ad ad

कारोबार


तरलता सहज बने पनि बैंकले यसकारण दिन सक्दैनन् ऋण

तरलता सहज बने पनि बैंकले यसकारण दिन सक्दैनन् ऋण

केशर बोगटी
जेठ ६, २०८० शनिबार १९:२२, काठमाडौँ

पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सहज बन्दै गएकोे छ। वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५ प्रतिशत तल आइपुगेको छ। यसले पनि बैंकहरुको कर्जा लगानी क्षमता ५ प्रतिशत रहेको देखाउँछ।

बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो जति कम हुन्छ, त्यति नै बढी बैंकहरुसँग लगानीयोग्य रकम छ भन्ने बुझिन्छ। 

आर्थिक वर्ष २०७९/०८० को सुरुमा ८९ प्रतिशत रहेको सीडी रेसियो सुधार हुँदै ८४.९२ प्रतिशतमा झरेको छ। सीडीमा आएको ५ प्रतिशतको सुधारले लगानी योग्य रकम बढ्दै गएको देखिन्छ। 

२०८० जेठ १ गतेसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरुमा ५४ अर्ब ८४ अर्ब रुपैयाँ निक्षेप रहकोमा ४८ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। 

नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई कर्जा निक्षेप अनुपात रकमको ९० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरिदिएको छ। 

सीडी रेसियोलाई हेर्दा बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ७५ अर्ब रुपैयाँ बढी कर्जा लगानी क्षमता देखिन्छ। 

यता, वाणिज्य बैंकसँगै ४८ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा उनीहरुले ४२ खर्ब ९४ अर्ब रुपैयाँ लगानी गरेका छन। यबिवेला वाणिज्य बैंकहरुसँग मात्रै २ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा लगानी क्षमता छ। 

सीडी रेसियोलाई हेरेर बैंक तथा वित्तीय संस्थाको लगानी क्षमता एकिन नहुने जानकारहरु बताउँछन्। 

सीडी रेसियोमा स्थानीय तहको पैसा, डिबेञ्चर (ऋणपत्र) र रि–फाइनान्सिङ (पुनर्लगानी) र विदेशबाट ल्याएको ऋण समेत जोडिन्छ। 

यसकारण सीडी रेसियोले देखाएको जति सबै रकम भने बैंकहरुले लगानी गर्न भने सक्दैनन्। तर, पछिल्लो समय बैंकहरुसँग कर्जा लगानी क्षमता बढ्दै गएको देखिन्छ। 

बैंकहरुले चाहेर पनि कर्जा विस्तार गर्न सक्ने अवस्था छैन : नरबहादुर थापा 
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा अधिक तरलता भए पनि बैंकहरु कर्जा प्रवाह गर्न नसक्ने बताउँछन्। थापाका अनुसार चालू पुँजी कर्जाको मागदर्शनले बैंकहरुलाई धेरै कर्जा प्रवाह गर्न दिँदैन। 

‘चालु पुँजी कर्जा मापदण्डका कारण अब बैंकहरुको धेरै कर्जा जाने देखिँदैन,’ थापाले भने, ‘अहिलेको सुधारको साइकल पूरा नभएसम्म बैंकहरुमा अधिक तरलता भए पनि दिन सक्ने अवस्था देखिँदैन।’

चालू पुँजी कर्जा मापदण्डले गर्दा ऋणीले समेत खुरुखुरु ऋण नलिने थापाको भनाइ छ। 

‘पहिले बैंकहरुबाट पहुँचवालाहरुले कर्जा लिइरहेका थिए। अब उनीहरु ऋण लिँदैनन्,’ उनले भने, ‘ऋण लिएपछि तिर्नुपर्छ र ऋण तिरेनन् भने खराब कर्जा बढ्छ  र, त्यसको कर्जा नोक्सानी समेत छुटयाउनु पर्छ। जसले गर्दा बैंकहरुले सहजै कर्जा दिने अवस्था देखिँदैन।’

चालु पुँजी कर्जामा भएको कालोसूचीको व्यवस्थाले गर्दा अधिकांश ऋणीले थप ऋण नलिने थापा बताउँछन्। 

‘कालोसूची व्यवस्थाले गर्दा न त पैसा लिनेले लिन्छ न त दिनेले नै दिन्छ,’ उनले भने, ‘कालोसूचीमा परियो भने छोराछोरीलाई विदेश पढ्न, डकुमेन्ट बनाउन समस्या आउँछ। जसले गर्दा पनि ऋणीहरुले त्यो जोखिम मोलेर ऋण लिने कुरा भएन।’ 

राष्ट्र बैंकले बैंकहरुलाई कर्जा लगानी गर्न रोकेको छैन : श्रेष्ठ
राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका प्रमुख प्रकाशकुमार श्रेष्ठ भने बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत हुँदासम्म कर्जा प्रवाह गर्न पाउने उल्लेख गर्छन्। 

साथै बैंकहरुलाई कर्जा लगानीमा राष्ट्र बैंकले कुनै बन्देज नगरेको उनी बताउँछन्। 

आर्थिक वर्ष २०७९/०८० मा अधिकांश बैंकहरुको प्राथमिक पुँजी कोष (सीसीएआर) कसिलो हुँदा सहज कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा रहेको श्रेष्ठको भनाइ छ।   

‘सीडी (रेसियो) हेर्दा बैंकहरुसँगै करिब ५ प्रतिशत लगानी गर्न सक्ने क्षमता देखिएको छ,’ उनी भन्छन्न, ‘अधिकांश बैंकहरुलाई सीसीएआरको चाप हुँदा सहज रुपमा कर्जा प्रवाह गर्नसक्ने स्थिति देखिन्न।’

लगानीयोग्य रकम थपिँदै जान्छ : युवराज खतिवडा 
पूर्वअर्थमन्त्री युवराज खतिवडाले लगानी योग्य रकम (तरलता) बढ्दै जाने बताए। 

‘विस्तारै तरलता बढ्दै जान्छ, कर्जाको ऋण चुक्ता हुने समय पनि आउँदैछ र थप कर्जा नजाने बेला पनि यही हो,’ उनले भने, ‘आर्थिक वर्ष २०७९/०८० को अन्तसम्म तरलता अझै बढ्दै जान्छ।’

तरलता बढ्दै गए पनि बैंकहरु कर्जा नवीकरण गर्न डराइरहेको उनको भनाइ छ।

‘बैंकहरु कर्जा नवीकरण गर्न डराइरहेका छन, यसअघि लिएको ऋण तिर्न पुनः ऋण लिने (एभरग्रिनिङ) घट्दो छ,’ उनले भने, ‘बैंकहरुको खराब कर्जा बढ्दै गइरहेकोले होला, नयाँ कर्जा दिने अवस्थामा देखिएका छैनन्। र, यसै पनि बैंकहरु बजेटलाई पर्खिरहेका छन्।’

कर्जाको ब्याजदर घट्दै जाने आशामा माग समेत कम रहेको उनको भनाइ छ।

‘कर्जाको ब्याजदर तत्कालै एकल अंकमा आउने देखिँदैन,’ उनले भने, ‘ब्याजदर तल आउला र त्यो अनुसार लगानीको व्यवस्था गरौँला भनेर व्यवसायी बसिरहेको देखिन्छ।’

बैंकहरुको ५० प्रतिशत निक्षेप त ११/१२ प्रतिशतमा उठाएकाले घाटामा कर्जा दिने अवस्था नदेखिएको उनी बताउँछन्। 

‘कर्जाको माग नै न्यून छ’
पछिल्लो समय कर्जामा माग न्यून रहेको एक बैंकरले बताए। 

‘बैंकहरु कर्जा लगानी गरिरहेका छन्,’ उनले भने, ‘कर्जाको डिमान्ड कम छ। ब्याजदर अझै घट्ने आशामा हो या अन्य कारण, पछिल्लो समय कर्जाको माग न्यून छ।’

अहिले वातावरण अनुकूल नहुँदा सबै क्षेत्रमा लगानी गर्न बैंकहरु हिच्किचाउने ती अधिकारीको भनाइ छ। 

‘अहिले लगानी गर्ने वातावरण बनेको छैन। राजनीति र पोलिसीमा स्थिरता नआएसम्म सहजै लगानी गर्नसक्ने अवस्था देखिँदैन,’ उनले थपे, ‘अहिले पोलिसीमा स्थिरता छैन, जसकारण उद्यमी व्यवसायी आफँै पनि ऋण लिएर कारोबार गर्न चाहँदैनन्।’

कर्जा पाउनेबित्तिकै उद्यमी व्यवसायीले उत्साहित भएर कर्जा लिइहाल्नुपर्ने अवस्था पनि नदेखिएको उनले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .