कारोबार


मुआब्जा विवादले नागढुंगा सुरुङमार्गको फ्लाई ओभर निर्माणमा ढिलाइ (भिडिओ)


वसन्त अर्याल
असार ३० , काठमाडौँ

नागढुंगा सुरुङमार्ग आयोजनाले मुआब्जा वितरण गरेपनि फ्लाई ओभर निर्माणका लागि घर खाली गराउन सकेको छैन। स्थानीयका ३–४ वटा घर खाली गराउन नसक्दा फ्लाई ओभरको काम निर्माणमा ढिलाई भइरहेको हो। 

सडकको मापदण्ड अनुसार एकै व्यक्तिको ५० प्रतिशतभन्दा बढी जग्गा जाने भएपछि अप्ठेरो परेको आयोजनाले जनाएको छ। मुख्य सुरुङ मार्गको खन्ने काम ८५ प्रतिशत पुग्न लाग्दा सुरुङमार्गमा पुग्ने फ्लाई ओभर निर्माणको लागि साइट क्लियरेन्स गर्न सकिएको छैन। 

२–३ वटा घर अझै हटाइएको छैन। आयोजना अन्तिम अवस्थामा पुग्दा साना विषयले अप्ठेरो परेको आयोजनाले जनाएको छ। संगै जोडिएको जग्गामा दाईको घर भाईको नाममा रहेको पाइएको हो। 

कलंकी–थानकोट मुल सडकमा जोडिएर  ६ सय १० मिटरको फ्लाई ओभर बन्दै छ। सरकारले करिब १२ रोपनी जग्गा र ५० बढी घरटहरा अधिग्रहणको लागि स्वीकृति दिएको थियो।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नबिनमान श्रेष्ठले दाई-भाईको कचिगंलमा घर खाली गर्न नसकेको स्वीकार गरे। जसकारण फ्लाई ओभर निर्माणको काम डिले भइरहेको उनले बताए। 

‘जग्गाको पैसा दाइले पाइसकेका छन्,’ उनले भने, ‘भाईलेपनि आधा घरको पैसा लिइसकेका छन्। जग्गाको आधा पैसा पाउनुपर्छ भन्दै माग राखेका छन्।’

आयोजनाका अनुसार नियम अनुसार उनीहरूलाई थप रकम दिन सक्ने अवस्था छैन। सतुङ्गल–थानकोट मुल सडक जोडिएको ठाउँमै विवाद भएको छ। 

‘घर नभत्काएसम्म फ्लाई ओभर बनाउन सकिँदैन। ३ वटा घरको खाली गर्न सकिएको छैन,’ श्रेष्ठले भने, ‘त्यसबाहेक  सडकको मादपण्डले सबै जग्गा काटिने, कुलोले काटिने हुँदा समस्या भएको छ।’ 

मापदण्डको कारण सबै जग्गा काटिँदा क्षतिपूर्ति दिन सकिने उपाय खोजिरहेको उनले बताए। प्रहरी प्रशासन लगाएर खाली गर्दापनि हुलहुज्जत हुने  देखेर घरधनीले घर नछाडेपछि कसरी समाधान गर्ने विषयमा स्पष्ट भइरहेको छैन। 

सडक विभागका विकास सहायता कार्यन्वयन महाशाखा प्रमुख डा. विजय जैसीले मुआब्जा वितरण गरेपनि सामाजिक समस्याले घर खाली गर्न नपाइएको बताए। 

‘सरकारले मुआब्जा दिइसकेको छ। सामाजिक समस्या छ,’ जैसीले भने, ‘स्थानीय जनप्रतिनिधीसँग छलफल गरेर समाधान गर्छौं।’चन्द्रगिरी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष राजेन्द्र महर्जनले एउटा घरमा समस्या आएको बताए। उनले त्यसको लागि आयोजनासँग समन्वय भइरहेको दाबी गरे। 

‘सरकारी मापदण्ड अनुसार अधिग्रहण गर्दा एक जना घरबारविहीन हुने अवस्था आयो,’ वडाअध्यक्ष महर्जनले भने, ‘बलम्बु फ्लाई ओभरका अरु समस्या करिब समाधान भइसकेको छन्।’

नागढुंगा सुरुङमार्गको लम्बाई २ किलोमिटर ६८८ मिटर लम्बाई रहेको छ। जसमा २ किलोमिटर बढी खनिइ सकेको छ। जापानको सहुलियत ऋणमा सुरुङमार्ग निर्माण भइरहेको छ। 

आयोजनामा सुरुङमार्ग बाहेक अन्डरपास ३ वटा, ४ वटा बक्स कल्र्भट, १ ओभरपास, ३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन्। सुरुङ मार्ग बाहेक १२ वटा संरचना रहेकोमा फ्लाई ओभरमात्रै निर्माण बाँकी रहेको छ। 

फ्लाई ओभरमा ९५ प्रतिशत जग्गा अधिग्रहण गरिसकेको छ। बलम्बु मुख्य सडकबाट फ्लाई ओभरले सुरुङमार्ग जोड्छ। फ्लाई ओभरका ३ वटा फाउन्डेसन सकिएका छन् भने २ वटा सब स्टकक्चर सकिएको छ। 

फ्लाई ओभरबाट करिब ३ किलोमिटर पहुँचमार्गपछि पूर्वपट्टी सुरुङमार्गमा प्रवेश गर्न सकिन्छ। ज्यालादेवी मन्दिरको छेउँ, त्रिवेणीघाट हुँदै सुरुङमार्ग प्रवेश गर्छन्। 

आयोजना प्रमुख श्रेष्ठले साइट क्लियर भए तुरुन्तै सुरु गर्न सकिने बताए। ‘अहिले राखिएको फाउन्डेशन माथी नै कंकिट ढलान गर्ने हो,’ श्रेष्ठले भने, ‘बाहिरबाट ल्याएर जोड्ने होइन।’

त्यस्तै सुरुङ मार्गको पश्चिमपट्टी भागमा अधिग्रहण गर्ने काम बाँकी नै छ। रिफ्रेसमेन्ट सर्भिस सेन्टर बनाउनका लागि जग्गाको विवाद मिलाउन नसकिएको सुनाए।

सुरुङमार्ग निर्माणको अन्तिम अवस्थामा आउँदा ‘क्रिटिकल इस्यू’ आएको उनी बताउँछन्।

तस्बिर/भिडिओ : सरोज नेपाल र विशाल कार्की

असार ३०, २०८० शनिबार २२:८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .