कारोबार


बन्दगाह बन्दै रसुवागढीको टिमुरे बगर, व्यवसायी भन्छन्– अब खोलाले गाडी बगाउँदैन

बन्दगाह बन्दै रसुवागढीको टिमुरे बगर, व्यवसायी भन्छन्– अब खोलाले गाडी बगाउँदैन

वसन्त अर्याल
असार २३, २०८० शनिबार १२:३०, रसुवागढी

रसुवाको टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहको ४५ प्रतिशत काम सम्पन्न भएको छ। इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको बताए।

चीनसंगको प्रमुख नाका मध्येको रसुवागढीमा अन्तराष्ट्रिय व्यापारमा सहयोग पुर्‍याउन सुख्खा बन्दरगाह निर्माण भइरहेको छ।

नेपाल चीन सीमाभन्दा करिब डेढ किलोमिटर वर टिमुरेमा बन्दरगाहाको काम भइरहेको छ। भोटेकोसी (तल पुगेपछि त्रिशुली) किनारामा ट्रक पार्किङ र गोदाम सहितको सुख्खा बन्दरगाह निर्माण भइरहेको छ। 

केरुङ हुँदै रसुवागढी आईपुग्ने ट्रक व्यवस्थित पार्किङ स्थल नहुँदा सडक छेउछाउमै पार्किङ गर्नुपर्ने स्थिति रहेको छ। दुवैपट्टी चट्टानको बीचमा रहेको नाकामा समथर जमिन नहुँदा खोलाको किनारामा सुख्खा बन्दरगाह निर्माण गर्न लागिएको छ।

२०७६ मंसिरमा शिलान्यास गरिएको आयोजना ३० महिनाभित्र सक्ने योजना रहेको थियो। नेपाल इन्टरमोडल यातायात विकास समितिले कोभिड महामारी लगायतको कारण निर्माणमा ढिलाइ भएको बताएको छ। बन्दरगाह निर्माणमा खटिएका चिनियाँ कामदार लामो समय नेपाल आउन नपाउँदा काम ढिलो भएको उल्लेख गरेको छ। 

‘कोभिड, बाढी लगायतको कारणले ढिलाइ भएको थियो। रिटेनिङ वाल सकिन थालेकाले अरु काम छिट्टै हुन्छ,’ गजुरेलले भने,‘चीनसरकारले अनुदानमा बन्दरगाह निर्माण भैरहेको छ।’

बन्दरगाह निर्माणको ठेक्का तिब्बत फुली कन्स्ट्रक्सन ग्रुप लिमिटेडले पाएको छ। खोला किनारामा ६ सय ६० मिटर लम्बाईको वाल लगाइँदै छ। १३ मिटरको उचाई रहने छ। पार्किङ र गोदाम स्थलमा बाढी रोक्नकोलागि जमिनको सहह भन्दा माथिसम्म वाल उठाइएको छ। 

पहिला ठूलो बाढी आउँदा निर्माणको काममा प्रभावित समेत भएको थियो। हाल जमिन तलको वाल उठाउनेकाम करिब सम्पन्न भएको छ। जमिन माथीको वालको काम भइरहेको छ। 

३५० वटा ट्रकसम्म अट्ने 
चीनको नाका सुख्खा बन्दरगाहा नजिकै भए पनि नेपाल ट्रक चीनको केरुङसम्म समान लिन जाने गरेका छन्। रसुवागढी मितेरी पुलबाट केरुङ करिब ३५ किलोमिटर पर रहेको छ। केरुङबाट आएका ट्रक टिमुरेको भन्सारले जाँचपास गरी नेपाल पठाउने गर्छ। 

‘अहिले केरुङबाट आएका ट्रक कहाँ राख्ने भन्ने छ। बनिरहेको बन्दरगाहमा केही ट्रक पार्किङ हुने गरेका छन्,’ इन्टरमोडलका कार्यकारी निर्देशक गजुरेलले भने, ‘बन्दरगाह बनिसकेपछि पार्किङ व्यवस्थित हुन्छ र ट्रान्सपोर्टेसन खर्च कम गराउने उद्देश्य हो।’

रसुवा बन्दरगाहामा ३५० वटासम्म ट्रक पार्किङ गर्ने डिजाइन गरिएको छ। ७५० वर्गमिटरको गोदाम रहनेछ भने २०८० वर्गमिटरका २ वटा जाँचपास केन्द्र स्थापना हुनेछन्। 

५ हजार वर्गमिटरमा प्रशासकीय भवन निर्माण हुनेछ। अहिले बेसमात्रै बनेको भवन तयार भइसकेको छैन। पाँच तले भवनको पहिलो १ तलामा क्वारेनटाइन र भन्सार कार्यालय, दोस्रो तलामा प्रशासनिक काम, बैंक लगायत रहने छन्। तेस्रो र चौथो तलामा आवासीय क्षेत्र रहनेछन्। ट्रान्सपोर्टको लागत घटाउन सहयोग पुग्ने व्यवसायीको विश्वास गरेका छन्। 

नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव भरत कार्कीले खोलाका किनारामा गाडी राख्नुपर्दा यसअघि गाडी बगाउने समेतका घटना भएको बताए। 

‘सुख्खा बन्दरगाह जति छिटो बनाउन सक्यो व्यवसायीलाई फाइदा हुन्छ,’ उनले भने,‘गाडी पार्किङ गरेर राख्नै समस्या रहेको छ। बन्दरगाह बनिसकेपछि व्यवस्थित र सुरक्षित हुन्छ।’

रसुवा भन्सार कार्यालय प्रमुख अधिकृत रामप्रसाद पाठकले पछिल्लो समय सुख्खा बन्दरगाह निर्माणमा प्रगति भइरहेको बताए। 

‘अहिले बन्दरगाह निर्माणमा राम्रो प्रगति भइरहेको छ,’ पाठकले भने,‘यस्तै रुपमा काम भए धेरै समय कुर्नुपर्दैन।’

पाठकका अनुसार रसुवागडी नाका भएर कस्मेटिक, जुत्ता, लत्ताकपडा, मेसिनरी र गाडीको आयात हुने गरेको छ। 

चीनबाट आउने समान समुद्री नाका र उत्तरी रसुवागढी र तातोपानी नाकाबाट समान भित्रने गरेका छन्। समुद्रतर्फबाट आउँदा ३ महिना समय लाग्छ भने सडकबाट आउँदा १ महिनामै नेपाल भित्रिने व्यवसायी बताउँछन्।  

चीनतर्फको सडक राम्रो भएपनि नेपालतर्फको भने पानी आउने बित्तिकै बिग्रिने अवस्था रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .