ad ad

कारोबार


यी हुन् हाइड्रोजन इन्धनले चल्ने कार

यी हुन् हाइड्रोजन इन्धनले चल्ने कार

वसन्त अर्याल
मंसिर ५, २०८० मंगलबार ८:५३, काठमाडौँ

हाइड्रोजन गाडी पहिलोपटक नेपाल भित्रिएपछि यसप्रति धेरैको चासो बढेको छ। काठमाडौं विश्वविद्यालयले हाइड्रोजन फ्युलको परीक्षण गर्न एउटा गाडी भित्राएसँगै यो पेट्रोलियम गाडीको विकल्प बन्न सक्ने चर्चा सुरु भएको छ।

अधिकांश गाडी उत्पादकले डिजेल–पेट्रोलको विकल्पको रुपमा लिथियम आयन ब्याट्रीबाट चल्ने (विद्युतीय) साधन बजारमा ल्याएका छन्। साना गाडी ब्याट्रीबाट चलाउन उपयुक्त भए पनि बस, ट्रकका लागि धेरै ब्याट्री राख्नुपर्ने भएकाले नयाँ इन्धनको परीक्षण भइरहेका छन्।

जापानको टोयटा, कोरियाको हुन्डाई, भारतको टाटालगायत ठूला कम्पनी नै हाइड्रोजन इन्धन परिक्षण गरिरहेका छन्। हाइड्रोजन सवारी साधन नयाँ प्रविधि भएकाले विद्युतीय साधनको तुलनामा अझै महँगा छन्।

हाइड्रोजन पानीबाट अक्सिजन छुट्टाएर भण्डारण गरिने ग्यास भएकाले गाडीमा रिफ्युल महँगो हुन्छ। तर, अरब देश पेट्रोल/डिजेल बेचेर धनी भएझैँ नेपालले हाइड्रोजन उत्पादन गरी अर्थतन्त्रमा ठूलो योगदान दिन सक्ने काठमाडौं विश्वविद्यालयको भनाइ छ।

काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गत ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिंह थापा नेपालसँग रहेको पानी र बिजुलीबाट सहजै हाइड्रोजन निकाल्न सकिने हुँदा नेपालले लगानी बढाउनु पर्ने बताउँछन्। केयूलाई हाइड्रोजन सम्बन्धी अध्ययन गर्न नेपाल आयल निगमले आर्थिक सहयोग गरिरहेको छ। 

केयूले नेपालमा हाइड्रोजनबाट चल्ने कार भित्र्याए पनि त्यसलाई सडकमा गुडाउन दिने कानुन छैन। नेपाल सरकारले डिजेल पेट्रोलसँगै ब्याट्रीबाट चल्ने साधनलाई नम्बर प्लेट दिने व्यवस्था छ। तर हाइड्रोजनबाट चल्ने साधनलाई नेपालको कानुनले चिन्दैन। सरकारले हालसम्म हाइड्रोजन सम्बन्धी कुनै मापदण्ड समेत बनाएको छैन। 

नेपालमा धेरै गाडी र इन्धन भित्रने भारतमा भने हाइड्रोजनबाट बस गुडिरहेका छन्। भारतमा इन्डियन आयल कर्पोरेसनले नै हाइड्रोजन बस सञ्चालन गरेको छ। हाइड्रोजन राख्न ४ वटा सिलिन्डर राखिएका बस ३५० किमि सहजै गुड्न सक्छन्। बसका ट्यांकी भर्न करिब १० मिनेट लाग्छ। आईओसीले पानीबाट १ केजी हाइड्रोजन बनाउन करिब ५० युनिटसम्म खपत हुने उल्लेख गरेको छ। 

भारतको पुणेमा टाटा मोटर्सले हाइड्रोजन प्लान्ट स्थापना गरेको छ। टाटा मोटर्सले भविष्यमा कमर्सियल गाडीको इन्धन हाइड्रोजन बन्न सक्ने उल्लेख गरेको छ। 

‘हामीलाई विश्वास छ हाइड्रोजन भविष्यको इन्धन हो। विषेशगरी कमर्सियल गाडीका लागि,’ टाटा मोटर्सका कार्यकारी निर्देशक गिरिस बाग भन्छन्, ‘नयाँ प्रविधिको अन्वेषण र ग्रिन मोबिलिटीमा एक कदम अघि बढेका छौँ।’

टाटा मोटर्ससँगै महिन्दा एन्ड महिन्दा र अशोक लेल्यान्डले हाइड्रोजनबाट चल्ने गाडीको उत्पादन गर्ने घोषणा गरेका छन्। 

यी हुन् हाइड्रोजनबाट चल्ने कार
टोयटाले हाइड्रोजन चालित पहिलो गाडी सन् २०१४ मा सार्वजनिक  गरेको थियो। टोयटाले निर्माण गरेको हाइड्रोजन फ्युल सेलबाट चल्ने दोस्रो पुस्ताको मिराई कार सडकमा गुडिरहेको छ। सेडान सेगमेन्टको कार एक पटक फुल रिफिल गर्दा ६५० किलोमिटरसम्म कुद्छ। गाडीको अधिकतम पावर १५२ बीएचपी छ भने ३३५ एनएम टर्क जेनेरेट गर्छ। 

अर्को हाइड्रोजन कार हो, हुन्डाईको नेक्सो। कोरियन कम्पनी हुन्डाईले २०१८ मा नेक्सो सार्वजनिक गरेको थियो। गाडीमा एक पटक हाइड्रोजन भर्दा साढे ६ सय किमिभन्दा ज्यदा कुद्छ। नेपालमा केयूले हुन्डाईकै २०१९ को नेक्सो भित्र्याएको छ। जसमा १६३ पीएस पावर र ४०० एनएम टर्क जेनेरेट गर्छ। कोरिया सहित अमेरिका, बेलायत लगायतका देशमा नेक्सो गाडी गुडिरहेका छन्। 

होन्डा, मर्सिडज बेन्ज र बीएमडब्ल्यूले समेत हाइड्रोजन कार उत्पादन गरेका छन्। बीएमडब्ल्यूले आईएक्स ५ निर्माण गरिरहेको छ। उक्त गाडी एक पटक रिफ्युल गर्दा ३०० माइल र प्रतिघण्टा ११८ किमि कुद्ने बताइएको छ। होन्डाले सीआरभी हाइड्रोजन फ्युल कार २०२४ मासार्वजनिक गर्ने लक्ष्य राखेको छ। 

नयाँ र स्टार्टअप कम्पनीहरुले पनि हाइड्रोजन सेल गाडीमा अध्ययन गरिरहेका छन्। अमेरिकन कम्पनी हाइपर्सनले एक्सपी १ स्पोट्र्स कार २०२० मा सार्वजनिक गरेको थियो। सुपर कारको रुपमा विकास गरिएको गाडीको रेन्ज १ हजार माइल छ। नामएक्स एचयुभीले २०२६ सम्म आफ्नो एचयूभी मोडल सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .