ad ad

कारोबार


सांसद दीपक खड्काद्वारा ईआईए नगरी पाँचतारे होटल निर्माण, पाँच लाख जरिवाना

सांसद दीपक खड्काद्वारा ईआईए नगरी पाँचतारे होटल निर्माण, पाँच लाख जरिवाना

वसन्त अर्याल
कात्तिक २७, २०८० सोमबार २०:५४, काठमाडौँ

पाँचतारे होटलको पूर्वाधार निर्माणअघि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगराएको भन्दै कांग्रेस सांसद दीपक खड्काको कम्पनीलाई वन मन्त्रालयले पाँच लाख जरिवाना तिराएको छ।

कानुन बनाउने स्थलमा पुगेका सांसद खड्काले वातावरणीय अध्ययनबिन नै होटल निर्माणको काम अघि बढाउँदा कारबाही भोगेका हुन्।

वनमन्त्री डा. वीरेन्द्रप्रसाद महतोको निर्णयअनुसार पाँच लाख जरिवाना गरिएको हो।

संखुवासभा कांग्रेसका पूर्वसभापति तथा प्रतिनिधि सभाका सांसद खड्काले काठमाडौँस्थित बुढानीलकण्ठमा होटल निर्माणको काम अन्तिम चरणमा पुगेपछि आवश्यक प्रक्रियाका लागि प्रस्ताव गरेका छन्।

१४ असोजमा जरिवाना बुझाउने निर्णय गरिएकोमा १६ गते नै दीपक खड्काको कम्पनीले जरिवाना बुझाएको वन मन्त्रालयले जनाएको छ। 

‘होटलको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत नलिई भौतिक पूर्वाधार लगायतका कामकाज अगाडि बढाइएको हुँदा वन तथा वातावरण मन्त्रालय (मन्त्रीस्तरीय)को निर्णयबाट पाँच लाख जरिवाना गरिएको थियो,’ मन्त्रालय स्रोत भन्छ, ‘१६ असोजमा जरिवाना रकम दाखिल भइसकेको छ।’

होटल फरेस्ट इन प्रालिका अध्यक्ष दीपक खड्का रहेका हुन्। खड्काको जलविद्युतसँगै होटल क्षेत्रमा लगानी छ। उनी मेन्चियम हाइड्रोपावर लिमिटेड र होटल इस्टर्न नेपाल प्रालिका अध्यक्षसमेत हुन्।

बुढानीलकण्ठमा पाँचतारे होटल फरेस्ट इन निर्माण अन्तिम चरणमा रहेको छ। नेपाल इन्भायरोमेन्ट एन्ड डेभलपमेन्ट कन्सल्ट्यान्ट प्रालिले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरेको छ। प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै वन मन्त्रालयमा पुगेको छ।

वातावरण संरक्षण ऐन, २०७६ ले १०० बेडभन्दा बढीको होटल तथा रिसोर्ट निर्माण गर्न वातावरणीय प्रभावको अध्ययन गर्नुपर्ने व्यवस्था गरेको छ।

त्यस्तै, १० हजार वर्गमिटर क्षेत्रफलभन्दा बढीको बिल्डअप एरिया र २० हजार लिटरभन्दा बढी दैनिक भूमिगत पानीको प्रयोग हुने भवन निर्माण गर्दा वातावरणीय अध्ययन गर्नुपर्छ।

होटलको भवन रहेको स्थान शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ।

वन मन्त्रालयले कात्तिक २४ गते वातावरण मूल्यांकनसम्बन्धी सात दिने सूचना सार्वजनिक गरेको छ। यस अवधिमा सरोकारवालाले मन्त्रालयमा उजुरी तथा सुझाव पेस गर्न सक्छन्। त्यसको आधारमा मन्त्रालयले प्रस्तावित पाँच तारे होटलको ईआईएबारे निर्णय लिनेछ।

तीन अर्ब लागत, १०५ कोठे होटल
निर्माणाधीन होटल १ सय ५ वटा कोठा, १ सय ६३ बेडसहितको हुनेछ। अफिस रुम, स्विमिङ पुल, पार्किङ एरिया, रेस्टुराँ तथा बार, ब्यांक्वेटलगायतका संरचना निर्माण भइरहेका छन्।

होटलको कुल जग्गा १० हजार १ सय ६९ वर्गमिटर छ। बिल्डअप एरिया भने १० हजार ८ सय ८ वर्गमिटर र ओपन स्पेस ८ हजार १ सय ३ वर्गमिटर रहनेछ।

त्रिभुवन विमानस्थलबाट होटलको दूरी करिब १० किलोमिटर छ। नारायणगोपाल चोकबाट बुढानीलकण्ठ मन्दिरको दूरी पाँच किमि छ। मन्दिरबाट १.५ किलोमिटर उकालोमा होटल फरेस्ट इन निर्माण भइरहेको छ। 

होटलका संरचना आरसीसी फ्रेममा निर्माण हुँदै छन्। ६ वटा ब्लक हुने होटलमा ब्लक ए र ब्लक बी चार तलाका हुनेछन्।

ब्लक सी र किचन रहने ब्लक डी पाँच तलाका निर्माण हुँदै छन्।

भुईँ तलामा रिसेप्सन, फिटनेस सेन्टर, पहिलो तलामा सम्मेलन हल, दोस्रो र तेस्रो तलामा डिलक्स कोठा र चौथो तलामा रेस्टुराँ र बार रहेका छन्।

ब्लक सीमा एक पटकमा एक सय व्यक्ति अट्ने कफी सप, रुफटपमा १ सय ८० व्यक्ति अट्ने रेस्टुराँ एन्ड बार रहनेछन्।

होटलमा रहने ब्यांक्वेटको क्षमता ३ सय व्यक्ति अट्ने रहेको छ।

ब्लक ई जेनेरेटरलगायत इन्जिनियरिङ ब्लक हुनेछ भने स्पाको लागि दुई तलाको भवन हुनेछ।

होटलका १ सय ५ कोठामध्ये ९१ वटा स्ट्यान्डर्ड डिलक्स, ६ वटा सुइट कोठा, ६ किङ साइज बेड र दुई सामान्य क्लब कोठा रहनेछन्।

होटलमा २२ सय ६० वर्गफिटको स्विमिङ पुल, पार्किङ क्षमता दुईपांग्रे तीन सय, चारपांग्रे सय वटा र टुरिस्ट बस चार वटा राख्न सकिने छ।

होटललाई दैनिक ३५ हजार लिटर पानी आवश्यक पर्ने अनुमान प्रतिवेदनमा गरिएको छ। त्यसको लागि भूमिगत पानी र बुढानीलकण्ठ नगरपालिकाको खानेपानी प्रणाली तथा ट्यांकरबाट आपूर्ति गर्ने होटलले जनाएको छ।

होटलमा १ लाख ७५ हजार लिटर पानीको भण्डारण क्षमता छ। अग्नि सुरक्षा प्रणालीको लागि स्मोक सेन्सर ३५, फायर एक्सटिङगुजर १५ रहने छन्। बिजुली आपूर्तिको ब्याकअप चार सय केभीएको डिजेल जेनेरेटर रहनेछ। 

होटलको डिजाइन गर्दा २०७४ सालमा कुल लागत एक अर्ब ३३ करोड रुपैयाँ अनुमान गरिएको थियो। अहिले दुई अर्ब ९७ करोड रुपैयाँ पुगेको अनुमान छ।

जसमा ७२ प्रतिशत अर्थात् दुई अर्ब १३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने र बाँकी संस्थापकबाट लगानी गर्ने मोडालिटी रहेको छ। ऋणको लागि सम्झौता भइसकेको छ। 

होटल निर्माणको अवधि सन् २०१८ देखि २०२४ रहेको छ।

कम्पनीले पहिला सोल्टी होटलको व्यवस्थापन हेर्ने इन्टरनेसनल होटल ग्रुप (आईएचजी)सँग सहकार्य गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .