कारोबार


८५ करोड लागतमा बन्यो प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि ‘आलिसान क्वार्टर’ (तस्बिर/भिडिओ)

प्रत्येक ब्लकमा नेमप्लेट, जेनेरेटर र वाटर ट्रिटमेन्ट प्लान्टको सुविधा

वसन्त अर्याल
भदौ ११ , काठमाडौँ

संघीय सरकारले सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई बनाएका आवास हस्तान्तरण गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशहरूलाई आवास हस्तान्तरण गरेका हुन्।

प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई भैंसेपाटीमा काठमाडौंमा आएको बेला बस्न सुविधा सम्पन्न आवास बनाएको छ। प्रदेशहरूका लागि ७ वटा भवनमा १४ वटा ब्लक निर्माण गरिएको छ।

एउटै भवनमा दुई वटा ढोकाबाट आफ्नो ब्लकमा प्रवेश गर्न सकिन्छ। ब्लकको अगाडी प्रदेश प्रमुख र मुख्यमन्त्रीको नम्बर प्लेट राखिएको छ। 

प्रधानमन्त्री पुषपकमल दाहालले सुन्दर ठाउँमा आवास र सम्पर्क कार्यलय स्थापना गरिएको बताए। प्रधानमन्त्री दाहालले संघीयता कार्यन्वयनमा  यसले थप भूमिका खेल्ने पनि बताए।

प्रधानमन्त्री प्रचण्डले क्वाटर छान्न ‘लिगलिगे दौड’ले हुने गरेको उल्लेख गर्दै भवनमा नै नाम लेखिएको बताए।

‘मन्त्री क्वाटरको लागि एक किसिमको लिगलिगे दौड हुने गरेको थियो,’ दाहालले भने, ‘केही महिनाभित्रै निर्माण सम्पन्न हुन लागेका मन्त्री क्वाटरमा मन्त्रालयको नाम राखिदिनु होला।’

भवनमा नाम राख्दा सरसफाइ र व्यवस्थापन गर्न पनि सहज हुने उनले बताए। 

शहरी विकास मन्त्री सिता गुरुङले प्रदेश सरकारले संघसंग समन्वय गर्नुपर्ने भएकाले सम्पर्क कार्यालयको रुपमा स्थापना गरेको बताइन्।
उनले प्रदेश प्रमुख र मुख्यमन्त्रीको एउटै भवन भएपनि ब्लक छुट्टै रहेको जानकारी गराइन्।

कसको ब्लक कुन भन्ने हानथाप नहोस् भन्नका लागि प्रत्येक ब्लकमा छुट्टाछुट्टै ‘नेमप्लेट’ राखिएको छ। 

उनले नयाँ र स्मार्ट शहर बनाउन शहरी विकास मन्त्रालयले कार्यक्रम गर्न लागेको बताइन्। आयोजना निर्माण समयमै सम्पन्न गर्नुपर्ने बताइन्।
सहरी विकास सचिव रविन्द्र श्रेष्ठले २०७६ असोजमा ठेक्का लागेकोमा ४ वर्षमा सम्पन्न गरेको बताए। केसी/समानान्तर जेभीले पूर्वधार निर्माणको ठेक्का पाएको थियो भने न्यू टेक्निकलले फनिर्चर र फिर्निसिङ लगायतको व्यवस्था गरेको छ।

२ वर्षभित्र ठेक्का सम्पन्न गर्नुपर्ने भएपनि चार वर्षमा निर्माण सकिएको हो। 

आवासमा २५० केभिएको स्वचालित जेनेरेटर, वाटर ट्रिटमेन्ट प्लान्ट रहेको छ। खानेपानीको लागि बोरिङको व्यवस्था गरिएको छ। ६ तहमा ट्रिटमेन्ट गरेर पानी अटोमेटिक सिस्टम जडान गरिएको छ। १ लाख ३५ हजार लिटर क्षमताको पानी ट्यांकी रहेको छ। 

आपतकालिन व्यवस्थाको लागि अग्नी नियन्त्रणसहित बाह्यद्वार समेत निर्माण गरिएको छ। आगलागी नियन्त्रणका लागि ६० हजार लिटरको पानी ट्यांकी छुट्टै छ। आकर्षक बनाउन पानीको फोहोरा, रातिमा रंगिन फोहोरा सहित फलफुलका बिरुवा रोपिएको छ। 

सम्पर्क कार्यालय तथा आवासको सुरक्षाका लागि गृहमन्त्रालयलाई आग्रह गरेपनि अहिलेसम्म व्यवस्था नभएको सचिव श्रेष्ठले बताए।

शहरी विकास मन्त्रालयका अनुसार २७ रोपनी १२ आनामा भवन निर्माण गरिएको छ। भवनहरूको निर्माण लागत ८५ करोड रुपैयाँ बढी लगानी छ। 

३ तल्लाको भवनमा बैठक कक्ष, योग अभ्यास कक्ष, स्वागत कक्ष, भान्सा कोठासम्मको व्यवस्था गरिएको छ। 

सरकारले अहिले  प्रदेश प्रमुख र मुख्यमन्त्री काठमाडौं आउँदा  अपार्टमेन्टमा भाडा तिरेर राखेको थियो।

राष्ट्रिय सभा र मन्त्री क्वाटर निर्माण अन्तिम चरणमा
सरकारले भैंसेपाटीमै संघीय सरकारका मन्त्रीहरूका लागि नयाँ आवासगृह निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। 

राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख र संघीय मन्त्रीहरूका लागि २७ वटा  निर्माणाधीन रहेका छन्। 

मन्त्री क्वाटरमा सामुदायिक हलदेखी व्यायाम हल, स्विमिङ पुलसम्म निर्माण हुँदैछन्। 

९६ रोपानी क्षेत्रफलमा निर्माण भएका छन्। पुलचोकमा मन्त्रीहरू बस्दै आएको क्वाटर सर्वोच्च अदालतका न्यायाधीसहरुको आवास गृह हुनेछ।

तस्बिर/भिडिओ : सरोज नेपाल

भदौ १०, २०८० आइतबार १९:२०

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .