कारोबार


खारेज भयो कार्टेलिङ, अब बैंकहरूले घटाउलान् कर्जाको ब्याज?

खारेज भयो कार्टेलिङ, अब बैंकहरूले घटाउलान् कर्जाको ब्याज?

फाइल तस्बिर


केशर बोगटी
असार २९, २०८० शुक्रबार २०:५, काठमाडौँ

नेपाल बैंकर्स संघले लामो सयमदेखि गर्दै आएको ब्याज कार्टेलिङलाई खारेज गर्ने निर्णय गरेको छ।

बैंकर्स संघले भद्र सहमतिका नाममा ब्याजमा गर्दै आएको कार्टेलिङ खारेज गर्ने निर्णय गरेको हो।

बिहीबार बिहान बसेको बैठकले निक्षेपको ब्याज दर तोक्ने जिम्मा सम्बन्धित बैंकहरुलाई नै दिएको हो।

यससँगै अब बैंकहरुले ब्याज आफ्नो संस्थाको अनुकुलतामा घटाउन, बढाउन वा स्थिर राख्न पाउने छन्।

बैंकर्स संघले बैंकलाई नै ब्याजदर घटाउन र बढाउन पाउने निर्णय गरेसँगै ऋणीहरु भने ब्याजदर बढ्न सक्ने चिन्तामा देखिएका छन्। 

अहिले साधारण मुद्दती निक्षेपको ब्याज दर ९.९९ प्रतिशत छ। अब बैंकहरुले चाहे यसको १० प्रतिशतका दरले घटाउन वा बढाउन सक्छन्। 

त्यसो हुँदा ब्याज बढाउन चाहे करिब ११ प्रतिशत नजिक पुग्छ भने घटाउन चाहे ९ प्रतिशत हाराहारीमा आउँछ।

प्राणालीमा रहेको अधिक तरलता हेर्दा बैंकहरुले आगमी दिनमा कर्जाको ब्याजदर नबढ्ने जानकारहरु बताउँछन्।

पूर्वबैंकर भुवन दाहाल ब्याजदर खुल्ला छोड्ने निर्णय सकारात्मक रहेको बताउँछन् । 

उनले सबै बैंकको ब्याजदर एउटै हुँदा बचतकर्तालाई च्वाइस नै नभएको बेला ब्याजदर खुल्ला छोड्ने निर्णय सकारात्मक रहेको टिप्पणी गरे।

‘अहिले बैंकिङ सिस्टममा अधिक तरलता छ। ३÷४ खर्ब पैसाले आगमी वर्ष कर्जा धान्ने अवस्था छ’, उनले भने, ‘अब बैंकहरुले नै ब्याजदर तय गर्न पाउँदा पनि ब्याजदर बढाउछन् जस्तो लाग्दैन।’

अब ग्रहाकलाई मल्टिपल च्वाइसेसको अवसर मिल्ने देखिएको छ । ‘तरलता पनि अधिक हुँदा यस्तो बेलामा कर्जाको ब्याजदर बढाउने भन्ने कुरा मूर्खता हुन्छ,’ दाहालले भने।

‘अहिले कुनै बैंकले निक्षेपको ब्याजदर बढाउदा मात्रै कर्जाको ब्याजदर बढाउनेछन्’, उनले भने, ‘कुनै बैंकले ब्याजदर बढ्यो भने प्री–पे चार्ज धेरै पर्दैन, ग्राहक अर्को बैंक जान्छु भन्छन्। यद्यपि कुनै बैंकले ब्याजदर बढाउलान् जस्तो लाग्दैन।’

लक्ष्मी र सनराइज मर्ज हुँदा पनि २० वाणिज्य बैंक रहन्छन्। ‘यति धेरै बैंकहरु हुँदा कसैले ब्याजदर बढाउने कसैले आँट गर्ला जस्तो लाग्दैन,’ उनले भने। 

अहिले ब्याजदर नै वेश रेटमा लिङ गरेपछि बैंकहरुले जथाभावी ब्याजदर बढाउन पाउँदैनन्। र, प्रिमियमा कन्ट्रोलमा हुँदा ब्याजदर बढाउने देखिँदैन। 

अहिले बजारमा कर्जा (निक्षेप अनुपात, सीडी रेसियो) का हिसाबले करिब ४ खर्ब रुपैयाँ लगानीयोग्य पुँजी छ। अहिले हरेक दिनजस्तो निक्षेप बढेको बढ्यै छ।

निक्षेप बढ्ने तर ऋणको माग नहुने हुँदा बैंकहरुलाई ब्याज घटाउनु पर्ने दबाब थियो। निक्षेपको ब्याज दर नघटी ऋणको ब्याज घट्दैन।

बैंकहरुसँग पर्याप्त तरलता हुँदाहुँदै पनि ब्याज दर महँगो भएकले ऋण माग भइरहेको थिएन। यस्तोमा संघले ब्याज दर खुला छाड्ने उपयुक्त समय भएको भन्दै सम्बन्धित बैंकलाई छाडिदिएको हो।

बैंकरले ब्याज दरमा गरिरहेको कार्टेलिङलाई धेरैले मन पराइरहेका थिएनन्। 

पूर्व गभर्नरहरु र अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि ब्याज दर कार्टेलिङ हटाउन राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्ने सुझाव दिएका थिए।

अर्थमन्त्री महतले मंगलबार एक कार्यक्रममा बैंकरले मिलेमतोमा तोकिरहेको ब्याजदरको अभ्यासको विरोध गरेका थिए। 

उनले यस्ता अभ्यास रोक्न राष्ट्र बैंकलाई आग्रह गर्दै बैंकरलाई पनि गलत अभ्यास नगर्न सुझाब दिएका थिए।

ब्याजदर खुल्ला छोडनु निर्णय बैंकहरुको लागि उपयुक्त रहेको एक बैंकर्सले बताए। उनका अनुसार अब बैंकले आफ्नो रणनीति बनाएर ब्याजदर चलाउन सक्छन्। 

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा ब्याजदर खुल्ला छोड्दा बैंकहरुबीच प्रतिस्प्रर्धा बढ्ने बताउँछन्। 

उनका अनुसार ब्याजदर खुल्ला छोडसँगै अब बैंकहरुबीच प्रतिस्प्रर्धा बढेर नयाँ ग्राहक र उद्यमीले कर्जा पाउने अवस्था बन्ने देखिएको छ।

‘बैंकको एउटा साइजेबल नम्बर भयो भने प्रतिस्प्रर्धा हुन्छ भनेर निजी क्षेत्रका बैंकहरु खोल्न दिइएको हो’, उनले भने, ‘सरकारी बैंकहरु मात्रै प्रतिस्प्रर्धाका लागि पुगेनन् भनेर निजीलाई बैंकिङ क्षेत्र खुल्ला गरिएको हो।’

तर, ब्याजदरको कार्टेलिङले बैंकहरुले आफ्नो रणनीतिअनुसार प्रतिस्प्रर्धा गर्न सकिरहेका थिएनन्।

‘नयाँ–नयाँ उद्यमी र ग्राहकले कर्जा पाउने तथा वित्तीय स्रोतमा पहुँच पुग्ने वातावरण प्रतिस्प्रर्धाले दिन्छ, त्यसको लागि ब्याजदर खुल्ला छोड्नु पर्छ,’ उनले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .