कारोबार


बैंकहरूले जोखिम कम भएका क्षेत्रमा दिन थाले ऋण

बैंकहरूले जोखिम कम भएका क्षेत्रमा दिन थाले ऋण

फाइल तस्बिर


केशर बोगटी
असार १८, २०८० सोमबार ७:१९, काठमाडौँ

बैंकहरूले कम जोखिम भएका क्षेत्रमा कर्जा लगानी गर्न थालेका छन्। 

प्रणालीमा लगानीयोग्य रकम (तरलता) अधिक देखिन थालेसँगै बैंकहरूले जोखिम कम भएका क्षेत्रमा लगानी गर्न थालेका हुन्। 

खासगरी कोभिड महामारी प्रभावित ऋणीले कर्जाको सावाँ, किस्ता र ब्याज तिर्न सकेका  छैनन्। त्यहीकारण खराब कर्जा बढ्दा बैंकहरू लगानीका लागि सुरक्षित क्षेत्रको खोजीमा लागेका हुन्। 

कोभिडकालमा केन्द्रीय बैंकले दिएको सरलीकरण सुविधा वित्तीय संस्था र ऋणीहरूले बिनायोजना अन्धाधुन्ध लगानी गर्दा खराब कर्जा ३ प्रतिशत माथि पुगेको छ। 

वाणिज्य बैंकको खराब कर्जा औसत ३ प्रतिशतभन्दा माथि पुग्दा बैंकहरू कर्जा प्रवाहका लागि सुरक्षित क्षेत्रमा जान थालेका हुन्। 

पछिल्लो समय अधिकांश बैंकहरूले विज्ञापन गरेरै सुरक्षित क्षेत्रमा कर्जा दिन थालेका छन् । 

सन्‍राइज बैंकले हालै विज्ञापन नै जारी गरेर भनेको छ, ‘घर कर्जामा निर्माण लागतको १०० प्रतिशतसम्म कर्जा लिई घर बनाउने सपना पूरा गर्नुहोस्।’

सन्‍राइजका साथै अरु एक दर्जन बैंकले पनि घरकर्जाको विज्ञापन निकालेर ग्राहक बोलाउन थालेका छन्। कृषि विकास बैंक र प्रभु बैंक लगायतले १२ प्रतिशतमै घर कर्जा दिन थालेका छन् । 

पछिल्लो समय बैंकहरूले कर्जा प्रवाह नगरिरहेका बेला घर कर्जाको विज्ञापन नै गरेर सस्तोमा दिन थालेका छन्। 

घर कर्जा अन्यको तुलनामा सुरक्षित हुने हुँदा बैंकहरूले विज्ञापन गरेर ऋण दिन थालेको एक बैंकरले बताए । 

उनका अनुसार बैंकहरूको खराब कर्जा रेसियो माथि गइरहेकाले बैंकहरूले जोखिम क्षेत्रमा कर्जा दिन छाडेका छन् । 

‘तेस्रो त्रैमाससम्म खराब कर्जा ३ प्रतिशत माथि छ’, उनले भने, ‘रिकभरी सुस्त छ, जसले गर्दा खराब कर्जा अझै माथि जाने देखिन्छ।’

खराब कर्जा ५ प्रतिशत माथि भएका शाखाहरूबाट कर्जा प्रवाह भइरहेको छैन । तरलता बढ्दै जाँदा अब सुरक्षित ठाँउमा कर्जा लगानी बढाउन थालेका छौँ’, उनले अगाडि भने। 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि नेपालका बैंकहरूको निष्क्रिय कर्जा अपत्यारिलो रहेको भन्दै प्रश्न उठाउँदै आएको छ। 

अर्थतन्त्रमा छाएको सुस्ततासँगै बैंक तथा वित्तीय संस्थाको निष्क्रिय (खराब) कर्जा बढ्न थालेपछि वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र बैंक आत्तिएको छ।

निष्क्रिय कर्जा बढेर ५ प्रतिशतमाथि जाने देखिएपछि राष्ट्र बैंक खराब कर्जा व्यवस्थापन अस्त्रको खोजीमा लागेको छ।

पछिल्लो समय वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति देखिएको छ। समग्रमा खराब कर्जा बढ्ने परिस्थिति बनेको ख्याल गरेर राष्ट्र बैंकले वित्तीय संस्थालाई ऋण उठाउने प्रक्रियामा तीव्रता दिन भनेको छ। 

चालु कर्जासम्बन्धी मार्गदर्शन पूर्णरूपमा लागू भए निष्क्रिय कर्जाको भार वित्तीय प्रणालीले थेग्न नसक्ने अवस्था सिर्जना हुने बैंकरहरूले बताएका छन्। 

सामान्यतः निष्क्रिय कर्जा ५ प्रतिशत नाघे बैंक तथा वित्तीय संस्था खराब भएको मानिन्छ। निष्क्रिय कर्जा बढ्दै जाँदा जोखिम भार बढाउनुपर्ने र जोखिमभार बढ्दा कालान्तरमा पुँजीकोषमा दबाब पर्ने देखिन्छ । 

२०८० साउनबाट ‘काउन्टर साइक्लिकर बफर’ व्यवस्था गर्नुपर्छ। त्यसो हुँदा थप २ प्रतिशत पुँजीकोष व्यवस्था गर्नुपर्छ।

यद्यपि, बैंकहरूले अहिलेबाटै जोखिममुक्त क्षेत्रको खोजी गरी कर्जा प्रवाह गर्न थालेका छन्। 

यता राष्ट्र बैंकले कर्जा दुरुपयोग रोक्न ल्याइएको चालु पुँजी कर्जा मार्गदर्शन कार्यान्वयनमा आएसँगै ऋण तिर्न ऋण लिने प्रवृत्ति घटेको छ।

जसले गर्दा कर्जाको मागसमेत कम रहेको बैंकरहरू बताउँछन्। 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममा चालु पुँजी कर्जा मार्गदर्शन कार्यान्वयनमा ल्याएसँगै व्यवसायी थप संकटबाट जोगिएको बताएका थिए। 

‘बैंकबाट ऋण लिएको छ। ब्याज तिर्ने बेला फेरि अर्काे ऋण लिएर पुरानो ऋणको ब्याज तिरेको छ,’ गभर्नर अधिकारीले भने, ‘ऋण तिर्न ऋण लियो, यस्तो विकृति सुधार हुनु जरुरी थियो।’

गभर्नर अधिकारीले सुधार भइरहेको  समयमा केही सकस हुने बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .