नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरमा काम गरिरहेका लघुवित्तलाई क्षेत्रीयकरण गर्ने मोडालिटीमा छलफल सुरु गरेको छ। लघुवित्तहरुले देशभर शाखा विस्तार गरिरहँदा केन्द्रीय बैंकले तिनलाई नयाँ मोडालिटीमा नियमन गर्नेबारे छलफल सुरु गरेको हो।
लघुवित्तहरूले विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाई कर्जा प्रवाह गर्नुपर्नेमा ऋणजति सम्पन्नहरुलाई दिएकाले सम्रग क्षेत्रमा समस्या देखिएको छ। लघुवित्तहरुको खराब कर्जा बढ्दै गएको छ।
लघुवित्तले बैंक तथा वित्तीय संस्थाहरूबाट विपन्न वर्ग शीर्षकमा सापटी लिएर आफ्ना सदस्यहरूलाई सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न बिनाधितो लघु कर्जा तथा स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने कार्य गर्दछन्।
तर, अधिकांश लघुवित्तहरुले धेरै नाफा कमाउने होडमा आक्रामक कर्जा प्रवाह गरेका छन्। थुप्रै लघुवित्तले ऋण उठाउन सकेका छैनन् भने निक्षेपकर्ताको रकम फिर्ता दिन पनि सकिरहेका छैनन्।
केही ठाँउमा लघुवित्त विरुद्ध आन्दोलन समेत भइरहेको छन। केही समूहले लघुवित्तको ऋण नै मिनाहा गराउने जस्ता आश्वासन दिँदा कर्जा उठौतीमा झन् समस्या थपिएको छ।
लघुवित्त क्षेत्रमा समस्या बढ्दै जाँदा नयाँ मोडालिटीमा छलफल सुरु गरिएको नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए। उनका अनुसार लघुवित्तलाई क्षेत्रीयकरण गर्नुपर्ने विषयमा छलफल भइरहेको छ।
‘अहिले अधिकांश लघुवित्त देशभरि जाने, शाखा खोल्ने र व्यवसायमा केन्द्रित भएको देखिएको छ,’ ती अधिकारीले नेपालखबरसँग भने, ‘यसरी देशभरि छरिएर व्यवसायमा मात्र ध्यान दिँदा समस्या देखिएको हो।’
‘अब केन्द्रीय कार्यालय रहेको क्षेत्रमा एक वा दुई प्रदेशमा सेवा सञ्चालन गर्न दिइने गरी छलफल भइरहेको छ,’ उनले थपे, ‘अहिले सिरहाको मानिसलाई दार्चुला पठाइएको छ र दार्चुलाको मानिलाई सिरहा पठाएको छ। यस्तो हुँदा उनीहरुको समन्वय नै हुँदैन।’
स्थानीय तहका जनप्रतिनिधि र लघुवित्तका कर्मचारीबीच सहकार्य नै नहुँदा लघुवित्त प्रभावकारी हुन नसकेको उनको भनाइ छ।
‘लघुवित्तलाई क्षेत्रीयकरण गर्दा अर्को क्षेत्रमा रहेका शाखा सोही क्षेत्रको लघुवित्तमा गाभ्ने हिसाबले कुरा भइरहेको छ,’ उनले भने, ‘जहाँ स्थानीय तहले लघुवित्तको मानिसहरुलाई सहयोग गरेको छ, त्यहाँ समस्या छैन। लघुवित्तले दुःखमा साथ दिएका छन्, यिनीहरुबाट लिएको ऋण तिर्नुपर्छ भनेका छन्, त्यहाँ राम्रो छ। स्थानीय जनप्रतिनिधि नै लघुवित्तको विरोधी भएको ठाँउमा झन् समस्या देखिएको छ।’
लघुवित्तले विपन्नहरुमाझ काम गर्नुपर्नेमा सुकिलामुकिलालाई मात्र ऋण दिनाले समस्या आएको उनको भनाइ छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममै लघुवित्तहरुले वित्तीय पहुँच नपुगेको दूर दराजमा पुगेर गरेको योगदान बिर्सन नहुने उल्लेख गर्दै कसैले ऋण तिर्दिनँ भन्न नपाउने बताउँदै आएका छन्।
उनले केही संस्थाले विकृति गरेको भए कारबाही गर्ने तर सडकमा होहल्ला र आन्दोलन गर्न नपाइने उल्लेख गरे।
लघुवित्त संस्था सुपरीवेक्षण विभागका प्रमुख तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले संस्था र कर्मचारी सबै इमान्दार नभएसम्म जुन मोडालिटीमा जाँदा पनि केही नहुने बताउँछन्।
‘गाँउ–गाँउमा पुगेर वित्तीय पहुँच पुर्याएर दुईचार भैँसी, बाख्रा पालेर भए पनि आफ्नो छोराछोरी पढाउने अवस्था लघुवित्तले बनाएका छन्,’ उनले भने, ‘केही लघुवित्त आफ्नो मूल्यमान्यता बाहिर गएर कर्जा विस्तारमै फोकस भएको देखिन्छ।’
उनले लघुवित्त समस्या अध्ययन समिति गठनले तयार पारेको प्रतिवेदन अनुसार नयाँ मोडालिटीमा जानुपर्ने हुनसक्ने बताए।
यी लघुवित्तको कार्यक्षेत्र देशभर
आर्थिक वर्ष २०७९/०८० को चैत मसान्तसम्ममा कुल ६३ वटा लघुवित्त सञ्चालनमा छन्। जसमा ४५ लघुवित्त वित्तीय संस्थाले ७७ वटै जिल्लामा कार्यक्षेत्र रहेर काम गरिरहेका छन्। त्यसैगरी १८ लघुवित्त वित्तीय संस्थाहरुको कार्यक्षेत्र २० जिल्लाभन्दा कम छ।
खप्तड् लघुवित्तले ९ जिल्ला, अभियान लघुवित्तले २५ जिल्ला, आत्मानिर्भर लघुवित्तले ४ जिल्ला, बीपीडब्लु लघुवित्तले १३ जिल्ला, स्वस्तिक लघुवित्तले ८ जिल्ला, उपकार लघुवित्तले १२ जिल्ला, युनिक लघुवित्तले १० जिल्ला, आदर्श लघुवित्तले १३ जिल्ला, समाज लघुवित्तले ३ जिल्ला, मनकामना लघुवित्तले १२ जिल्ला, स्वाभिमान लघुवित्तले १२ जिल्ला, गुँरास लघुवित्तले १४ जिल्ला, सपोर्ट लघुवित्तले १४ जिल्ला, विन नेपाल लघुवित्तले १३ जिल्ला, सामुदायिक माइक्रोफाइनान्सको १० जिल्ला, जनउत्थान लघुवित्तको १९ जिल्ला र मिथिला लघुवित्तले ८ जिल्लामा कार्यक्षेत्र रही काम गरिरहेका छन्।
अन्य ४५ लघुवित्त भने ७७ वटै जिल्लामा कार्यक्षेत्र रहेर काम गरिरहेका छन्।
जसमा जीवन विकास लघुवित्त, किसान लघुवित्त, श्रृजनशिील लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, सिवाई नेपाल लघुवित्त, धौलागिरी लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, जालपा लघुवित्त, मानुषि लघुवित्त, महिला लघुवित्त, समिट लघुवित्त, सारथि लघुवित्त, एनआईसी एशिया लघुवित्त, साधना लघुवित्त, सबैको लघुवित्त, इन्फिनिटी लघुवित्त, गणपति लघुवित्त, आशा लघुवित्त, आरम्भ चौतारी लघुवित्त, नाडेप लघुवित्त, उन्नती सहकारी लघुवित्त, नेपाल ग्रामिण लघुवित्त, नेसनल माइक्रोफाइनान्स लघुवित्त, सामुदायिक माइक्रोफाइनान्स लघुवित्त, आरएसडिसी लघुवित्त, समता घरेलु लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, एनएमबि लघुवित्त, निर्धन उत्थान लघुवित्त, आरएमडिसी लघुवित्त, डिप्रोक्स लघुवित्त, छिमेक लघुवित्त, स्वालम्बन लघुवित्त, साना किसान लघुवित्त, नेरुडे लघुवित्त, मिथिला लघुवित्त, स्वरोजगार लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स, कालिका, मिर्मिरे, वोमी, लक्ष्मी, सिभिल र विजय लघुवित्त छन्।
राष्ट्र बैंकले लघुवित्तलाई क्षेत्रीयकरण गर्दा ७७ वटै जिल्लामा काम गरिरहेका संस्थाहरु एकदुई प्रदेशमा काम गर्न पाउनेछन्।
Shares
प्रतिक्रिया