कारोबार


यो वर्ष लाभांश दिन नसकेका यी बैंकले अर्कोपटक देलान् उच्च प्रतिफल?

यो वर्ष लाभांश दिन नसकेका यी बैंकले अर्कोपटक देलान् उच्च प्रतिफल?

फाइल तस्बिर


केशर बोगटी
जेठ ३०, २०८० मंगलबार ७:५२, काठमाडौँ

आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४ वटा वाणिज्य बैंकले सेयर सदस्यहरुलाई नाफा वितरण गर्न पाएनन्।

क्यापिटल एडुकेसी रेसियो (पुँजी कोष अनुपात) सीमा पुर्‍याउन नसक्ने बैंकहरुलाई लाभांश वितरणमा रोक लगाउने व्यवस्थाका कारण समस्या भएको थियो। 

त्यही व्यवस्थाका आधारमा नेपाल राष्ट्र बैंकले लक्ष्मी, सनराइज, माछापुच्छ्रे र एनआईसी एशिया बैंकको लाभांश वितरणमा रोक लगाएको थियो। 

वाणिज्य बैंकहरुको हकमा प्राथमिक पुँजी कोष अनुपात ८.५ प्रतिशत तोकिएको छ। यसका साथै पुरक पुँजी २.५ प्रतिशतसहित क्यापिटल एडुकेसी रेसियो ११ प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्था छ। 

कुनै एक त्रैमाससमा वाणिज्य बैंकको प्राथमिक पुँजी कोष 
(सीसीएआर) ८.५ प्रतिशतभन्दा कम भए त्यही वर्षको नाफाबाट अर्को वर्ष लाभांश वितरणमा केन्द्रीय बैंकले रोक लगाउने गर्छ। 

गत वर्षको नाफाबाट लाभांश बाँड्न नपाएका यी चारै बैंकको चालु आवको तेस्रो त्रैमाससम्म पुँजी कोषको सीमा पुगिसकेको छ।

गत चैत मसान्तसम्म एनआईसी एसिया बैंक, माछापुच्छ्रे बैंक, सनराइन र लक्ष्मी बैंकको पुँजीकोष अनुपात सीमाभन्दा माथि नै छ। 

चौथो त्रैमास रिपोर्ट आउन भने बाँकी छ। तर, तेस्रो त्रैमासम्ममा यी चार बैंकले पुँजी कोषको सीमा पुर्‍याइसकेका छन्। 

जसकारण यो वर्षको नाफाबाट यी चार बैंकले आगामी वर्ष लाभांश बाँड्ने लगभग निश्चित जस्तै देखिन्छ। 

तेस्रो त्रैमासपछि बैंकहरु रिकोभरीमा फोकस हुने र कर्जा उठ्ने समय रहेकाले चौथो त्रैमासमा बैंकहरुको अधिकांश सूचक राम्रो हुने गरेको राष्ट्र बैंकका एक अधिकारी बताउँछन्। 

उनका अनुसार चौथो त्रैमास बैंकहरुको लागि रोकभरीको समय नै हो। 

‘यो वर्ष अघिल्ला वर्षहरुको पहिलो दोस्रो र तेस्रो त्रैमासको जस्तो रिकभरी भएको छैन’, उनले भने, ‘जसले गर्दा बैंकहरुको खराब कर्जा पनि ३ प्रतिशत माथि पुगेको हो। तर चौथो त्रैमासमा भने रिकभरी राम्रो हुने देखिन्छ।’

‘केन्द्रीय बैंकले कर्जाको पुनर्संरचना र पुनर्तालिकिकरणको व्यवस्था गरिदिएको छ। यसले पनि बैंकहरुको खराब अवस्था थप नबढ्ने आँकलन गर्न सकिन्छ,’ उनले भने। 

साथै, सेयरबजारको दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताले बैंकको तेस्रो त्रैमासको प्रतिवेदन हेरेर लगानी योजनासमेत बनाउने गरेका छन्। 
तेस्रो त्रैमाससम्मा यी चार वटै बैंकको सूचक राम्रो देखिएका छन्। 

कुन बैंकको प्राथमिक पुँजी कोष कति? 
चालु आव २०७९/८० को तेस्रो त्रैमासमा माछापुच्छ्रे बैंकको प्राथकिम पुँजी कोष अनुपात (सीसीएआर) ८.७० प्रतिशत छ। 

त्यसैगरी लक्ष्मी बैंकको ९.२७ प्रतिशत, सनराइजको ९.५९ प्रतिशत र एनआईसी एशियाको ८.८५ प्रतिशत छ। 

चालु आवको पहिलो त्रैमासमा माछापुच्छ्रे बैंकको सीसीएआर ८.७१ प्रतिशत, दोस्रो त्रैमासमा ८.६४ प्रतिशत र तेस्रो अर्थात् चैत मसान्तमा ८.७० प्रतिशत छ। बैंकको सीसीएआर सीमा विस्तारै सुधार हुँदै गएको देखिन्छ। 

यता एनआईसी एशिया बैंकको पहिलो त्रैमासमा ८.९५ प्रतिशत रहेको सीसीएआर दोस्रो त्रैमासमा ९.१२ प्रतिशत र तेस्रो त्रैमाससम्म आइपुग्दा ८.८५ प्रतिशत छ।

यता लक्ष्मी र सनराइज बैंकको सीसीएआर भने तीनवटै त्रैमाससमा ९ प्रतिशतमाथि नै छ। 

आर्थिक वर्ष २०७८/७९ असोज मसान्तमा माछापुच्छ्रे बैंकको सीसीएआर ८.०५ प्रतिशत, एनआईसी एशियाको ७.३० प्रतिशत थियो। त्यसैगरी लक्ष्मी र सनराइज बैंकको प्राथकिम पुँजी ८.५ प्रतिशत कम थियो। 

कुनको पुँजी कोष अनुपात कति? 
चालु आवको चैससमम्मा माछापुच्छ्रे बैंकको प्राथमिक पुँजी कोष अनुपात र पुरक पुँजी गरी पुँजीकोष अनुपात १३.१३ प्रतिशत छ। 
नेपाल राष्ट्र बैंकले यस्तो सीमा ११ प्रतिशत तोकेको छ। यसले पनि बैंकको सुरक्षित देखिन्छ। 

त्यसैगरी एनआईसी एशिया बैंकको यस्तो रेसियो १२.६४ प्रतिशत, सनराइज बैंकको १३.०६ प्रतिशत र लक्ष्मी बैंकको १३.१४ प्रतिशत छ।  

अन्य सूचक कुनको कस्तो? 
चालु आवको तेस्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकले १ खर्र्ब ५४ अर्ब २२ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। 

उता एनआईसीले ३ खर्ब १६ अर्ब ६५ करोड रुपैयाँ, सनराइज बैंकले १ खर्ब ३४ अर्ब ५६ करोड र लक्ष्मी बैंकले १ खर्ब ५० अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्। 

चैतसम्म माछापुच्छ्रे बैंकले १ खर्ब ३१ अर्ब ६ करोड ७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। एनआईसीले २ खर्ब ७७ अर्ब ७० करोड रुपैयाँ, सनराइज बैंकले १ खर्ब २३ अर्ब र लक्ष्मी बैंकले १ खर्ब ३६ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। 

कर्जा निक्षेप अनुपात (सीडी रेसियो) हेर्दा यी चारै बैंक आगामी दिनमा लगानी गर्नसक्ने अवस्थामा देखिएका छन्। चैत मसान्तसम्म एनआईसी एशियाको सीडी रेसियो ८५.०१ प्रतिशत छ।

माछापुच्छ्रे बैंकको ८१.८६ प्रतिशत, लक्ष्मी बैंकको ८५.३८ प्रतिशत र सनराइज बैंकको ८७.३३ प्रतिशत छ। 

सीडी रेसियो हेर्दा बैंकले आगमी दिनमा कर्जा लगानी गर्ने अवस्थामा  देखिन्छ। तर, क्यापिटल एडुकेसी रेसियो केही टाइट हुँदा उलेख्य कर्जा प्रवाह गर्न नसक्ने अर्थविज्ञहरु बताउँछन्। 

खुद तरलता हेर्दा सनराइज बैंकको २४.०६ प्रतिशत, लक्ष्मी बैंकको २१.१० प्रतिशत, माछापुच्छ्रे बैंकको २६.०५ प्रतिशत र एनआईसी एसिया बैंकको २०.५१ प्रतिशत छ। यस्तो अनुपात २० प्रतिशत माथिलाई राम्रो मानिन्छ। 

चालु आवको तेस्रो त्रैमाससम्ममा सनराइज बैंकको बेस रेट (आधार दर) ११.३४ प्रतिशत छ। लक्ष्मी बैंकको ११.०८ प्रतिशत, माछापुच्छ«े बैंकको ११.३७ प्रतिशत र एनआईसी एशिया बैंकको १०.४८ प्रतिशत छ। 

बेस रेटले बैंकहरुको कर्जाको ब्याजदर आकलन गर्न सकिन्छ। बैंकहरुले आधार दरमा प्रिमियम जोडेर ब्याजदर तोकेका हुन्छन्। 

अधिकांश बैंकले चैतसम्ममा कर्जाको हकमा आधार दर ५ प्रतिशत प्रिमियम तोकेर प्रवाह गरेका छन्। बैंकको आधार दर जति धेरै हुन्छ, त्यति नै कर्जा महंगो रहेको बुझ्न सकिन्छ।  

यी चारवटै बैंकको खराब कर्जा अनुपातसमेत २ प्रतिशत हाराहारी देखिन्छ। 

तेस्रो त्रैमाससम्म एनआईसी एशियाको खराब कर्जा दर ०.८५ प्रतिशत, माछापुच्छ्रेको २.३७ प्रतिशत, लक्ष्मीको १.८२ प्रतिशत र सनराइजको ३.६२ प्रतिशत छ। 

अन्य बैंकहरुको तुलनामा यिनको खराब कर्जासमेत कम देखिन्छ। खराब कर्जा कम भएर नोक्सानी (प्रोभिजन) न्यून हुँदा नाफा बढ्न गई प्रतिफलसमेत राम्रो दिने देखिन्छ। 

यता तेस्रो त्रैमासम्ममा एनआईसी एशियाले ४ अर्ब भन्दाबढी नाफा गरेको छ। त्यसैगरी माछापुच्छ«ले १ अर्ब ३५ करोड, सनराइज बैंकले १ अर्ब १७ करोड र लक्ष्मी बैंकले १ अर्ब २६ करोड नाफा गरेका छन्। 

चालु आवको तेस्रो त्रैममाससम्ममा यी चारै बैंकले राम्रो नाफा गरेका छन्। अधिकांश सचकमा पनि सुधार देखिएकाले प्रतिफल राम्रो दिन सक्ने आकलन गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .