कारोबार


डेढ दर्जन बैंक तथा वित्तीय संस्थालाई पुँजीकोषको चाप, कर्जा विस्तार गर्न कठिन

डेढ दर्जन बैंक तथा वित्तीय संस्थालाई पुँजीकोषको चाप, कर्जा विस्तार गर्न कठिन

फाइल तस्बिर


केशर बोगटी
साउन १०, २०८० बुधबार ९:१६, काठमाडौँ

आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमाससम्म हेर्दा डेढ दर्जन बैंक तथा वित्तीय संस्थालाई पुँजीकोषको चाप देखिएको छ। सो अवधिमा ११ वाणिज्य बैंक र ७ विकास बैंकको पुँजीकोषमा चाप देखिएको हो।

पुँजीकोष चाप हुने बैंक तथा वित्तीय संस्थालाई थप व्यवसाय विस्तार गर्न कठिनाइ हुन्छ। प्राथमिक पुँजी कोष नपुगेको अवस्थामा त राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने गर्छ।

गत वर्ष मात्रै प्राथमिक पुँजी सीमा नपुगेका ४ वाणिज्य बैंकले प्रतिफल (लाभांश) बाँड्न पाएनन्।

राष्ट्र बैंकले गत वर्ष ५ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा विस्तार हुने अनुमान गरिएकामा २०८० असार मसान्तसम्म १ खर्ब ४१ अर्ब रुपैयाँमात्र निजी क्षेत्रतर्फ कर्जा गएको छ। 

बैंकहरूसँग अधिक तरलता हुँदा समेत कर्जा खुम्चिाएका थिए। कर्जा खुम्चिनाका थुप्रै कारणमध्ये पुँजीकोष पनि एक हो। 

त्यसमाथि राष्ट्र बैंकले ‘काउन्टर साइक्किल क्यापिटल बफर’ कार्यान्वयनमा ल्याउन लागेको छ। यसले पनि बैंकहरूको पुँजीमा थप चाप पर्ने भएको छ।

राष्ट्र बैंकले पहिलो चरणमा ०.५ प्रतिशत काउन्टर साइक्किल क्यापिटल बफरको व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो। 

योसँगै पुँजीकोष ९ प्रतिशत तल भएका बैंकहरु प्रभावित हुने भएका हुन्। 

यता मौद्रिक नीतिमा आर्थिक वर्ष २०८०/०८१ बाट राष्ट्रियस्तरका विकास बैंकले क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार पुँजीकोष कायम गर्नुपर्नेछ उल्लेख छ। 

यो व्यवस्थाले थप राष्ट्रिय स्तरका विकास बैंकलाई प्राथमिक पुँजीकोष चाप पर्ने देखिएको छ। 

अब राष्ट्रियस्तरका विकास बैंकले क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार पुँजीकोष कायम गर्दा साढे २ प्रतिशत प्राथमिक पुँजी थपिनेछ।

२०७९/०८० को तेस्रो त्रैमाससम्म अधिकांश राष्ट्रियस्तरका विकास बैंकको प्राथमिक पुँजी कोष ८ प्रतिशत हाराहारीमा छ। 

पुँजीकोष चाप रहेका राष्ट्रिय स्तरका विकास बैंकलाई नयाँ व्यवस्थाअनुसार पुँजी बढाउन ठूलै चुनौती हुनेछ। 

गत वर्षसम्म फाइनान्स कम्पनी र विकास बैंकहरूले क्यापिटल एडुकेसी फ्रेमवर्क २००८ अनुसार पुँजी कोष कायम गरिरहेका थिए। पुरानो व्यवस्थाअनुसार राष्ट्रिय स्तरका विकास बैंकले ६ प्रतिशत प्राथमिक पुँजी कोष र ४ प्रतिशत पुरक पुँजी गरी १० प्रतिशत पुँजीकोष कायम गरिरहेका थिए। 

यसले पनि राष्ट्रियस्तरका विकास बैंकमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सहज भए पनि लगानी बढाउन सकस नै पर्छ। 

त्यसमाथि चालू आर्थिक वर्ष राष्ट्र बैंकले ५ खर्ब ६२ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरेको छ। यो वर्ष पनि अनुमान गरिएजस्तै कर्जा विस्तार हुने सम्भावना कम छ।

यता सरकारले आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेको छ। यो लक्ष्य पूरा गर्न आर्थिक गतिविधि विस्तार भए मात्रै सम्भव देखिन्छ।

पुँजीकोष चाप भएका बेला नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि लिएको कर्जा विस्तार लक्ष्य पूरा गर्न बैंकहरू असमर्थ हुने बैंकरहरूले संकेत गरेका छन्। 

बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले अधिकांश बैंकमा पुँजी कोष चाप हुँदा कर्जा विस्तार गर्न नसक्ने अवस्था रहेको बताए। 

‘केही बैंकहरूमा पुँजी कोषको चाप छ। यस बारेमा मौद्रिक नीतिले केही बोलेको छैन’, उनले भने, ‘कर्जा वृद्धि लक्ष्य पूरा गर्नकै लागि पनि पुँजीमा सहजता आवश्यक छ।’

राष्ट्र बैंकले सर्कुलर वा अन्य कुनै माध्यममार्फत यो विषयको सम्बोधन गर्छ भन्ने अपेक्षा गरेका केसीले बताए। 

‘विगतका तथ्यांक हेर्दा कर्जा वृद्धिमा राखिएको लक्ष्य पूरा भएका छैनन्, अहिले ५ सय ६५ अर्बको लक्ष्य राखिएको छ,’ अध्यक्ष सुनिल केसीले भने, ‘आफैंमा च्यालेन्जिङ ग्रोथको टार्गेट राखिएको छ। अब मौद्रिक नीतिको समीक्षा यो कुरा समिटिनुपर्छ।’

यस्तो अवस्थामा कर्जा विस्तार लक्ष्य पूरा गर्न चुनौती रहेको बताएको केसीको भनाइ छ। 

राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि ५ खर्ब ६४ अर्ब अर्थात् करिब ११ प्रतिशत कर्जा वृद्धि लक्ष्य राखेको छ। तर, उक्त लक्ष्य पूरा  गर्ने गरी बैंकहरूसँग पर्याप्त पुँजी नभएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .