कारोबार


मर्जरमा गएका बैंकहरुको सूचकमा देखिएन उत्साहजनक प्रगति

केही कर्जा प्रवाह गर्नै नसक्ने अवस्थामा
मर्जरमा गएका बैंकहरुको सूचकमा देखिएन उत्साहजनक प्रगति

फाइल तस्बिर


केशर बोगटी
जेठ ३२, २०८० बिहिबार २०:१०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको संख्या घटाउने गरी मर्जरमा सुविधा प्रदान गरेपछि एक दर्जन बैंक एकापसमा गाभिएका छन्। 

चालु आर्थिक वर्षमा एक दर्जन वाणिज्य बैंक एकापसमा गाभिएसँगै अब २१ वटामा सीमित भएका छन्। 

राष्ट्र बैंकले २०६८ सालमा विनियमावली ल्याएर बैंक तथा वित्तीय संस्था मर्जरको नीति अघि सारेको थियो। 

तर, वाणिज्य बैंक मर्जमा जाने छाँट नदेखाएपछि राष्ट्र बैंकले मौद्रिक नीतिबाट सुविधा दिएर मर्जमा प्रोत्साहन गरेको हो। 

राष्ट्र बैंकको प्रोत्साहन नीतिका कारण हालसम्म दर्जन वाणिज्य बैंक मर्ज भइएर एकीकृत कारोबारमा गइसकेका छन्। 

राष्ट्र बैंकले २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने वाणिज्य बैंकले मात्रै सेवा सुविधा पाउने जनाएको थियो। तर, केही बैंक मर्जको तयारीमा हुँदा राष्ट्र बैंकले २०८० असारभित्र एकीकृत कारोबार गर्नेलाई सुविधा दिने जानकारी गराएको छ। 

राष्ट्र बैंकले थपेको अवधिले यतिबेला मर्ज तयारीमा रहेका लक्ष्मी, सनराइज र गत पुसपछि एकीकृत कारोबार सुरु गरेको हिमालयन बैंकले सुविधा पाउनेछन्। 

मर्जपछि बैंकहरु ठूला बने पनि सूचकमा सुधार आउन सकेको छैन। चुक्ता पुँजीको आधारमा यी बैंक ठूला बने पनि अधिकांश सूचक नकारात्मक छन्। 

हिमालयनले थप कर्जा बढाउन नसक्ने 
सिभिल बैंकलाई गाभेपछि हिमालयन बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। चुक्ता पुँजीको आधारमा हिमालयन छैटौं नम्बरमा छ। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले २ खर्ब ६८ अर्ब निक्षेप संकलन गरेको छ। उसले २ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। 

बैंक कर्जा विस्तारमा सातौँ नम्बरमा छ। तर, बैंकले अपेक्षाजनक रुपमा कर्जा उठाउन सकेको छैन। निक्षेप संकलनका हिसाबले बैंक ८ औं स्थानमा छ। 

बैंकको कर्जा रिकोभरी नहुँदा खराब कर्जा बढेको छ। यतिबेला बैंक थप लगानी गर्न नसक्ने अवस्थामा देखिएको छ। 

यस बैंकको कर्जा लगानी निक्षेप अनुपात (सीडी रेसियो) ९०.४८ प्रतिशत छ। बैंकले सीडी रेसियोको ९० प्रतिशतसम्म मात्र कर्जा लगानी गर्न पाउने व्यवस्था छ। 

यता बैंकको सीडी रेसियो ९० माथि पुगेकाले आगामी दिन थप कर्जा प्रवाह गर्न नसक्ने देखिन्छ। 

यो बैंकको नेट पुँजीको सीमा २०.१३ प्रतिशत छ। यसकारण पनि बैंक आगामी दिनमा थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा छ।

बैंकको बेस रेट ११.१५ प्रतिशत छ। यसले बैंकको कर्जा महँगो देखिन्छ। खराब कर्जा (एनपीएल) ४.५६ प्रतिशत हुँदा कर्जा नोक्सानी (प्रोभिजन) बढेको छ। 

बढ्दो प्रोभिजनका कारण बैंकको नाफासहित प्रतिफल पनि घट्ने देखिन्छ। कर्जा लगानी गर्ने पैसा प्रोभिजन गर्दा लगानी क्षमतासमेत घट्ने देखिएको छ। 

बैंकले चालु आवको तेस्रो त्रैमाससम्म १ अर्ब ७३ करोड नाफा गरेको छ। गत वर्ष यही अवधिमा बैंकले १ अर्ब २९ करोड नाफा गरेको थियो। यो वर्ष सिभिल बैंकलाई गाभ्दासमेत नाफा १ अर्ब ७३ करोड पुगेको छ। 



इन्भेष्टमेन्ट मेगाको खराब कर्जा ४ प्रतिशत 
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालू आवको तेस्रो त्रैमासमा ३ अर्ब ४ करोड नाफा गरेको छ। गत वर्ष यही अवधिमा बैंकले (नेपाल इन्भेष्टमेन्टले २ अर्ब ४७ करोड) र (मेगा बैंकले २ अर्ब १ करोड) नाफा गरेका थिए। 

मेगा र इन्भेष्टमेन्ट र मेगा बैंक मर्ज भएर एक भए पनि नाफा घटेको छ। मर्जपछि बैंकको खराब कर्जा करिब ४ प्रतिशत पुगेको छ। 

गत वर्ष यही अवधिमा बैंकको खराब कर्जा २.२० प्रतिशत थियो। बैंकको खराब कर्जा उल्लेख्य मात्रामा बढ्दा कर्जा व्यवस्थासमेत बढेको छ।

बैंकले प्रोभिजनबापत ७० करोड राखेको छ।  गत वर्ष यही अवधिमा बैंकले ३ करोड प्रोभिजन गरेको थियो। 

बैंकको सीडी रेसियो ८७.०५ प्रतिशत छ। बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ छ। चैतसम्ममा बैंकले ३४९ अर्ब निक्षेप संकलन गरी ३११ अर्ब लगानी गरेको छ। बैंकको प्रतिसेयर आम्दानी १५.२० पैसा र प्रतिसेयर नेटवर्थ १६६.८८ रुपैयाँ छ।

यता बैंकको पुँजीकोष अनुपात १० प्रतिशत माथि भए पनि नाफा र बढ्दो खराब कर्जाका कारण प्रतिफल घट्ने देखिन्छ। 

सर्वाधिक नाफा कमाउने नबिल 
नबिल बैंकले तेस्रो त्रैमासिकमा ५ अर्ब ११ करोड नाफा गरेको छ। गत वर्ष यही अवधिमा बैंकले ३ अर्ब ३५ करोड नाफा गरेको थियो। 

नेपाल बंगलादेश बैंकलाई गाभेपछि यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल नाफा कमाउने पहिलो नम्बरमा पुगेको छ। चुक्ता पुँजीका आधारमा नबिल तेस्रो स्थानमा भए पनि नाफामा पहिलो बनेको छ।

नबिलको निष्क्रिय कर्जा ३.८७ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिमा नबिलको निष्क्रिय कर्जा १.४४ प्रतिशत थियो। मर्जपश्चात बैंकको खराब कर्जा केही बढेको देखिन्छ। यता खराब कर्जा बढ्दा कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) समेत बढेको छ। 

बैंकले चैतसम्ममा ३ अर्ब ३३ करोड प्रोभिजन गरेको छ। गत वर्ष यही अवधिमा नबिलले ६१ करोड रुपैयाँ प्रोभिजन गरेको थियो। बैंकको कर्जा निक्षेपअनुपात (सीडी रेसियो) सुधार देखिएको छ। गत वर्ष चैतमा ९१.४७ प्रतिशत रहेको सीडी रेसियो ८७.६८ प्रतिशतमा आएको छ। 

बैंकको प्रतिसेयर आम्दानी २५.२१ रुपैयाँ र बुक भ्यालु २०१.०७ रुपैयाँ रहेको छ। बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड, निक्षेप ३६३ अर्ब र कर्जा लगानी ३२३ अर्ब गरेको छ। 

बैंकको वितरणयोग्य नाफा १ अर्ब ७७ करोड रुपैयाँ छ। बैंकले वार्षिक ३० प्रतिशत माथि प्रतिफल दिँदै आइरहेको छ। बैंकको सञ्चिति धेरै हुँदा आगामी वर्ष पनि त्यही लाभांश वितरणलाई निरन्तरता दिन सक्ने देखिन्छ।

यो अवधिमा बैंकको प्राथमिक पुँजी कोष अनुपात १० प्रतिशतमाथि नै छ। नबिलको सीडी रेसियोसमेत सहज देखिन्छ। जसले गर्दा बैंकले आगामी दिनमा लगानी गर्न सक्ने र नाफा अझै बढ्ने देखिएको छ। 

पब्लिक पुँजी संकलनमा पहिलो 
चुक्ता पुँजीको आधारमा पहिलो नम्बरमा रहेको ग्लोबल आईएमई बैंक पब्लिक निक्षेप संकलनमा पनि पहिलो स्थानमा छ। 

मर्जरको लहरअघि समेत चुक्ता पुँजीको आधारमा पहिलो नम्बरमा रहेको ग्लोबलले बैंक अफ काठमाण्डूलाई गाभेर आफ्नो स्थान सुरक्षित गरेको छ। 

हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ छ। बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ३५ करोड नाफा गरेको छ।  गत वर्ष यही अवधिमा बैंकले ३ अर्ब ७२ करोड नाफा गरेको थियो।

बीओकेलाई गाभेको ग्लोबल यतिबेला सर्वाधिक नाफा कमाउनेको दोस्रो नम्बरमा छ। 

तर, पछिल्लो समय बैंकको निष्क्रिय कर्जा बढेको देखिन्छ। यतिबेला बैंकको निष्किय कर्जा ३.९६ प्रतिशत पुगेको छ। गत वर्ष १.४५ प्रतिशत मात्रै थियो। 

बैंकको खराब कर्जा बढ्दा प्रोभिजन २ अर्ब ७१ करोड पुगेको हो। गत वर्ष यही अवधिमा बैंकले ४३ करोड प्रोभिजन गरेको थियो। 

बैंकले चैतसम्म ४१२ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ३६९ अर्ब लगानी गरेको छ। बैंकको वितरणयोग्य नाफा ९६ करोडमा सीमित भएको छ। 
गत वर्ष यही अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो। बैंकको सीडी रेसियो ८८.८३ प्रतिशत रहेको छ। 

बैंकको प्रतिसेयर आम्दानी १७।०८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५५.९९ रुपैयाँ रहेको छ। तेस्रो त्रैमाससम्ममा बैंकको पुँजीको अनुपात समेत १२.७० प्रतिशत छ। 

यसका साथै बैंकको सीडी रेसियोसमेत ८७.१७ प्रतिशत छ। यसले बैंक आगामी दिनमा कर्जा प्रवाह गर्न सक्ने देखिएको छ। यता मर्जपछि ग्लोबल आइएमई बैंकको खराब कर्जा बढ्दै गएकाले आगमी दिनमा खराब कर्जा सुधार ल्याउन बैंकलाई चुनौती देखिन्छ। 

कुमारीको सीडी रेसियो टाइट  
कुमारी बैंकले नेपाल क्रेडिट एण्ड कमर्स बैंकलाई गाभेको छ। एनसीसीलाई आफूमा गाभेको कुमारीको चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। 

चुक्ता पुँजीको आधारमा बैंक चौथो ठूलो बैंक बनेको छ। चालु आवको तेस्रो त्रैमासमा बैंकले १ अर्ब ८२ करोड रुपैयाँ नाफा गरेको छ। 

जुन गत वर्षको तुलनामा थोरै बढेको छ। यता नाफा बढे पनि बैंकको बैंकको कर्जा नोक्सानी बढ्दै गएको छ। हाल बैंकको खराब कर्जा दर ३.९७ प्रतिशत छ। बैंकलाई आगमी दिनमा खराब कर्जामा सुधार गर्नुपर्ने चुनौती छ। 

यस अवधिमा बैंकले ३१२ अर्ब निक्षेप संकलन गरी ३०६ अर्ब कर्जा लगानी गरेको छ। कुमारी बैंक कर्जा लगानीमा एग्रेसिभ देखिएको छ। बैंकहरुले लगानी गरेको पैसाबाट आएको ब्याज नै आम्दानी हो। 

यद्यपि कुमारीले आगामी दिनमा नाफा अझै बढाउन सक्ने देखिन्छ। यता बैंकको पुँजीकोष अनुपातसमेत ९.१ प्रतिशत छ। यस्तो अनुपात न्यूनतम ८.५ प्रतिशत हुनुपर्ने व्यवस्था छ। 

बैंकको सीडी रेसियो ९०.११ प्रतिशत छ। जसले यस बैंकले आगामी समय उलेख्य मात्रामा कर्जा दिन नसक्ने देखिन्छ। कुमारीलाई खराब कर्जा सुधार गर्नुपर्ने चुनौती पनि छ।

प्रभुलाई खराब कर्जा सुधार्ने चुनौती 
सेञ्चुरी कमर्सियल बैंकलाई मर्ज गरेपछि प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। 

पुँजीका आधारमा यो बैंक पाँचौ स्थानमा छ। बैंकले तेस्रो त्रैमासम्म १ अर्ब ९५ करोड नाफा गरेको छ। 

गत वर्ष यसै अवधिमा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको थियो। प्रभुको खराब कर्जा ३.४८ प्रतिशत छ। 

बैंकको खराब कर्जा केही बढ्दा कर्जा नोक्सानी पनि बढेको छ। बैंकले तेस्रो त्रैमाससम्म १ अर्ब ५७ अर्ब रुपैयाँ कर्जा नोक्सानी गरेको छ।

यस अवधिमा बैंकले २८२ अर्ब निक्षेप संकलन गरी २४६ अर्ब कर्जा प्रवाह गरेको छ। यता बैंकको सीडी रेसियो समेत ८७.७२ प्रतिशत छ। सीडीलाई हेर्दा आगामी दिनमा बैंक थप कर्जा लगानी गर्न सक्ने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .