कारोबार


अझै थालेनन् बैंकहरूले कर्जा विस्तार

अझै थालेनन् बैंकहरूले कर्जा विस्तार

केशर बोगटी
साउन ११, २०८० बिहिबार १०:५७, काठमाडौँ

आर्थिक वर्ष सुरु भए पनि बैंकहरूले कर्जा लगानी बढाउन सुरु गरेका छैनन्।

अधिक तरलता हुँदा पनि बैंकहरुले कर्जा लगानी खुम्च्याउँदै गइरहेका छन्।

विगतलाई हेर्दा बैंकहरूको साउनमा कर्जा विस्तार न्यून नै हुने गरेको देखिन्छ। तर, यो वर्ष परिस्थिति फरक छ।

यतिबेला बैंकहरूसँग लगानीयोग्य रकम (तरलता) सहज छ। त्यसमाथि गत वर्षदेखि नै बैंकहरु निक्षेप थुपारेर कर्जा लगानी नगरी बसेका छन्।

गत वर्ष ब्याजदर उच्च हुँदा कर्जाको माग न्यून हुनाका साथै बैंकहरू खराब कर्जा घटाउन रिकोभरीमा लाग्दा व्यवसाय खुम्चिएको थियो।

असार अन्तिममा रिकोभरीको समय भन्दै कर्जा लगानी नगरी बसेका बैंकहरु आर्थिक वर्ष २०८०/०८१ नयाँ रणनीति बनाएर व्यवसाय विस्तारमा होमिने बताउँदै आएका थिए।

तर, अझै पनि बैंकहरु कर्जा विस्तारमा कुनै रणनीति बनाएर अघि बढेको देखिँदैन।

आर्थिक वर्षको पहिलो एक सातामा मात्रै बैंकबाट २६ अर्ब रुपैयाँ कर्जा प्रवाह घटेको छ।

गत असार ३१ गतेसम्म बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ७९ अर्ब रुपैयाँ लगानी गरेकोमा साउन ७ गते आइतबारसम्ममा आइपुग्दा २६ अर्बले घटेर कर्जा प्रवाह ४८ खर्ब ५३ अर्बमा सीमित भएको छ।

सोही अवधिमा वाणिज्य बैंकहरुको मात्रै ४३ अर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। साउन ७ गतेसम्म आइपुग्दा बैंकको कर्जा प्रवाह २० अर्ब कर्जा प्रवाह घटेर ४२ खर्ब ९५ अर्बमा सीमित भएको छ।

साथै, गत आर्थिक वर्षको अन्तिम दिनमा बैंकहरूमा ५७ खर्ब ६७ अर्ब निक्षेप रहेको थियो। जुन साउन पहिलो एक सातमा १३७ अर्बले निक्षेप घटेर ५६ खर्ब ३० अर्बमा सीमित भएको छ।

स्थानीय तहको खाताको पैसा बाहिरिँदा एक सातामा १ अर्ब बढी निक्षेप घटेको बैंकरहरुले बताउँदै आएका छन्।

पछिल्लो एक सातामा १३७ अर्ब निक्षेप घट्दा २६ अर्ब कर्जा प्रवाह घटेको छ। आर्थिक वर्ष सुरु भए पनि बैंकहरुले कर्जा प्रवाह सुरु नगर्दा एक सातामा २६ अर्ब रुपैयाँ कर्जा घटेको एक बैंकरले बताए।

उनका अनुसार बैंकहरुले नयाँ कर्जा दिन थालेका छैनन्। नयाँ कर्जा नदिएपछि ‘टर्म लोन’ लगायतका कर्जाको किस्ता उठ्दा कर्जा प्रवाह घट्न पुगेको हो।

‘कर्जाको डिमान्ड आइरहेको छ। तैपनि हामी नयाँ रणनीतिअनुसार अगाडि बढ्नुपर्ने छ’, ती बैंकर्सले नेपालखबरसँग भने, ‘यसअघि प्रवाह गरेको लोन उठाउन गाह्रो परेको अवस्थामा नयाँ कर्जा प्रवाहको रणनीति तयार पार्दै छौं।’

तत्काल कर्जाको डिमान्ड भए पनि रणनीति तयार नहुँदा कर्जा प्रवाह भने सुस्त रहेको उनले बताए।

साथै, मौद्रिक नीतिमा चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरवलोकन गरिने उल्लेख छ।

‘चालु पुँजीका कारण अधिकांश बैंकहरु टर्म लोनमा अघि बढेको अवस्था छ’, उनले भने, ‘अब सर्कुलरमा के आउँछ त्यसले पनि अझै कर्जामा डिमान्ड बढ्ला।’

साथै, मौद्रिक नीतिमा घर कर्जाको पहिलो सीमा १ करोड ५० लाखको सीमा २ करोड रुपैयाँ पुर्‍याएको छ। यस्तो कर्जाको सीमा बढाउँदा घर कर्जा डिमान्ड बढ्नेछ।

यता सेयर धितो कर्जा, रियल स्टेट कर्जा र हायर पर्चेज कर्जाको जोखिम भार पुनरवलोकन गरिने उल्लेख छ। यसले कर्जा त बढ्ने नै भयो साथै सरकारको राजस्व बढाउन समेत मद्दत गर्छ।

कर्जामा माग भए पनि यसअघि जस्तो अन्धाधुन्द कर्जा प्रवाह गरिहाल्नुपर्ने अवस्था नभएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .