ad ad

कारोबार


पाइलटले आफ्नो स्वामित्वको हेलिकोप्टर उडाउन नपाउने नियमको विरोधमा वायुसेवा सञ्चालक

पाइलटले आफ्नो स्वामित्वको हेलिकोप्टर उडाउन नपाउने नियमको विरोधमा वायुसेवा सञ्चालक

वसन्त अर्याल
असार २८, २०८० बिहिबार २०:२५, काठमाडौँ

पाइलटले आफ्नो स्वामित्वमा रहेको हेलिकोप्टर सञ्चालन गर्न नपाउने नियमको वायु सेवा सञ्चालकहरुले विरोध गरेका छन्। उडान सुरक्षाका लागि भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीको सेयर सदस्य रहेका पाइलटलाई हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाएको थियो।

मंगलबार सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएपछि प्राधिकरणले बुधबार थप सुरक्षाको लागि ५ बुँदे निर्णय गरेको छ। प्राधिकरणले नेपालको आकासमा हुने हेलिकोप्टर उडानलाई थप सुरक्षित, व्यवस्थित गर्न नयाँ नियम बनाइएको जनाएको छ। 

प्राधिकरणको निर्णय छ, ‘सेयर सदस्यको लगानीकर्ताका रुपमा हेलिकोप्टर कम्पनीमा संलग्न भै हाल उडान सञ्चालन गर्दै आएका हेलिकोप्टर चालहकहरुलाई व्यावसायिक उडान सञ्चालनमा रोक लगाउने।’ 

हेलिकोप्टर तथा स्टोल (दुर्गम) विमानस्थलमा हुने दैनिक उडान गतिविधिलाई नियमित रुपमा सुपरीवेक्षण तथा नियमन गर्न एक कमिटी गठन गर्ने निर्णय पनि गरिएको छ।

हेलिकोप्टरको उडान सम्बन्धी हाल विभिन्न विमानस्थलबाट भैरहेको अनुमति कार्य चालु मनसुन अवधिकर साप्ताहिक रुपमा समीक्षा गरी प्राधिकरण प्रधान कार्यालयबाट नै प्रदान गर्ने निर्णय प्राधिकरणले गरेको छ। 

हेलिकोप्टरको उडान सञ्चालन अनुमति दिँदा प्रस्थान विन्दु वा अवतरण विन्दुमध्ये कम्तीमा एक स्थान विमानस्थल हुनुपर्ने उल्लेख गरेको छ। 

चालु मनसुन अवधिभर जसमा माउन्टेन उडान, सिलिङ उडान तथा पुष्प वृष्टिजस्ता  विशेष प्रकृतिका हेलिकोप्टर उडान निषेध गरिएको छ।

वायुसेवा सञ्चालकले भने प्राधिकरणको निर्णय व्यावहारिक नभएको भन्दै विरोध सुरु गरेका छन्। प्राधिकरणलाई चर्को शुल्क तिर्नुपर्ने र उडान पनि गर्न नदिएको वायुसेवा सञ्चालकले बताएका छन्। 

मनाङ एयरको दुर्घटनामा मृत्यु भएका पाइलट मनाङ एयरको सञ्चालक समेत रहेका थिए। चेतबहादुर गुरुङ मनाङ एयरको फ्लाइट सेफ्टी प्रमुख थिए। मनाङ एयर बाहेकका अधिकांश हेलिकोप्टर कम्पनीमा पाइलट नै सञ्चालक छन्। 

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले दुर्घटनाको मुख्य कारण नखोजी बाहिरी निर्णय मात्रै गरेको बताए। प्राधिकरणले गरेका २ वटा निर्णयले हेलिकोप्टर सञ्चालकलाई अप्ठेरो हुने र दुर्घटना कम गर्न सहयोग नगर्ने बताए। 

‘सेप्टेम्बरसम्म अत्यावश्यक बाहेकका उडान नगर्नु भन्दा हेलिकोप्टर कम्पनीको आम्दानी कहाँबाट हुन्छ?’ कँडेलले भने, ‘निजी कम्पनी नाफा गर्नको लागि आएका हुन्। नियामकले दुर्घटना नगर्न उडान नै रोक भन्दा कम्पनी कसरी टिक्न सक्छन्?’

उनले पाइलट कम्पनीको सेयर होल्डर नहुँदा हेलिकोप्टर दुर्घटना हुँदैन भन्ने धारणा गलत रहेको बताए।

‘कम्पनीमा पाइलटको सेयर हुँदा हेलिकोप्टर दुर्घटना हुन्छ भन्ने विश्वमा कहीँ पनि छैन,’ उनले भने, ‘पाइलटलाई नदिए श्रीमती वा आफन्तको नाममा सेयर राख्छ। यसको दुर्घटनासँग कुनै साइनो छैन।’

प्राधिकरणले दुर्घटना कम गर्न ‘इनरुट’मा क्यामेरा राख्ने, मौसम जानकारीको उपकरण थप गर्ने, पाइलटलाई सचेतना कक्षा दिई दुर्घटना कम गर्नतिर लाग्नु पर्ने उनी बताउँछन्। 

हेलिकोप्टर कम्पनीको स्थायित्वका लागि पाइलट सेयरहोल्डर रहनुपर्ने वायुसेवा सञ्चालकहरुको भनाइ छ। सेयर होल्डर हुन नपाउने नियमविरुद्ध सबै कम्पनीका पाइलट र सञ्चालक एकजुट रहेको उनीहरुको भनाइ छ।

‘हवाई सेवालाई सुरक्षित बनाउनु पर्छ। तर दुर्घटना कम गर्न कम्पनीको सेयर भएको पाइलटले उडान नै गर्न नपाउने बनाउनु हुँदैन,’ एक हेलिकोप्टर कम्पनीका अप्रेसन म्यानेजर भन्छन्, ‘प्राधिकरणले यसमा सोच्नु पर्छ। पाइलटबिना कम्पनी चल्न सक्दैन।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका उड्डयन अनुमति शाखा प्रमुख ज्ञानेन्द्र भुलले दुर्घटना कम गराउन सेप्टेम्बरसम्म परीक्षणका लागि यी निर्णयहरु गरिएको बताए।

‘सेयर होल्डर नै पाइलट हुँदा बढी जोखिम लिए कि भन्ने हो,’ उनले भने, ‘आफ्नै कम्पनीको सेयरहोल्डर हुँदा सर्टकर्ट बाटो लिने, बढी जोखिम लिएर उडान भएका हुनसक्ने आशंकामा नयाँ निर्णय गरिएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .