ad ad

कारोबार


सेयर बजारको उकालो यात्राले पाउला त निरन्तरता?

सेयर बजारको उकालो यात्राले पाउला त निरन्तरता?

केशर बोगटी
जेठ १३, २०८० शनिबार ८:५१, काठमाडौँ

पछिल्लो समय सेयर बजारले उकालो यात्रा तय गरिरहेको छ। गत जेठ २ गतेबाट बढ्न थालेको बजार त्यसपछिका ८ कारोबार दिनमा निरन्तर बढिरह्यो। फलस्वरुप यो ८ दिनमा बजार १४० अंकको वृद्धि भएको छ।

यो वृद्धिलाई लिएर यतिबेला सेयर लगानीकर्ताहरु फेरि बजारले लय समातेको आशा गरिरहेका छन्। 

विश्लेषकहरुले अर्थतन्त्रमा देखिएको सुधार र ब्याजदरको घट्दो क्रमलाई हेरेर बजार बढ्न थालेको बताउँछन्। सेयर किनबेच गर्ने लगानीकर्ताको उपस्थिति समेत बढ्न थालेको छ। 

झन्डै १८ सय विन्दुमा झरेको बजार पुनः उकालो लाग्न थालेसँगै लगानीकर्ताहरु उत्साहित भएका छन्। २०७९ पुस २५ गते बजार २२११.७६ विन्दुबाट निरन्तर ओरालो लागेर झन्डै १८ विन्दुबाट पुनः बढ्न थालेसँगै लगानीकर्ता उत्साहित बनेका हुन्। 

अर्को साता सरकारले आगामी वर्षको बजेट ल्याउँदैछ। बजेटले सेयरबजारका केही माग सम्बोधन गर्ने संकेत समेत देखिएको छ। 

बजेटले बजारका माग सम्बोधन गर्ने संकेत गरेसँगै लगानीकर्ता मनोविज्ञान थप बलियो बन्दै जाँदा पछिल्लो ७ कारोबार दिनमा सेयरबजारमा हरियाली छाएको हो। 

सरकारले नीति तथा कार्यक्रममा पुँजी बजारको विकास र विस्तारको लागि संरचनागत सुधार गरिने उल्लेख छ। साथै, सेयरबजारमा गैरआवासीय नेपाली (एनआरएन)लाई लगानी खुला गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

मौद्रिक नीतिको तेस्रो त्रैमाससिक समीक्षामा सेयरबजारका माग नसमेटिएपछि निराश भएका लगानीकर्तालाई नीति तथा कार्यक्रमले केही राहत दिएको छ। 

साथै, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थपिँदै गइरहेको छ। बैंक तथा वित्तीय संस्थाहरुमा तरलता सहज हुनु सेयरबजारका लागि सुखद संकेत रहेको जानकार बताउँछन्। 

यता, नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीको कोटा प्रणाली खारेजी गरी थप सात कम्पनीलाई नयाँ लाइसेन्स प्रदान गरेको छ। 

ब्रोकर कोटा सिस्टम खारेज भएसँगै अब ब्रोकरहरुमा प्रतिस्पर्धा बढ्न गई लगानीकर्ताले सस्तो सुलभ र गणस्तरीय सेवा पाउने देखिन्छ। साथै, अन्य ३६ कम्पनीले नयाँ ब्रोकर लाइसेन्सको लागि आशयपत्र (एलओआई) पाएका छन्। पूर्वाधार निर्माण गरिसकेपछि यी कम्पनीले समेत लाइसेन्स पाउनेछन्। 

यसले पनि बजारलाई थप प्रतिस्पर्धी बनाउने जानकार बताउँछन्। 

साथै, बोर्डले एसएमई इन्डेक्स सञ्चालनको लागि नियमावली स्वीकृत गर्न अर्थ मन्त्रालयमा पठाएको छ। एसएमई इन्डेक्स सञ्चालनमा आएसँगै साना तथा मझौला कम्पनीहरुलाई प्राथमिक सेयर जारी गर्न पाउने सुविधा दिइन्छ। यसले एकातिर लगानीकर्तालाई लगानीको दायरा बढाउने र, अर्कोतिर साना तथा मझौला कम्पनीलाई पुँजी जुटाउने मौका मिल्छ।  

कुन सेक्टरमा लगानीकर्ताको आकर्षण? 
बजार बढ्दै जाँदा वाणिज्य बैंकहरुको सेयरमा लगानीकर्ताको आकर्षण बढ्न सकेको छैन। अघिकांश वाणिज्य बैंकको सेयरमूल्य १५० रुपैयाँको वरिपरि आउँदा समेत लगानीकर्ता सेयर खरिद गर्न इच्छुक देखिएका छैनन्। राम्रो प्रतिफल दिँदै आइरहेका वाणिज्य बैंकहरुको खराब कर्जाका कारण प्रोभिजन बढ्न गई प्रतिफल घट्ने देखिएपछि लगानीकर्ताहरु वाणिज्य बैंकहरुको सेयर खरिद गर्न अझै डराइरहेको देखिन्छ। 

यता विकास बैंकहरु र फाइनान्स कम्पनीहरुको सेयरमा लगानीकर्ताको आकर्षण बढ्न थालेको देखिन्छ। बजार बढ्नथालेसँगै विकास बैंक र फाइनान्स कम्पनीहरुको सेयरमा विस्तारै लगानीकर्ताको मनोबल बढ्न थालेको देखिन्छ।

होटल र निर्जीवन बीमामा मनोबल उच्च 
होटल र निर्जीवन कम्पनीको सेयरमा लगानीकर्ताको मनोबल उच्च देखिन्छ। यतिबेला यी दुई सेक्टरका कम्पनीहरुमा लगानी गर्न लगानीकर्ता तम्तयार देखिएका छन्। जसले गर्दा यी कम्पनीको माग बढ्न गई सेयरमूल्य समेत उकालो लाग्दै आइरहेको छ। 

माइक्रोफाइनान्स सूचक ‘पर्ख र हेर’को अवस्थामा 
राष्ट्र बैंकको नीतिका कारण पछिल्लो समय माइक्रोफाइनान्स कम्पनीहरुको सेयरमूल्यमा उच्च गिरावट आएको थियो। सेयर बजारमा ‘हट केक’ का रुपमा हेरिने अधिकांश लघुवित्तको सेयर मूल्य ५ सय रुपैयाँमा झरेको छ। उच्च गिरावट आएका लघुवित्तहरुको सेयर खरिद गर्न अझै लगानीकर्ता मनोबल बढेको देखिँदैन। लगानीकर्ता लघुवित्त सेक्टरमा लगानी गर्न ‘पर्ख र हेर’ अवस्थामा देखिएका छन्। 

जीवन बीमा कम्पनीका लगानीकर्ता स्थिर 
जीवन बीमा कम्पनीहरुको सेयरमा लगानी गर्न लगानीकर्ता इच्छुक देखिएका छैनन्, न त, सेयरधनी बाहिर नै खोजिरहेका छन्। जसले गर्दा अझै यी सेक्टरका कम्पनीहरुमा लगानीकर्ता मनोबल बढ्न सकेको देखिँदैन। 

जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुर्याएका छन्। जीवन बीमा कम्पनीको भोलुम बढ्न थालेपछि लगानीकर्ता यस क्षेत्रमा तत्कालन लगानी गर्न खोजेको देखिँदैन।

हाइड्रोपावर कम्पनी र अन्य सेक्टर 
हाइड्रोपावर र अन्य समूहका कम्पनीहरुमा लगानीकर्ता खुलेर लगानी गर्न थालेको देखिँदैन। बजार बढ्न थाले पनि यी कम्पनीको सेयर खरिद गर्न लगानीकर्ताको मनोबल बढेको देखिँदैन। 

पोजेटिभ सेन्टिमेन्टका कारण पछिल्लो समय बजार बढ्न थालेको प्राविधिक विश्लेषक सन्दीपकुमार चौधरीले बताए। उनी अहिले बजार बढ्नु स्वाभाविक भएको बताउँछन्। 

‘हिजोको बजार बढ्ने क्रम र अहिलेको बढ्ने क्रम फरक छ,’ उनले भने, ‘हिजो कुनै व्यक्ति विशेषले बजार बढाएको अवस्था थियो। अहिले अर्थतन्त्र राम्रो भएर र ब्याजदर घट्दै आएको हुँदा स्वाभाविक रुपमा बजार बढेको अवस्था छ।’

उनका अनुसार बजारले २०६० प्रतिरोध सामना गर्न सके २२ सय ६० विन्दु पुग्ने बताए।  

इन्भेस्टर्स फोरम नेपालका अध्यक्ष छोटेलाल रौनियार बजार २२÷२३ सय विन्दुमा पुग्ने बताउँछन्। 

‘बजार घट्दै जाँदा एक दिन बढ्ने नै हो। अहिले सुधारका नीति पाइपलाइनमा छन्,’ उनले भने, ‘एनआरएनलाई ल्याउने, नयाँ स्टक, ब्रोकर लाइसेन्स र कमिसन घटाउने कुरा पाइपलाइनमा छन्। यी कुराले बजारमा सकारात्मक संकेत ल्याएको हो।’

यसअघि बजार सरकारको नीतिका कारण घटेको र बजार धेरै अंकले घटिसकेकाले घट्ने ठाउँ नभएको रौनियारको भनाइ छ।

उनका अनुसार बजार घटाइ स्वाभाविक थिएन। नीतिगत, राजनीतिक अस्थिरता र ब्याजदर बढ्दै गएकाले बजार घटेको उनले बताए।

‘अहिले ब्याजदर पनि घट्दै गइरहेको र रेमिट्यान्स बढ्दै गइरहेको छ,’ उनले भने, ‘बैंकहरुमा लगानीयोग्य रकम (तरलता) सहज बन्दै गएको छ र, ब्याजदर घट्दो क्रममा छ अझै घट्ने देखिन्छ।’ 

यी सबै कुरामा आएको सुधारले गर्दा बजारमा बढेको रौनियारको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .