ad ad

कारोबार


बाटोको विकल्पै नदिई वर्षे भेलमा भत्काइयो सामाखुसी खोलाको स्ल्याब

वर्षामा बगाएर लैजाने डर, हिउँदमा दुर्गन्धको पीर

वसन्त अर्याल
साउन २४ , काठमाडौँ

तीन वर्षअघि सामाखुसी रानीबारीकी बेली तामाङले पुरानो घर भत्काएर ५ तले बनाइन्। उनको घर दुवैपट्टी अन्य ठूला घर छन्। खोलाको किनारै किनार बाटो खोजे पनि पाउन सक्दिनन्।

तामाङले खोलामाथि ७–८ लाख रुपैयाँ लगाएर स्ल्याब हालिन्। आफ्नो घर जाने बाटो बनाइन्।

‘करिब ३० वर्ष अघिबाटै खोलामाथि स्ल्याब हालेर बाटो बनाइँदै आएको थियो,’ तमाङले सुनाइन्,‘अहिले काठमाडौं महानगरपालिकाको टोली आएर एक्कासि भत्कायो। अब घर जाने बाटो कहाँबाट बनाउने?’

महानगरले स्ल्याब भत्काउने बेलामा उनी कराएपछि मानिस हिँड्ने बाटोसम्म छोडेका छन्। तर, गाडी लैजान मिल्दैन। बाटोको अर्को विकल्प छैन।

‘सबैले बनाएको देखेर गन्हाउने खोलामा स्ल्याब हालेका हौँ,’ उनले भनिन्,‘महानगर आएर भत्काइदियो। खोलाका दुवै किनारा सडक बनाउने भनेको छ। तर एकापट्टी नक्सा पास गरेरै घर बनेका छन्।’

उनले नयाँ घर ५ मिटर खाली ठाउँ छाडेर बनाएकी छन्। त्यो जग्गा पनि आफूले पैसा हालेरै किनेको सुनाइन्। विकल्पबिना भत्काउँदा स्थानीयलाई अप्ठेरो परेको उनको गुनासो छ।

सामुखुसी खोला किनारमै १५ वर्षदेखि नारायण बानियाँले किराना पसल चलाइरहेका छन्। २०३६ सालदेखि उनी पनि सोही क्षेत्रमा बस्दै आएका हुन्। स्ल्याब हुँदा किनारा पसलसँगै तरकारी राख्थे, अहिले बाहिर राख्ने ठाउँ नहुँदा ग्राहाक पनि आउन छाडेका छन्।

‘पहिला स्ल्याब बनाउन जनप्रतिनिधिकै सहयोग रहेको थियो,’ बानियाँले सुनाए, ‘अहिलेका जस्ता मेयर कति आए कति गए, तर दादागिरी देखाएका थिएनन्।’

वर्षेभलको बीचमा महानगरले स्ल्याब भत्काएर छाडेकोमा स्थानीय आक्रोशित बनेका छन्।

‘पानी आउनेबित्तिकै कहाँ बाटो हो कहाँ खोला छ थाहा हुँदैन,’ आक्रोशित भएका उनले भने, ‘भएको संरचना भत्काउन त सजिलो हुन्छ। तर यसलाई कसरी व्यवस्थित बनाउने अहिलेसम्म योजना छैन।’

बाटो र खोलाको भेद छुटाउन नसक्दा खोलामा पर्न सक्ने बताए। कात्तिक-मंसिरमा पानी सुक्दै जाँदा खोलानजिकका घर बस्न नसक्ने बताए।

‘कान्ति बाल अस्पतालदेखि प्रहरी तालिम केन्द्रसम्मको ढल यही खोलामा बग्छ,’ उनले भने,‘मंसिरपछि त कसरी बस्ने होला? खुल्ला ढल छाडेपछि कुन कुन रोग लाग्छ थाहा छैन।’

काठमाडौं महानगरपालिकाले स्थानीयलाई सडकबाट कति फिट छाड्ने स्पष्ट भनेको छैन। महानगर आफैंले स्ल्याबलाई बाटो देखाएर घरको नक्सा पास गरेको छ।

कलाकार यादव बैरागीको घरको पर्खाल मंगलबार बिहान भत्कियो। कच्ची घर भत्किएर उनका लत्ता कपडा र दराज खोलामा खसे। एक हात गुमाएका बैरागीले समान उठाइदिन प्रहरीलाई फोन गरे। प्रहरी आए। तर खोलाले बगाएर पर पुर्‍याएका दराज, लत्ता कपडा निकालिदिएनन्।

‘महानगरले डोजर हान्दा चर्किएको थियो कि! आजको बाढीले घरको पर्खालसहित भत्कायो,’ निराश हुँदै बैरागीले भने,‘म सँग भएको सबै चिज लग्यो। त्यो समान घरभित्र ल्याउने हाम्रो काम होइन भनेर प्रहरी गए।’

स्ल्याब भत्कायौं, अब ढल हालेर व्यवस्थित गर्छौं : वडा अध्यक्ष
सामाखुसी रानीबारी काठमाडौं महानगरको वडा नम्बर २६ मा पर्छ। त्यसका अध्यक्ष छन् ख्यामराज तिवारी। सामाखुसी करिडोरको सुधारका लागि पहिलो चरणमा स्ल्याब भत्काउने काम भएको वडाअध्यक्ष तिवारीले बताए।

उनले घरको नक्सा पास भए नभएको अवस्था हेरेर निर्णय गर्ने बताए।

‘सामाखुसी खोला पुरानो हो। त्यसको मापदण्ड हेरेर निर्णय गर्नुपर्छ,’ वडाअध्यक्ष तिवारीले भने,‘कति जग्गाका पुर्जा बनेका छन्। कतिका नक्सापास भएका छन्। छलफल गरेर करिडोर कसरी बनाउने निर्णय गर्छौं।’

उनले जग्गाको लाजपूर्जा भएका र नक्सा पास गरी घर बनाएकाले क्षतिपूर्ति दिन सकिने बताए। सामाखुसी खोलामा एक दुई ठाउँमा सुकुम्बासी छन्।

तिवारीले दुवैतिरबाट ढल हाल्नेगरी डीपीआरको काम गरिरहेको बताए। विकास निर्माणको काम गर्दा पीडित बन्नेलाई व्यवस्थापन गर्दै योजना अघि बढाउने दाबी गरे।

‘करिडोर भनेपछि दुवैतिर सडक हुनुपर्छ तर हाम्रोमा एक तिर घर छन् एक तिर बाटो छ,’ उनले भने,‘पहिलो चरणमा खोला सफा गर्ने, दोस्रो चरणमा ढलको व्यवस्थापन गर्ने र तेस्रो चरणमा बाटो विस्तार गर्ने योजना छ।’

उनले अबको ३–४ महिनामा कुन ठाउँमा बाटो खुल्छ खुल्दैन टुंगो लाग्ने बताए। स्ल्याब नभई घरबाट निस्कन नमिल्नेलाई अस्थायी संरचना बनाउन आग्रह गरेको बताए।

‘घरसम्म जाने निकास बन्द गर्ने मनसाय होइन,’ उनले भने,‘अहिले केही घरलाई समस्या परेको छ। सानो निकासी बनाउन दिने भनेका छौं।’

स्ल्याब भत्काउँदा मंसिरपछि ढल गन्हाएर बस्न सक्ने अवस्था नहुने वडाअध्यक्ष तिवारीले स्वीकार गरे। पहिला स्थानीयले खोला गन्हाएको भन्दै स्ल्याब हालेको तर कसैले नरोक्दा अहिले अप्ठेरो भएको उनको भनाई छ।

‘पहिला जनप्रतिनिधि पनि भएनन्। भोटको राजनीति पनि भयो होला,’ उनले भने,‘पहिला कडाइ नगर्दा अहिले स्थानीयलाई नै अप्ठेरो परेको छ।’

तस्बिर/भिडिओ : सरोज नेपाल

साउन २४, २०८० बुधबार ११:५६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .