कारोबार


बैंकहरुले स्किमबाट निक्षेप बढाउँदा प्रणालीमा थुप्रियो ४ खर्ब रुपैयाँ

ल्याउन सकेनन् लगानी योजना
बैंकहरुले स्किमबाट निक्षेप बढाउँदा प्रणालीमा थुप्रियो ४ खर्ब रुपैयाँ

फाइल तस्बिर


केशर बोगटी
असार २०, २०८० बुधबार १२:५१, काठमाडौँ

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिँदै गएको छ। प्रणालीमा पैसा थुप्रिदा बैंकहरु कर्जा प्रवाहमा आक्रमक हुनुपर्ने हो तर अहिले त्यस्तो देखिएको छैन।

प्रणालीमा ४ खर्ब रुपैयाँ थुप्रिसक्दा पनि कैंकहरुको डेढ खर्ब मात्रै कर्जा प्रवाह गरेका छन्। 

आर्थिक वर्ष २०७९/०८० को सुरुवातमा तरलता समस्या देखिँदा बैंकहरु निक्षेप संकलनमा आक्रमक बने। केही बैंकहरुले त निक्षेपमा स्किम नै ल्याए। 

निक्षेप संकलनमा प्रतिस्प्रर्धा गरेर तरलता थुपारेका तिनै बैंकहरुले अहिले लगानी बढाउन सकिरहेका छैनन्। केही वाणिज्य बैंकहरुलाई पुँजीकोषको दबाब छ। 

गत वर्ष साउनदेखि असार १७ सम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थामा कुल ४ खर्ब १६ अर्ब निक्षेप संकलन भएको थियो। जसमध्ये १ खर्ब ६६ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ । 

त्यही अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.४७ प्रतिशत छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले अधिकतम् ९० प्रतिशत सीडी अनुपात कायम गर्न पाउँछन । 

यसरी सीडी अनुपात निर्देशित सीमाभन्दा कम हुनु भनेको बैंकहरूसँग ४ खर्ब रुपैयाँ थप लगानी गर्न सक्ने क्षमता हुनु हो । 

आइतबारसम्म बैंक तथा वित्तीय संस्थामा ५६ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। ४८ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह भइसकेको छ। 

सीडी रेसियोमा स्थानीय तहको पैसा, डिबेञ्चर (ऋणपत्र) र रि–फाइनान्सिङ (पुनर्लगानी) र विदेशबाट ल्याएको ऋणसमेत जोडिन्छ। 

जसकारण सीडी देखाएजति नै बैंकहरुले लगानी क्षमता होइन। ४ खर्बमा १ प्रतिशत कुसन राख्दा पनि बैंकहरुले साढे ३ खर्ब बढी लगानी गर्न सक्ने देखिन्छ। 

पछिल्लो समय बैंकहरुमा तरलता प्रसस्त रहेको एक बैंकरले बताए। 

उनका अनुसार बैंकहरुले विगतमा स्किम ल्याएर निक्षेप बढाउन प्रतिस्प्रर्धा गर्दा अहिले डिपोजिट धेरै भएको हो। 

‘आर्थिक वर्षको अन्तिम समय  पुगेका छौँ, तर लगानी हुन सकिरहेको छैन’, उनले भने, ‘कर्जा माग नै न्यून हुँदा बैंकहरुले ट्रेजरी बिल्समा लगानी गरिरहेका छन।’

अहिले बैंकहरुको रिकोभरीमा समय पनि रहेको उनले बताएका छन्।

‘आर्थिक वर्षको अन्त्य आइसकेकाले सानो सानो कर्जाका लागि समय नै छैन’, उनले भने, ‘हाइड्रो पावरलगायत ठूला कम्पनीहरुको प्रोजेक्टमा सहवित्तीकरण गरी लगानी बढाउने रणनीति छ।’ 

पूर्वबैंकर भुवन दाहालले खराब कर्जा घटाउन बैंकहरु रिकोभरीमा लाग्दा कर्जा खुम्चिएको बताए। चालु पुँजी कर्जालेसमेत कर्जाको माग घटेको देखिन्छ। 

‘व्यवसायीहरुले चालु पुँजी कर्जाले गर्दा कर्जाको माग नगरेको भनिरहेका छन्’, उनले भने, ‘चालु पुँजी कर्जाले नम्सले कर्जा नजाने त देखिँदैन तर, जेन्युन व्यवसाय गर्न ऋण लिन डराउनु पर्ने देखिँदैन।’ 

घर कर्जामा फिक्स रेटमा ७ वर्ष पछि मात्र कर्जाको रेट परिवर्तन गर्न मिल्ने भएकाले बैंकहरु रिक्न लिन नचाहेको देखिन्छ, उनले भने। 

‘ब्याजदर अझै घटेको छैन। ब्याजदर घट्ने आस समेत कर्जाको माग कम रहेको देखिन्छ’, उनले भने, ‘व्यवसायीमा कन्फिडेन्ट पनि देखिएको छैन।’

बैंकहरुले पनि अहिले स्वीकृति भएका कर्जा साउनमा देखाउने गरेको दाहालले बताए। 

‘अहिले स्वीकृत भएकाको १.०३ प्रतिशत कर्जा नोक्सानी प्रोभिजन गर्नुपर्छ’, उनले भने, ‘त्यसैले बैंकहरुले अहिले प्रवाह कर्जा साउनमा स्वीकृत गर्छन।’

नेपाल राष्ट्र बैंकका एक अधिकारी पछिल्लो समय बैंकहरुसँग तरलता थुप्रिँदै गएको बताए। 

‘बैंकहरुँग पैसा थुप्रिएसँगै रिपो, रिर्भस रिपोमार्फत पैसा खिचिरहेका छौं,’ उनले भने, ‘तरलता सहज भएर नै बजारबाट पैसा तानिएको हो। अहिले तरलता प्रशस्त छ।’ 

अहिले सरकारी बजेट खर्चको क्रम बढेको छ। ‘आर्थिक वर्षको अन्त्यसँगै सरकारको खर्च पनि बढिरहेको छ’, उनले भने, ‘यसले प्राणलीमा पैसा थपिने क्रम बढ्दै गइरहेको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .