्या १ करोड १८ लाख ७४ हजार ६४९ र क्रेडिट कार्ड संख्या २ लाख ८२ हजार २६ छ।

मोबाइल बैंकिङ प्रयोगकर्ताको खंख्या २ करोड ६५ लाख २६७ जना छ भने इन्टरनेट बैंकिङका ग्राहक संख्या १७ लाख ७९ हजार १३४ पुगेका छन्।

फागुन एक महिनामा मात्रै डिजिटलमार्फत ७ करोड ९९ लाख पटकको कारोबार हुँदा ३६ खर्ब ६५ अर्ब रुपैयाँको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ। 

आर्थिक वर्ष २०७८/०७९ फागुनमा डिजिटल कारोबार संख्या ५ करोड ६८ लाख पटक हुँदा ५१ खर्ब १२ करोडको कारोबार भएको थियो । 

गत वर्षको तुलनामा चालू आवको माघमा कारोबार रकम भने घटे पनि कारोबार संख्या भने बढ्दै गइरहेको छ। 

प्रविधिमा आधारित भएको र बजारले निर्देश गर्ने भएकाले विद्युतीय भुक्तानी प्रणाली अघि बढ्दै गएको अधिकारीहरू बताउँछन्। 

केमा बढी भुक्तानी? 
पौडेलका अनुसार युटिलिटी पेमेन्टमा (धारा, बिजुलीजस्ता सेवाको महसुल भुक्तानीमा) सबैभन्दा बढी ग्राहकहरूको आकर्षण देखिन्छ। 

वालेट र मोबाइल बैंकिङमार्फत विद्युत महसुल वा हवाईजहाजको टिकट खरिद गर्ने जस्ता कार्यहरू भइरहेका छन्। त्यसबाहेक कनेक्ट आईपीएस प्रणाली एकअर्काको खातामा रकम पठाउन अधिक प्रयोग गरिने गरेको पाइन्छ। 

अलग–अलग प्रणालीको अलग–अलग प्रवृत्ति छ। त्यसैगरी क्रेडिट कार्ड र डेबिट कार्डहरू पीओएस मेसिनमा चल्ने हुन्छ भने कन्टयाक्टलेस कार्डहरू पनि विस्तारै आएका छन्।  

पौडेलका अनुसार वालेटको प्रयोग भने युटिलिटी पेमेन्टमा बढी भएको देखिन्छ। 

त्यस्तै क्यूआर कोडबाट कारोबार गर्दा प्रयोगकर्ताहरूमा आफ्नो रकम सुरक्षित हुन्छ कि हुँदैन भन्ने कुराको अझै सुनिश्चितता हुन नसकेको देखिएको राष्ट्र बैंकका एक पूर्वकार्यकारी निर्देशकले जनाए। 

कति सुरक्षित छ डिजिटल कारोबार? 
नेपालमा डिजिटल भुक्तानीको अनुपात बढ्नु राम्रै रहे पनि गोपनीयता र सुरक्षाबारे भने निकै ध्यान दिइनुपर्ने जानकारहरू बताउँछन्।

विकसित मुलुकहरूको तुलनामा प्रविधिबारे जानकार सर्वसाधारणहरूको अनुपात कम भएको र कम साक्षर जनसंख्यामा पनि यो प्रविधिको पहुँच स्थापित हुन सक्ने हुँदा निकै चनाखो हुनुपर्ने बताइन्छ।

केही अघि सुर्खेतमा मोबाइल बैंकिङको फ्रडदेखि रोमानियादेखि नाइजेरियासम्मका मानिसहरूबाट एटीएमको पिन कोड चोरेर पैसा झिक्ने पटक–पटक भइरहेको छ। 

नक्कली हस्ताक्षर गरेर बैंकबाट नगद झिक्ने पनि घटनाहरु पनि भइरहेका छन्।  

जसकारण कारोबारको सुरक्षा एउटा कुरा हो। अर्को कुराचाहिँ जुन तथ्यांक हुन्छ, आँकडा हुन्छ वा डेटा हुन्छ त्यसको सुरक्षा एकदमै महत्त्वपूर्ण कुरा छ ।

गत मंसिरमा नेपालका विभिन्न बैंकमा एटीएम मेसिनबाट नक्कली एटीएम प्रयोग गरी रकम निकाल्ने टर्कीका नागरिकलाई केन्द्रीय अनुसन्धानको ब्युरोले ठमेलबाट पक्राउ गरेको थियो। उनले विभिन्न आधा दर्जन बैंकबाट रुपैयाँ निकालेका थिए। 

करिब पाँच वर्षअघि विदेशमा रहेका नेपालीको क्रेडिट कार्डको डाटा ह्याक गरी पैसा निकाल्ने समूहलाई समेत प्रहरीले पक्राउ गरेको थियो। 

पौडेल भुक्तानी सेवा प्रदायकहरूलाई विश्वस्तरीय सफ्टवेयर प्रयोग गर्न र त्यसलाई समय–समयमा अद्यावधिक र परीक्षण गरिरहन निर्देशन नै दिएको बताउँछन्। 

तर डिजिटल भुक्तानीसम्बन्धी सर्वसाधारणहरूनै बढी सचेत हुनुपर्ने उनको तर्क छ।

‘कम्तीमा पनि खाता नम्बर, पिन कोड अरूलाई उपलब्ध गराउनु भएन’, पौडेलले भने, ‘म्यासेजहरूमा झुक्किनुभएन। र आफ्नो विवरण सुरक्षित राख्ने प्रयास गर्नुपर्यो। कसैले विवरण माग्यो भन्दैमा दिन भएन।’

वित्तिय साक्षरताको लागि समेत थप काम भइरहेको उनी बताउँछन्। 

एनएमबी बैंकका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मीका अनुसार डिजिटल कारोबार सुरक्षा चुनैती नरहेको बताउँछन्। 

‘नेपालमा डिजिटल कारोबार बढ्दै गइरहेको छ’, उनले भने, ‘कारोबार बढ्दा केही चुनौती छन्। सिस्टमको तुलनामा ग्राहकको चेतना कमीका कारण डिजिटल कारोबारमा बढी चुनौती देखिएको छ।’

उनका अनुसार नेपालमा डिजिटल बैंकिङ बढाउन कोभिडले सकारात्मक भूमिका खेलेको छ। 

‘कोभिडको नेगेटिभ पाटो भए पनि डिजिटल बैंकिङको लागि फ्युल (इन्धन)को काम गर्यो’, उनले भने, ‘अझै कारोबार बढाउन जनचेतना फैलाउन आवश्यक छ ।’

साथै हाम्रो वरिपरिको देशहरुको तुलनामा नेपालमा डिजिटल बैंकिङको कारोबार शुल्क न्यून रहेको रेग्मीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .