ad ad

कारोबार


चीनमा बजार लिइरहेको हिमाली ‘रसुवा’ अब पानी जहाजबाटै जापान निर्यात

चीनमा बजार लिइरहेको हिमाली ‘रसुवा’ अब पानी जहाजबाटै जापान निर्यात

वसन्त अर्याल
साउन १७, २०८० बुधबार ७:२४, काठमाडौँ

गणेश भण्डारी रसुवा ब्रान्डको पानी निर्यात सहजीकरण गर्न जापान पुगे। नेपाली दूतावास, नेपाली र जापानी व्यवसायीसँग भेटघाट गरे। अनि पानी निर्यातसम्बन्धी एउटा कार्यक्रम गरी अघिल्लो हप्ता उनी नेपाल फर्किसकेका छन्। 

त्यसैको उपलब्धिस्वरुप पहिलो पटक जापानमा रसुवा ब्रान्डको कन्टेनर जहाजमार्फत पुर्‍याइँदैछ। जापानमा पानी वितरण र ब्रान्डिङको लागि सम्झौता पनि भइसकेको छ। नेपालीलाई हिमालको पानी विदेशमा ब्रान्डिङ गर्न उनले आह्वान गरेका छन्। 

‘विश्वमा रहेका नेपालीले हिमालको पानीको ब्रान्डिङ गर्न दूत बन्नुपर्छ,’ जापान आयोजित एक कार्यक्रममा भण्डारीले भने, ‘विदेशमा रहेका नेपालीले अब पानीमा लगानी गर्नुपर्छ। पानी निर्यातबाटै ठूलो आम्दानी गर्न सकिन्छ।’

उनी हिजोको दिनमा नेपालमा लगानीका लागि जलविद्युतको युग रहेकोमा अब जलको युग सुरु भएको बताउँछन्।

उनलाई नेपाली दूतावास जापानले पानी निर्यात गर्न सहयोग गर्ने आश्वासन पनि दिएको छ।

‘नेपालको हिमालको पानीले एउटा सूचक भएर काम गर्ने छ,’ जापानका लागि नेपाली राजदुत दुर्गाबहादुर सुवेदी भन्छन्, ‘नेपाल र जापानको वाणिज्य सम्बन्धलाई पनि सुदृढ गर्ने छ।’

यसरी सुरु भएको थियो रसुवा ब्रान्ड
हालसम्म करिब ३० कन्टेनर रसुवा ब्रान्डको पानी निर्यात भएको छ। कोभिड महामारीको कारण लामो समय चीनमा निर्यात अवरुद्ध भयो। पछिल्लो समय नियमित निर्यात हुँदै छ। 

झण्डै २ दशकदेखि चिनियाँ व्यवसायीसँग राम्रो सम्बन्ध बनाएका भण्डारी चीनमै निर्यात गर्ने लक्ष्य राखेको बताउँछन्। 

‘चिनियाँ व्यवसायीसँग चिनजान थियो। त्यहाँ सरकारी निकायसँग कुरा गर्दा नेपालको प्रोडक्ट खरिद गर्न तयार देखिए,’ उनी भन्छन्, ‘गुणस्तरीय पानी चाहिन्छ। चीनको मापदण्ड पूरा हुनुपर्ने सर्त राखे।’

रसुवा ब्रान्डको पहिलो निर्यात चीनमै भयो। अहिले पनि चीनमा हुने थुप्रै प्रदर्शनीहरुमा ‘रसुवा’ को आफ्नै स्टल हुन्छ। चिनियाँ व्यवसायीले नै ‘रसुवा’ ब्रान्डको पानी बिक्री गरिरहेको भण्डारी बताउँछन्।  

‘अहिले सबैभन्दा बढी चीनमै निर्यात हुन्छ,’ भण्डारी भन्छन्, ‘जापान, कतार र अस्ट्रेलिया नियमित निर्यात गर्न थालेका छौँ।’

चीनका विभिन्न सहरमा वीरगञ्जको बाटो हुँदै पानी जहाजमार्फत ‘रसुवा’ पुग्ने गरेको छ। निर्यातको लागि पानीभन्दा यातायात खर्च बढी छ। अहिले समुद्र र हवाई दुवै मार्गबाट विदेशमा पानी निर्यात हुन्छ।

सुरुमा कतारमा पानी हवाई कार्गो मार्फत पठाइएको थियो। तर भाडादर उच्च हुँदा कतारमा बिक्री गर्न अप्ठेरो भयो। 

‘कतारमा हवाई मार्गबाट पठाउँदा धेरै नै महंगो भयो। सबै देशमा जहाजबाटै निर्यात हुँदै आएको छ,’ भण्डारीले भने। 

रसुवा ब्रान्डले विदेशमा वितरक नियुक्त गरी पानी पठाउने गरेको छ। ती एजेन्सीले नै उक्त देशमा ब्रान्डिङ र वितरणको काम गर्छन्। 

‘ट्रायलको रुपमा ल्हासामा पानी पठाएका छौँ,’ उनी भन्छन्, ‘बेइजिङ, सांघाई, हुनान सहरमा रसुवा ब्रान्डको पानी गइरहेको छ।’

चीनपछि जापानमा धेरै निर्यात हुने कम्पनीले विश्वास गरेको छ। 

कम्पनीले पानीको उत्पादन क्षमता बढाउन नयाँ प्लान्ट राख्ने योजना बनाएको छ। रसुवामा अहिले सञ्चालनमा रहेको प्लान्ट आन्तरिक बजारको लागि प्रयोग गर्ने र विदेशमा निर्यात गर्न छुट्टै प्लान्ट बनाउने योजना छ। 

‘निर्यात गर्न अहिलेको क्षमताले पुग्दैन बढाउनु पर्छ,’ उनी भन्छन्, ‘क्षमता बढाउन खोजिरहेका छौँ।’

रसुवाले अहिले १ लिटर, ५०० एमएल र ३०० एमएलको बोतल उत्पादन गरिरहेको छ। त्यसमा ५०० र ३०० एमएलको प्रोडक्ट बढी निर्यात हुन्छ। 

अघिल्लो वर्ष नेपालले कुल ८२ लाख २० हजार लिटर पानी निर्यात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ। नेपालले मिनरल, आइस र सुगर मिश्रित पानी निर्यात गर्दै आएको छ। पानी निर्यातबाट नेपालले अघिल्लो वर्ष ५४ करोड ३९ रुपैयाँ आम्दानी गरेको छ। 

नेपालको मिनरल वाटर फ्रान्स, जर्मनी, जापान, यूएई, अस्ट्रेलिया, भुटान र भारतमा निर्यात भएको विभागले उल्लेख गरेको छ। कुल पानी निर्यातमध्ये सबैभन्दा बढी भारतमा नै निर्यात हुने गरेको छ। 

हिमालयन जाभादेखि पर्यटकीय होटेलमा रसुवा ब्रान्ड
ट्रेडिङ व्यवसायी गणेश भण्डारीले साढे २ दशक बढी समय नेपाल–चीन ओहोरदोहोरमै बिताए। चीनबाट इलेक्ट्रोनिक्स सामग्री नेपाल ल्याई बिक्री गरे। त्यसपछि उनले साथीहरुसँग मिलेर आफ्नै उद्योग खोल्ने सोच बनाए। 

‘हाम्रो भाग्य, रसुवाको धुन्चेमा एउटा पुरानो दर्ता गरेर राखेको कम्पनी रहेछ,’ उनी भन्छन्, ‘कम्पनी दर्तावालसँग कुराकानी भयो। उहाँले हिल टप ब्रान्डमा स्थानीय बजारमा पानी बिक्री गरिरहनुभएको थियो।’

त्यही कम्पनी थियो– रुद्रगंगा नेचुरल वाटर प्रालि। यो कम्पनी २०६६ सालमा सान्तेम्बा तामाङको नाममा दर्ता थियो। 

स्थानीयसँगको साझेदारीमा उद्योग सञ्चालन गर्ने सहमति गरेकाले भण्डारी र उनका साथीहरुको ७० प्रतिशत र ३० प्रतिशत सेयर तामाङ परिवारको रहने गरी सन् २०१७ मा स्वामित्व परिवर्तन भयो।

१५ रोपनी जग्गामा फैलिएको उद्योगलाई आधुनिकीकरण गर्न चीनबाट जर्मन प्रविधिको मेसिन ल्याइयो। उद्योग निर्माण सुरु भयो। २०१९ मा उद्योग तयार भयो।  

त्यतिबेलै करिब १२ करोड रुपैयाँ उद्योग स्थापनाको लागि खर्च गरेको भण्डारी बताउँछन्। अहिले त्यो लगानी बढेर धेरै माथि पुगेको उनले बताए। 

अहिले ‘रसुवा’ ब्रान्डको पानी विदेश निर्यातमात्र होइन, नेपालमा पनि राम्रै बिक्री हुन्छ।

नेपालमा हिमालयन जाभा, ठमेलका पर्यटक जाने ठूला र चर्चित रेस्टुराँहरु, कूटनीतिक नियोगहरुमा ‘रसुवा’ को माग उच्च छ। भाटभटेनीलगायतका डिपार्टमेन्टल स्टोरहरुमा पनि रसुवा उपलब्ध रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .