ad ad

कारोबार


आफ्नै उमेरका युवालाई व्यावसायिक जीवनमा डोर्‍याउँदै चिराग

आफ्नै उमेरका युवालाई व्यावसायिक जीवनमा डोर्‍याउँदै चिराग

सम्झना घिमिरे
जेठ २७, २०८० शनिबार ७:०, काठमाडौँ

३० वर्षको उमेरमा गोयल ग्रुप हाँकिरहेका छन् चिराग। तर, त्यतिले मात्र उनी सन्तुष्ट छैनन्। बाबुबाजेले गर्दै आएको व्यवसायभन्दा आफूले केही फरक गर्नुछ उनलाई। आफूसँगै आफ्नै उमेरका युवाहरुलाई पनि व्यावसायिक जीवनमा हिँडाउनु छ। 

व्यापार, जलविद्युत्, बैंकिङ, बिमा, निर्माण र घरजग्गाको क्षेत्रमा राम्रो पकड बनाउँदै गरेको गोयल ग्रुपको कर्पोरेट हाउसमा पुग्दा उनी स्थापित उद्योग नभएर स्टार्टअपका लागि घोत्लिरहेका भेटिए। 

उनी बुबाको पाइला पछ्याउँदै व्यावसायिक यात्रा सुरु गर्दैछन्। सँगै युवालाई उद्यमी बनाउने बाटो कोर्न पनि लागिपरेका छन्। 

उनले व्यावसायिक जीवनको सुरुवात स्टार्टअपबाट नै गरेका थिए। सोही कारण उनको ध्यान यसमा केन्द्रित छ।

‘स्टार्टअप अघि नबढेसम्म हामी युवाहरुले व्यवसायिक यात्रा सुरु गर्न सक्दैनौँ,’ उनी भन्छन्।

चिराग आफैँ प्रतिष्ठित उद्योगी हुन्। गोयल ग्रुपअन्तर्गतका दर्जन बढी कम्पनीको नेतृत्वकर्ता पनि हुन्। तर आफूलाई चिनाउन उति रुचाउँदैनन् उनी। बरु युवाहरुलाई उद्यमी बनाउन नयाँ काम कसरी गर्ने भन्ने ध्याउन्नमा हुन्छन्। 

२० वर्षको उमेरबाटै बाबुको पाइला पछ्याउँदै आएका उनी चाहन्छन्, अब ठूला उद्योगीको सहयोगमा अरु पनि व्यवसायी बन्न सकून्। यही कारण हुनुपर्छ, उनी हामीसँग व्यवसायका बारेमा भन्दा बढी युवा र स्टार्टअपमा कुरा गर्न हौसिए। 

भन्छन्, ‘नीतिगत र प्रक्रियागत झन्झटले पनि केही गर्छु भन्ने युवाहरु पलायन हुनुपर्ने स्थिति छ। हामी यस्ता युवाहरुलाई नेपालमै बसाउन पर्छ भनेर आवाज उठाइरहेका छौँ।’ 

नेपाल उद्यमी मञ्च मार्फत उनले यतिबेला विद्यालय जाँदै गरेका विद्यार्थीदेखि स्नातक सकेर विदेश जाने तरखरमा रहेका विद्यार्थीहरुलाई व्यवसायी बन्न प्रोत्साहनमूलक कार्यक्रम गर्दै आएका छन्। चिरागलाई लाग्छ, विद्यालयमा व्यावसायिक शिक्षा समावेश गरेर विद्यार्थीमा उद्यमशीलताप्रति चासो जगाउन सकिन्छ। पढाइ सकेर भविष्य खोज्दै गरेका विद्यार्थीलाई व्यवसायको चिराग मनमा बालिदिने हो भने युवा पलायनलाई केही हदसम्म रोक्न सकिन्थ्यो भन्ने उनको तर्क छ।

व्यवसाय प्रवर्द्धनलाई यसपालिको बजेटले राम्रो स्थान दिएको मान्छन्। 

भन्छन्, ‘यसपटक स्टार्टअपमैत्री बजेट आएको छ। यसलाई कार्यान्वन गर्ने हो भने धेरै युवालाई पलायन हुनबाट रोक्न सकिन्छ।’ 

सरकारले बजेट मार्फत कम्पनी दर्ता, वैदेशिक लगानी भित्र्याउन तथा प्रविधिसँग सम्बन्धित व्यवसाय गर्न चाहनेलाई विशेष सहुलियत दिँदा यसको प्रभाव स्टार्टअपको भविष्यमा पर्ने उनी बताउँछन्।

‘न्यूनतम लगानी २ करोडबाट घटाएर शून्यमा पुर्याएको छ। अब जति पनि लगानी भित्र्याउन सकिने भयो। यसले पनि स्टार्टअप सञ्चालन र विस्तारमा युवालाई सहज हुने छ,’ उनी भन्छन्।

सरकारले बजेटबाट युवा उद्यमी वर्षको घोषणा गरेको छ। चिराग यसले सरकारले केही गरेन भन्ने युवाहरुलाई व्यवसायिक वातावरणमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्छन्। 

भन्छन्, ‘यो युवा उद्यामीका लागि राम्रो प्रोत्साहन हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .