कारोबार


एमसीसीको प्रसारण लाइन बनाउन कहाँ-कहाँ गरिँदैछ जग्गा अधिग्रहण?

एमसीसीको प्रसारण लाइन बनाउन कहाँ-कहाँ गरिँदैछ जग्गा अधिग्रहण?

एमसीसी कार्यान्वयन चरणमा लैजाने क्रममा अर्थमन्त्री प्रकाशशरण महत र परियोजनाका उपाध्यक्ष क्यामरन अल्फोर्ड। तस्बिर : सरोज बैजु


वसन्त अर्याल
भदौ १४, २०८० बिहिबार ६:५२, काठमाडौँ

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले ९ वटा जिल्लाको जग्गा अधिग्रहण अघि बढाएको छ। काठमाडौंबाहेक प्रसारण लाइन बनाउने सबै ठाउँको जग्गा अधिग्रहणका लागि जग्गाधनीको नामसहित सूचना जारी गरिसकेको छ।

भदौ १३ गतेबाट लागू भई ५ वर्षभित्र सकिने ४०० केभी प्रसारण लाइनको पूर्वतयारीका सबै काम सकिँदा टावर गाड्ने जग्गा अधिग्रहणको काम बाँकीे छ। 

एमसीसी सम्झौता लागू हुनुपूर्वका ६ वटा सर्तमध्ये ५ वटा पूरा भएका छन्। आयोजना निर्माणस्थलमा पहुँचका लागि जग्गा प्राप्ति र रुख कटानीको काम बाँकी छ। 

एमसीए नेपालको ४०० केभीको प्रसारण लाइन अन्तर्गत रातमाटे सबस्टेसनदेखि लप्सिफेदी, रातामाटे सबस्टेसनदेखि नयाँ हेटौँडा सबस्टेसन, रातमाटेदेखि नयाँ दमौली र नयाँ दमौलीदेखि नयाँ बुटवलसम्म प्रसारण लाइन निर्माण हुँदै छ। 

३१५ किमि लामो प्रसारण लाइनका टावर निर्माणका लागि १० वटा जिल्लामा १०४ हेक्टर जग्गा प्राप्ति गर्नुपर्छ। काठमाडौंबाहेकका जिल्लामा कुन व्यक्तिको कति जग्गा अधिग्रहण गर्ने भनी जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गरिसकेका छन्। 

‘९ वटा जिल्लाको सूचना जारी भैसकेको छ,’ एमसीएका नेपालका सूचना अधिकारी राजीव दाहालले भने, ‘काठमाडौं जिल्लामा थोरै भाग बाँकी छ। केही विवाद कायमै रहेकाले पछि टुंग्याउनेगरी अघि बढेका हौँ।’

उनले जग्गा अधिग्रहणका लागि जारी गरिएको सूचना टावर गाड्ने ठाउँको मात्रै हो। तार टाँग्ने ठाउँको भने पूर्णरुपमा अधिग्रणह गर्नु नपर्ने बताए। 

३ वटा नयाँ सब स्टेसन बनाउनु पर्नेमा रातमाटे सबस्टेसनका लागि २०.२७ हेक्टर जग्गा प्राप्ति भइसकेको छ। नयाँ बुटवल र नयाँ दमौली सबस्टेसनका लागि आवश्यक जग्गा नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको छ।
 
३ सबस्टेसनमा जोड्न नुवाकोटको जग्गा बढी अधिग्रहण गर्नुपर्ने
भदौ १३ गते नुवाकोटका ५ पालिकाको जग्गा अधिग्रहण गर्ने २१ दिने सूचना जारी गरिएको छ। सूचनामा नुवाकोटको शिवपुरी गाउँपलिका, पञ्चकन्या गाउँपलिका, लिखु गाउँपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा पर्ने जग्गा र जग्गामा रहेका घर, गोठ, टहरा, कटेरा, रुख स्थायी रुपमा अधिग्रहण गर्ने उल्लेख छ। 

रातमाटे सबस्टेसनबाट ३ वटा सबस्टेसनसम्म जोड्न जग्गा अधिग्रहण गर्नुपर्छ। रातमाटे सबस्टेसनदेखि लप्सिफेदी सबस्टेसन खण्डमा बेलकोटगढी नगरपालिकाको वडा नम्बर ७, ८, ९, १०, १२ को जग्गा अधिग्रहण गर्नुपर्ने छ। 

लिखु गाउँपालिकाको वडा नम्बर ३ र ६, शिवपुरी वडा नम्बर १, ३, ५, ७ र ८, पञ्चकन्या गाउँपलिकाको वडा नम्बर ५को जग्गा अधिग्रहण गर्नुपर्ने छ। 

रातामाटे सबस्टेसनदेखि नयाँ हेटौँडा सबस्टेसनसम्म बेलकोटगढी वडानम्बर ५ र ७ को अधिग्रहण गर्न सूचना जारी गरिएको छ।  

नयाँ दमौली सबस्टेसनदेखि रातमाटे सबस्टेसनमा तारकेश्वर वडा नम्बर २ र ४ तथा बेलकोटगढी ७ को जग्गा अधिग्रहण गर्नुपर्ने भएको छ। 

तनहुँका ५ पालिकाको अधिग्रहण गरिँदै
तनहुँमा रातमाटेदेखि दमौली सबस्टेसन र नयाँ दमौली सबस्टेसनदेखि नयाँ बुटवल पुग्ने प्रसारण लाइन पर्छन्। तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपलिका, व्यास नगरपालिका, रिसिङ गाउँपलिका र घिरिङ गाउँपलिकाको जग्गा अधिग्रहणको सूचना १२ गते सार्वजनिक गरिएको थियो। 

रातमाटेदेखि दमौली खण्डमा आँबुखैरेनीको वडा नम्बर ४, ५ र ६, बन्दीपुर गाउँपलिकाको वडा नम्बर २,३ र ६, व्यास नगरपालिकाको वडा नम्बर १३, १४ पर्छन्। 

नयाँ दमौलीदेखि नयाँ बुटवल खण्डमा व्यासको वडा नम्बर १३, रिसिङ गाउँपलिकाको वडा नम्बर १, ६, ७ र ८, घिरिङ गाउँपलिकाको वडा नम्बर २, ३ र ५ छन्।  

भदौ ७ गते धादिङ जिल्लाको जग्गा अधिग्रहण गर्नुपर्ने ठाउँको सूचना जारी गरेको थियो। जसमा नीलकण्ठ नगरपालिका, गल्छी, थाक्रे, सिद्धलोक, गजुरी, बेनीघाट रोराङ गाउँपलिकाको जग्गा अधिग्रहण गर्नु पर्ने छ। 

रातमाटे सबस्टेसनदेखि नयाँ हेटौँडा स्बस्टेसन खण्डमा गल्छी ८, थाक्रे १, २, ३ र ११ वडा रहेका छन्। 

रातमाटे सबस्टेसनदेखि नयाँ दमौली खण्डको लागि बेनिघाट रोराङको वडा नम्बर ३, ४, ५, ७, ८, ९ र १० को जग्गा अधिग्रहण गर्नुपर्ने छ। गजुरी वडा नम्बर २, सिद्धलोक ६ र ७, गल्छी वडा नम्बर २ र ३, नीलकण्ठ ५ को जग्गा अधिग्रहण गर्नुपर्ने सूचना जारी गरिसकिएको छ।

मकवानपुरदेखि पाल्पासम्म यी ठाउँमा हुँदैछ अधिग्रहण
भदौ १ गते रातमाटे सबस्टेसनदेखि नयाँ हेटौडा सबस्टेसन खण्डमा पर्ने मकवानपुर जिल्लाको थाहा नगरपालिका, कैलाश गाउँपलिका, राक्सिराङ गाउँपालिका, हेटौँडा उपमहानगरपालिकाको विभिन्न क्षेत्र अधिग्रहण गर्नुपर्ने छ। 

थाहा नगरपालिकाको वडा नम्बर ८, कैलाश गाउँपलिकाको वडा ३, ४, ५ र ६, राक्सिराङको वडा १, हेटौँडा उपमहानगरको वडा ३ र १९ मा पनि अधिग्रहण गर्नुपर्ने छ।

साउन ३२ गते नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जग्गा अधिग्रहण सम्बन्धी सूचना प्रकाशित गरिएको थियो। जसमा भारतको सिमानादेखि नयाँ बुटवलसम्म र नयाँ बुटवलदेखि नयाँ दमौली सबस्टेसन खण्डका जग्गा छन्।

अधिग्रहण गर्नुपर्ने जग्गा पाल्हिनन्दन गाउँपालिका १, २ र ३ नम्बर वडामा छन् भने सुनवल नगरपालिकाको वडा १३ र रामग्राम नगरपालिकाको १, ८, ११, १२, १३ र १७ नम्बर वडाको जग्गा पनि अधिग्रहण गर्नुपर्ने छ। नयाँ बुटवलदेखि नयाँ दमौली सबस्टेसनसम्म सुनवल वडा नम्बर ११, १२, १३ को जग्गा अधिग्रहण गर्नुपर्ने छ। बर्दघाट नगरपालिकाको वडा २ को पनि जग्गा छ।

साउन २१ गते नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणीको वडा नम्बर ३ र ५ का केही जग्गा अधिग्रहण गर्नुपर्नेगरी सूचना गरी गरिएको थियो। २१ गते चितवनको इच्छामनकामना गाउँपलिकामा पर्ने जग्गा अधिग्रहणको लागि सूचना प्रकासन गरेको थियो। इच्छाकामनाको वडा नम्बर २, ५ र ६ को अधिग्रहण हुँदैछ।

साउन ३१ गते पाल्पामा पर्ने जग्गा अधिग्रहणका लागि सूचना जारी गरिएको थिया। पाल्पामा नयाँ बुटवल सबस्टेसनदेखि नयाँ दमौली सबस्टेसन खण्डमा निस्दी गाउँपालिकाको वडा नम्बर ५, ६ र ७, रामपुर गाउँपलिकाको वडा नम्बर १,२, ३ र ४को अधिग्रहणका लागि प्रक्रिया अघि बढाइ सकेको छ। 

सिन्धुपाल्चोक जिल्लामा मेलम्ची नगरपालिकाको वडा नम्बर १, ३ र ४ को जग्गा मात्रै अधिग्रहण हुँदै छ। जिल्ला प्रशासन कार्यालयले साउन २५ गते नै सूचना जारी गरेको थियो। 

आयोजनामा ७ सय ७७ हेक्टर वनको जग्गा 
एमसीएको कुल भोगाधिकार क्षेत्रमध्ये करिब ७ सय ७७ हेक्टर अर्थात् ५३ प्रतिशत वनमा पर्छ। जसमा ११२ वटा सामुदायिक वनको ३३० हेक्टर, ८ वटा कबुलियती वनको ४.४ हेक्टर र सरकारी तथा अन्य गरी ४४३ हेक्टर छ।  

४२ प्रतिशतमा कृषि भूमि अर्थात् ६१२ हेक्टर जमिन छ। बाँकी ५ प्रतिशत विकसित जग्गा, बाँझो, जल तथा सिमसार क्षेत्र छन्। 

भोगाधिकार क्षेत्रभित्र पर्ने कुल ७७७ हेक्टर वन क्षेत्रमध्ये ४५.६ प्रतिशत अर्थात् ३५४ हेक्टर वन क्षेत्र फँडानी गर्नुपर्ने हुन्छ। जसबाट वन क्षेत्रबाट १ लाख ७३ हजार र कृषि भूमिमा २८ हजार ८३५ गरी २ लाख २ हजार रुखहरु हटाउनुपर्ने ईआईए प्रतिवेदनमा उल्लेख छ।

प्रसारण आयोजनामा कुल १८७ घरपरिवार विस्थापित गर्नुपर्छ। जसमा ३७ घरधूरी रातमाटे सबस्टेसनमा अधिग्रहण भैसकेका छन्। १५० घरधूरी भोगाधिकार क्षेत्रको करिब ३१४ किमि भू–भागबाट विस्थापित हुनेछन्। रातमाटेको  ३९८ रोपनी अधिग्रहण गर्न १ अर्ब ४० करोड रुपैयाँ खर्च गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .