ad ad

कारोबार


समस्याग्रस्त ४ सहकारीले फर्काए बचतकर्ताको पैसा, धमाधम उठ्न थाल्यो ऋण

समस्याग्रस्त ४ सहकारीले फर्काए बचतकर्ताको पैसा, धमाधम उठ्न थाल्यो ऋण

फाइल तस्बिर


केशर बोगटी
बैशाख १६, २०८० शनिबार १२:४२, काठमाडौँ

सरकारले समस्याग्रस्त घोषणा गरेका चार सहकारीले बचतकर्ताको पैसा फिर्ता गरेका छन्।

चार्टर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, कुबेर बचत तथा ऋण सहकारी, सोसाइटल बचत तथा ऋण सहकारी र स्ट्यान्डर्ड मल्टीप्रपोज को–अपरेटिभ सहकारीका बचतकर्ताले पैसा फिर्ता पाएका हुन्। 

सहकारी ऐन, २०७४ अनुसार सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७५/०७६ मा यी ४ वटै सहकारीलाई समस्याग्रस्त घोषित गरेको थियो।

सहकारी व्यवस्थापन समितिका सदस्य सचिव केशवप्रसाद पौडेलका अनुसार चारवटै सहकारी समस्याग्रस्त हुँदा २८० जना बचतकर्ताले साढे १६ करोडको हाराहारीमा माग दाबी गरेका थिए।

मागदाबी गर्ने सबै बचतकर्तालाई पैसा फिर्ता गरिएको उनले जानकारी दिए।

‘समस्याग्रस्त स्ट्यान्डर्ड मल्टिपर्पोज कोअपरेटिभ लिमिटेडका सबै बचतकर्ताको पैसा फिर्ता गरेका छौँ’, उनले भने, ‘गत वर्ष १४ जना बचतकर्तालाई १ करोड २६ लाख रूपैयाँ भुक्तानी गरेका थियौँ।’

चालू आर्थिक वर्ष बाँकी दुई जनाको बचत फिर्ता गरेको पौडेलले बताए। माग दाबी गर्ने सबै बचतकर्ताको पैसा फिर्ता गरी प्रतिवेदन मन्त्रालय पठाइएको उनले बताए। 

‘सबै बचतकर्ताको पैसा फिर्ता गर्न सफल भएका छौँ’, उनले भने। 

यता कुबेर बचत तथा ऋण सहकारीका बचतकर्ता समेत पैसा फिर्ता गरिएको पौडेलले जानकारी दिए। 

चार्टर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ र सोसाइटल बचत तथा ऋण एक महिनाभित्र राफसाफ गरी प्रतिवेदन तयार गरिने उनको भनाइ छ।  

‘अन्य समस्याग्रस्त सहकारीको जग्गा लिलामीको प्रक्रियामा छ। बिस्तारै बचतकर्तालाई पैसा फिर्ता गर्छौँ’, पौडेलले भने।

ऋणीले धमाधम ऋण चुक्ता गर्न थाले 
यता सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका ऋणीहरु पनि आफूले लिएको ऋण तिर्न थालेका छन्। 

लामो समयदेखि सम्पर्कविहीन सहकारीमा ऋणीले पछिल्ला ऋण तिर्न थालेको सदस्यसचिव पौडेलले बताए। 

सरकारले २०७४ सालमा ओरेण्टल को–अपरेटिभ, २०७५ सालमा १० सहकारी र २०७६ सालमा लुःनिभा बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो। 

‘यी सहकारीमा ऋणी बल्ल आएर ऋण तिर्न सुरु गरेका छन्’, पौडेलले भने, ‘अहिले दैनिक ५० हजारदेखि ४÷५ लाखसम्म उठ्न थालेको छ।’

ऋणीहरु आफैँ समितिको कार्यालयमा आएर ऋण तिर्नथालेको पौडेल बताउँछन्। 

‘यसअघि सम्पर्कमा नआएका ऋणीहरु समितिको कार्यालय खोज्दै आउनथालेका छन्’, उनले भने, ‘पैसा उठ्दै गर्दा अब प्राथमिकताअनुसार साना बचतकर्तालाई पैसा फिर्ता गरिरहेका छौँ।’

पछिल्लो समय निरन्तर ऋण उठ्न थालेपछि बचतकर्तालाई पैसा फिर्ता गर्ने काम तीव्रताका साथ भइरहेको पौडेलले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .