कारोबार


नेपालमा धमाधम सञ्चालन हुँदै अन्तर्राष्ट्रिय ब्रान्डका होटल, अमेरिकी धेरै

नेपालमा धमाधम सञ्चालन हुँदै अन्तर्राष्ट्रिय ब्रान्डका होटल, अमेरिकी धेरै

वसन्त अर्याल
असार २२, २०८० शुक्रबार १३:२१, काठमाडौँ

नेपालका अन्तर्राष्ट्रिय होटलमा अमेरिकी बहुराष्ट्रिय ब्रान्डको दबदबा बढ्दो छ। नेपाल भित्रिने विदेशी कम्पनीमा अमेरिकी ब्रान्ड सबैभन्दा बढी छन्। 

हालसम्म नेपालमा एक दर्जन अमेरिकी ब्रान्डको उपस्थिति छ। जसमा म्यारिअट, र्‍याडिसन, हायात र विन्डम कम्पनीका मात्रै १० वटा ब्रान्ड होटल छन्। भित्रिएका ब्रान्डमा अधिकांश सञ्चालनमा आएका छन् भने केही निर्माणाधीन छन्।

नेपालमा अमेरिका, बेलायत, फ्रान्स, भारत, चीन, थाइल्यान्डका होटल तथा चेन नेपालमा भित्रिएका छन्। जसमा सबैभन्दा बढी अमेरिकी कम्पनी छन्। त्यसमा पनि म्यारिअटका ४ वटा ब्रान्ड भित्रिसकेका छन् भने थप २ वटा नेपाल भित्रिने चर्चा छ। 

जोमसोमको मोक्ष होटलमा समेत अमेरिकी लक्जरी ब्रान्ड सिन्तामणी भित्रिएको छ। अमेरिकी आर्किटेक्ट बिन्सेलीले सिन्तामणी होटल ब्रान्ड सुरु गरेका थिए।  

नेपाल भित्रिने विदेशी ब्रान्ड केही फ्रेन्चाइजको रुपमा भित्रिएका छन् भने केही व्यवस्थापन नै गर्नेगरी भित्रिएका छन्। छिमेकी मुलुक भारतमा द फर्न, ताजको व्यवस्थापन नेपालमा भित्रिएको छ।

चीनको बहुराष्ट्रिय कम्पनी सांग्रिला होटल नेपालमा भित्रिसकेकै छ। थाइल्यान्डको डुसिट इन्टरनेसनल लजिम्पाटमा होटल र धुलिखेलमा रिसोर्ट व्यवस्थापनको लागि भित्रिएको छ।  

नेपाल उद्योग वाणिज्य महासंघ पर्यटन तथा हवाई यातायात समिति अध्यक्ष देशबन्धु बस्नेतले विदेशी ब्रान्डले नेपालमा पर्यटक बढाउन सहयोग पुग्ने बताए। 

‘धेरै खर्च गर्ने विदेशीहरुले घुम्दा आनन्द लिनको लागि आफ्नो ब्रान्ड रोजिरहेका हुन्छन्,’ रमाडा र मरकरी ब्रान्ड भित्र्याउन लागेका बस्नेतले भने, ‘पर्यटकलाई आकर्षण गर्न विदेशी ब्रान्डको उपस्थिति राम्रै हुनुपर्छ।’

उनले नेपालको विश्वस्तरमा प्रचार गर्न विदेशी ब्रान्डले सहयोग गरिरहेको बताए। 

अन्नपूर्ण होटलकी सञ्चालक तथा हानकी निवर्तमान अध्यक्ष सिर्जना राणाले होटल र सडक पूर्वधार राम्रो हुँदा महंगा पर्यटक नेपाल भित्रिने बताइन्। उनले अहिले नेपाल ‘चिप डेस्टिनेसन’को रुपमा परिचित हुन थालेको उल्लेख गरिन्।   

राणाले विदेशी ब्रान्ड भित्रिँदा नेपाली होटलसँग प्रतिस्पर्धा र चुनौती थपिएको बताइन्। 

‘अन्नपूर्ण, याक एन्ड यती, सोल्टी, हिमालय, शंकर लगायतका होटलहरुले नसक्ने होइन तर चुनौती छ,’ उनले भनिन्, ‘प्रतिस्पर्धा कडा हुँदै छ। अब्बल भएर निस्किनुको विकल्प हामीसँग छैन।’

उनले अब धेरै अन्तर्राष्ट्रिय ब्रान्डको आवश्यकता भने नरहेको बताइन्। 

‘थाइल्यान्डको कुसामुइमा सबै होटल झुपडी छन् तर धेरै सुन्दर। नेपाललाई सामान्य संरचना नै राम्रो हो,’ उनले भनिन्।
 
मेरियट इन्टरनेसनलका ४ चर्चित ब्रान्ड
विश्व चर्चित म्यारिअटका ४ चर्चित ब्रान्ड नेपालमा भित्रिसकेका छन्। ३ वटा ब्रान्ड सञ्चालनमा आइसकेका छन् भने एउटा निर्माणाधीन छ। म्यारिअट इन्टरनेसनलका म्यारिअट र सेराटन प्रिमियम ब्रान्डका होटल हुन् भने अलफ्ट होटल र फेयर फिल्ड म्यारिअट एक तह कमका ‘सेलेक्टेड’ होटल हुन्। म्यारिअटकै लक्जरी ब्रान्ड मात्रै ६ वटा भए पनि नेपालमा भित्रिन सकेका छैनन्। 

काठमाडौँ म्यारिअट सञ्चालनमा आएपछि बढी चर्चा भएको छ। कोभिड माहामारीकै बीचमा म्यारिअटले राम्रो आम्दानी गरी विदेशी ब्रान्डको राम्रो फाइदा लिएको छ। 

शशिकान्त अग्रवालको एमएस ग्रुपले विश्वविख्यात अमेरिकी होटल चेन म्यारिअटको व्यवस्थापन समेत गरिरहेको छ। एमएस ग्रुपले नै ठमेलमा म्यारिअटकै ब्रान्ड फेयर फिल्ड होटल सञ्चालन गरेको छ।

ठमेल र नक्सालको म्यारिअट सञ्चालनमा ल्याएको ग्रुपले कमलादीमा चार तारे स्तरको म्यारिअट निर्माण गर्ने तयारी छ। यसको लागत २ अर्ब रुपैयाँ बढी हुने कम्पनीले जानकारी दिएको छ। 

काठमाडौंको ठमेलमा छायादेवी कम्प्लेक्समा होटल अलफ्ट सञ्चालनमा आएको छ। पृथ्वीराज पाँडे सहितको मुख्य लगानीमा छायादेवी कम्प्लेक्स निर्माण भएको हो।  

अस्ट्रेलियन एनआरएन शेष घलेले लैनचौरमा विश्वव्यापी ब्रान्ड सेराटन निर्माण गरिरहेका छन्। म्यारिअटकै ब्रान्ड सेराटन अहिलेसम्मकै सबैभन्दा बढी लागतमा निर्माण भैरहेको छ। 

हायातका २ ब्रान्ड काठमाडौंमा सञ्चालन
ग्लोबल हायात कर्पोरेसनका २८ वटा ब्रान्ड विश्वका १२ सय ५० स्थानमा सञ्चालनमा छन्। अमेरिकी ब्रान्ड हायात प्लेस र हायात रिजेन्सी नेपालका ५ तारे होटल हुन्। काठमाडौंको तहाचालमा २०७८ देखि सञ्चालनमा आएको हायात प्लेस र बौद्धको हायात रिजेन्सी होटल एउटै कम्पनीका अन्तर्राष्ट्रिय चेन ब्रान्ड हुन्। 

हायात रिजेन्सी प्रिमियम होटलमा पर्छ भने प्लेस एक तह सस्तो छ। हायात प्लेसमा गोल्यान ग्रुपको मुख्य लगानी छ भने हायात रिजेन्सीमा भारतीय व्यवसायी राधेश्याम सर्राफको मुख्य लगानी छ। 

अमेरिकी ब्रान्ड र्‍याडिसनका २ होटल 
काठमाडौंको लाजिम्पाटमा सञ्चालनमा रहेको र्‍याडिसन विराटनगरमा पनि सञ्चालनमा आउँदै छ। पब्लिक कम्पनीको रुपमा लजिम्पाटको होटलमा श्रेष्ठ परिवारको मुख्य लगानी छ। 

कोशी प्रदेशको राजधानी विराटनगरमा पाँचतारे होटल र्‍याडिसन निर्माण भइरहेको छ। सेन्चुरी ग्रुप अफ कम्पनी अन्तरगर्तको सेन्चुरियन होटलले उक्त ब्रान्डसँगको सहकार्यमा होटल निर्माण गरिरहेको छ।

मोतीलाल दुगड मुख्य लगानीकर्ता हुन्। विराटनगरमा पहिलो ५ तारे होटलसँगै मल पनि बनाउन ३ अर्ब लगानी गर्ने सम्झौता वर्षदिनअघि भएको थियो।

विन्डमको रमडा काठमाडौं र इटहरीमा 
अमेरिकी ब्रान्डका होटल मात्रै नभई रिसोर्ट पनि भित्रिन थालेका छन्। अमेरिकी बहुराष्ट्रिय विन्डमको रमाडा इन्कोर ठमेलमा खुलेको छ। विन्डम होटल एन्ड रिसोर्ट अमेरिकी कम्पनी हो।

विश्वव्यापी चेन विन्डमका २४ वटा ब्रान्ड छन्। यसले विश्वका ९५ देशका ९ हजार बढी होटलमा सहकार्य गरेको छ। त्यस्तै व्यवसायी देशबन्धु बस्नेतले इटहरीमा विन्डमकै रमाडा होटल सञ्चालनमा ल्याउने भएका छन्।

इटहरीमा विदेशी पर्यटक लैजान सहयोग पुग्ने भन्दै उनले ५ तल्लाको ८० कोठे होटल निर्माण गर्दैछन्। २०२४ बाट होटल सञ्चालनमा ल्याउने लक्ष्य छ। 

हिल्टन डबल ट्री निर्माणाधीन 
शंकर ग्रुपले काठमाडौंको नक्सालमा होटल डबल ट्री निर्माण गरिरहेको छ। अमेरिकी हस्पिटालिटी कम्पनी हिल्टनको विश्वका साढे ६ हजार व्यवस्थापन छन्। डबल ट्री हिल्टन होटलका साढे एक दर्जन ब्रान्डमध्ये एक हो।  

जगदम्बा हस्पिटालिटीले हिल्टनसँग सम्झौता गरे पनि वर्षौँदेखि होटल निर्माण सम्पन्न हुन सकेको छैन। १७५ वटा कोठा सहित १५ तल्लाको होटल नक्सालमा निर्माणाधीन छ। 

बेलायती क्राउन प्लाजा पहिलो, फ्रेन्च मर्क्योर सुकेधारामा बन्दै 
नेपालमा पहिलो पाँचतारे सोल्टी होटलमा इन्टरकन्टिनेन्टल होटल ग्रुपको प्रिमियम ब्रान्ड क्राउन प्लाजा भित्रिएको थियो। यो ब्रिटिस बहुराष्ट्रिय ग्रुपका १८ वटा चर्चित अन्तर्राष्ट्रिय होटल तथा रिसोर्ट ब्रान्ड छन्।

होटल व्यवस्थापक इन्टरकन्टिनेन्टलले साढे २ दशक होटल सोल्टीको व्यवस्थापन सम्हालेको थियो। क्राउन प्लाजा सोल्टीबाट निस्किएर अहिले सीजी होल्डिङ्सले ललितपुरमा होटल निर्माण गरिरहेको छ।

एकर ग्रुपको मर्क्योर २०२६ सम्म काठमाडौंमा तयार हुने भएको छ। काठमाडौंको सुकेधारामा देशबन्धु बस्नेत, विजय मल्ल र राजेन्द्र राउतको लगानीमा मर्क्योर ब्रान्ड भित्रिने भएको हो।

कम्पनीले २०२६ सम्म होटल सञ्चालन गरिसक्ने उल्लेख गरेको छ। एकरको ४० बढी होटल ब्रान्ड छन्। मर्क्योर ‘मिडल स्केल’को होटल हो। एकर ग्रुप फ्रान्सको बहुराष्ट्रिय ब्रान्ड हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .