कारोबार


घर जग्गा र शैक्षिक क्षेत्रमा बढ्यो बैंकहरूको लगानी, सेयर धितोमा बढेन

घर जग्गा र शैक्षिक क्षेत्रमा बढ्यो बैंकहरूको लगानी, सेयर धितोमा बढेन

केशर बोगटी
बैशाख ३१, २०८०, आइतबार , काठमाडौँ

चालु आर्थिक वर्ष २०७९/०८०को चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाले घरजग्गा क्षेत्रमा लगानी बढाउन थालेका छन्। शैक्षिक क्षेत्रमा जाने कर्जा गत वर्षको तुलनामा बढेर दोब्बर नै पुगेको छ। 

आर्थिक संकट तथा सरकारले जग्गा कित्ताकाटमा गरेको निर्णयले यस क्षेत्रमा लगानी ह्वात्तै घटेको थियो। तर, पछिल्ला दिनहरूमा घरजग्गा क्षेत्रमा लगानी बढ्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। 

पछिल्लो समय टर्म लोन समेत बढ्दै गइरहेको छ। त्यसैगरी सेयर धितो कर्जा र हायर पर्चेज लगायतका क्षेत्रमा कर्जा घट्दै गइरहेको तथ्याकंले देखाउँछ। 

चालु आर्थिक वर्षको चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर सेयरमा लगानी गर्ने लगानीकर्ता घटेका छन्। 

तरलता अभावले बैंकको कर्जा प्रवाह क्षमता घटेको, ब्याजदर बढेको, राष्ट्र बैंकको नीतिगत हस्तक्षेपलगायत कारणले सेयर कर्जा घटेसँगै ऋण लिएर सेयरमा लगानी गर्ने लगानीकर्ता पनि घटेको जानकारहरू बताउँछन ।

आर्थिक वर्ष २०८९/०८० को चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले १२ लगानी क्षेत्रहरुमा ४८ खर्ब ६४ अर्ब ७९ करोड १ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्ष सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ३१ अर्ब ७७ करोड १ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। 

गत वर्षको तुलनामा बैंक तथा वित्तीय संस्थाहरूले चैत मसान्तमा यी क्षेत्रमा कर्जा प्रवाह बढाएका छन्। 

सेयर धितो कर्जामा गिरावट 
चालु आवको चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर दिने कर्जा घटाएका छन्। 

आर्थिक वर्षको सुरुवातदेखि नै लगानी योग्य रकम (तरलता) समस्या झेल्दै आएका वित्तीय संस्थाले सेयर धितो राखिदिने कर्जा घटाएका हुन्। 

यता सेयर बजारमा निरन्तर देखिएको गिरावट र तरलता समस्याबीच बैंकहरूले सेयर धितो राखेर दिने कर्जा घटाएको एक बैंकरले बताए। साथै २५ करोडमा माथिको कर्जाको जोखिम भार समेत डिमान्ड समेत घटेको ती बैंकरको भनाई छ। 

आर्थिक वर्षको चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले ७५ अर्ब १० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्। 

गत वर्ष सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ९४ अर्ब ५९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए। गत वर्षको तुलनामा सेयर धितोकर्जा १९ अर्ब ४९ करोड रुपैयाँ कम हो। 

बैंक तथा वित्तीय संस्थाले चैत मसान्तसम्ममा एक करोड माथिको सेयर धितोकर्जा वापत ४३ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्ष सोही अवधिमा बैंकहरूले ५८ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। 

त्यसैगरी ५० करोडदेखि १ करोडसम्ममको सेयर धितो कर्जामा बैंक तथा वित्तीय संस्थाहरूले ११ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष सोही अवधिमा यस्तो कर्जा ११ अर्ब ८६ करोड प्रवाह गरेका थिए। 

यता २० देखि ५० करोडसम्ममा सेयर धितो कर्जा समेत घटेको छ। चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले यस्तोमा १२ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। २५ लाखसम्मको सेयर धितो कर्जा समेत घटेको छ। चैत मसान्तसम्ममा ६ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्ष सोही अवधिमा बैंकहरुले ८ अर्ब ८१ करोड रुपैयाँ  कर्जा प्रवाह गरेका थिए। 

शैक्षिक कर्जा दोब्बर 
चैत मसान्तसम्ममा शैक्षिक कर्जा र क्रेडिट कार्ड लोन बढेको छ। चैत मसान्तसम्ममा ४२ अर्ब २१ करोड शैक्षिक कर्जा गएको छ। गत वर्ष सोही अवधिमा शैक्षिक कर्जा २२ अर्ब १३ करोड थियो। 

गत वर्षको तुलनामा यस क्षेत्रमा कर्जा प्रवाह दोब्बर भएको छ। 

त्यसैगरी क्रेडिट कार्डमार्फत कर्जा ४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकहरुले यसमा ३ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। 

घर जग्गा तथा रियल स्टेट क्षेत्रमा २ खर्ब ३९ अर्ब कर्जा 
बैंक तथा वित्तीय संस्थाले घर जग्गामा जाने कर्जा बढाएका छन्। घर जग्गा कारोबारमा वित्तीय संस्थाहरुले २ खर्ब ३९ अर्ब रुपैयाँ प्रवाह गरेका छन्।

गत वर्ष सोही अवधिमा घर जग्गमा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ९९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। 

त्यसैगरी वित्तीय संस्थाले चैत मसान्तसम्ममा घर जग्गा (१५ लाख सम्मको व्यक्तिगत घर ऋण बाहेक) ६४ अर्ब ७० करोड कर्जा प्रवाह गरेका छन्। गत वर्ष सोही अवधिमा यस क्षेत्रमा बैंकहरुले ४८ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। 

वित्तीय संस्थाले कमर्शियल कम्प्लेक्स र आवासीय अपार्टमेन्ट निर्माण क्षेत्रको लगानी बढाएका छन्। गत वर्ष चैत मसान्तमा वित्तीय संस्थाले कमर्शियल कम्प्लेक्स र आवासीय अपार्टमेन्ट निर्माण क्षेत्र २४ अर्ब ८५ करोड गरेको कर्जा प्रवाह यो वर्षको चैतसम्ममा बढेर २८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। 

अन्य घरजग्गा (जग्गा खरिद र प्लटिङ सहित) क्षेत्रमा १ खर्ब ३४ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्ष सोही अवधिमा बैंकहरुले यस क्षेत्रमा १ खर्ब १८ अर्ब ८ करोड लगानी गरेका थिए। 

त्यसैगरी आय उत्पन्न वाणिज्य परिसरमा क्षेत्रको कर्जामा बैंकहरूले ११ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गतवर्ष सोही अवधिमा बैंकहरुले यस क्षेत्रमा ७ अर्ब ६९ करोड लगानी गरेका थिए। यता जग्गा खरिद तथा प्लटिङ क्षेत्रको कर्जामा ३९ अर्ब ३७ करोड, तोकिएको उद्देश्य बिना छ वा सो भन्दा माथिको क्षेत्रमा ६९ अर्ब २९ करोड र अन्य क्षेत्रको कर्जामा २५ अर्ब ५४ करोड कर्जा प्रवाह गरेका छन्। 

व्यक्तिगत घर कर्जामा सोढ ३ खर्ब लगानी 
बैंक तथा वित्तीय संस्थाले १५ लाखसम्मको व्याक्तिगत घर कर्जा बढाएका छन्। वित्तीय संस्थाले चैत मसान्तसम्ममा ३ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्ष सोही अवधिमा १५ लाखसम्मको व्याक्तिगत घर कर्जा वापत ३ खर्ब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। 

गत वर्षको तुलनामा व्याक्तिगत घर कर्जामा बैंकहरुले कर्जा लगानी बढाएका छन्। 

हायर पर्चेज कर्जा घट्यो 
बैंक तथा वित्तीय संथाले हायर प्रर्चेज कर्जा घटाएका छन्। चैत मसान्तसम्ममा बैंकहरूले १ खर्ब ३४ अर्ब रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह गरेको छ। गत वर्ष सोही अवधिमा वित्तीय संस्थाहरूले १ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। 

१४ खर्ब २५ अर्ब ‘टर्म लोन’
बैंक तथा वित्तीय संस्थाहरुले टर्म लोन वापत १४ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। पछिल्लो समय बैंकहरुको टर्म लोन कर्जा बढाएका छन्। गत वर्ष सोही अवधिमा बैंकहरूले १० खर्ब ९६ अर्ब रुपैयाँ टर्म लोन प्रवाह गरेका थिए।

बैशाख ३१, २०८०, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .