ad ad

कारोबार


प्रिमियममा आईपीओ जारी गर्न चाहने आधा दर्जन कम्पनी अप्ठ्यारोमा

प्रिमियममा आईपीओ जारी गर्न चाहने आधा दर्जन कम्पनी अप्ठ्यारोमा

(kfintech बाट)


केशर बोगटी
पुस २४, २०८० मंगलबार १३:२९, काठमाडौँ

पछिल्लो समय प्रिमियममा जारी आईपीओ विवादमा परिरहेका बेला प्रिमियममा प्राथमिक सेयर निष्काशन (आईपीओ) गर्न भन्दै फेरि तीन कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। 

ह्याम्स हस्पिटल, सूर्य सिमेन्ट र जगदम्बा स्टिलले अंकित मूल्यमा प्रिमियम थपेर सेयर जारी गर्ने गरी बोर्डमा आवेदन दिएका हुन्। 

सूर्य सिमेन्ट कम्पनीले प्रतिकित्ता २६४.५१ रुपैयाँमा आईपीओ निष्काशन गर्ने गरी अनुमति मागेको छ।

कम्पनीले अंकित मूल्यमा १६४.५१ रुपैयाँ प्रिमियम थप गरी आईपीओ निष्काशन गर्ने गरी अनुमति मागेको छ। कम्पनीले १ करोड ५९ हजार ८१ हजार ५०० कित्ता आईपीओ निष्काशन गर्न चाहेको छ।  

त्यसैगरी, जगदम्बा स्टिल कम्पनीले अंकित मूल्यमा २ सय प्रिमियम थपेर आईपीओ निष्काशन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ। कम्पनीले २ करोड ७० हजार कित्ता निष्काशन गर्नेछ। 

साथै, ह्याम्स हस्पिटलले प्रिमियम थप गरी प्रतिकित्ता २८८ रुपैयाँमा आईपीओ निष्काशन गर्ने अनुमति मागेको छ। कम्पनीले अंकित मूल्यमा १८८ रुपैयाँ प्रिमियम थपेर ११ लाख २५ हजार कित्ता सेयर निष्काशन गर्नेछ। 

उक्त कम्पनीहरूले अनुमति मागिरहँदा केही कम्पनीहरूले निष्काशनकै तयारी गरिरहेका छन्।

शिवम् होल्डिङ्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिसकेको छ।कम्पनीले १६ लाख कित्ता साधारण सेयर प्रिमियम मूल्यमा निष्काशन गर्ने तयारी गरेको छ। 

त्यस्तै, जगदम्बा क्रेडिट इन्भेष्टमेन्ट लिमिटेडले पनि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न यही पुस २८ गते साधारणसभा बोलाएको छ। 

कम्पनीहरू किन चाहन्छन् प्रिमियममा आईपीओ? 
पछिल्लो समय प्रिमियममा आईपीओ निष्काशन गर्ने कम्पनीको संख्या निरन्तर बढ्दो छ। 

प्रिमियममा सेयर निष्काशन गर्न अनुमति पाएका सबै कम्पनीले सर्वसाधारणमा सेयर जारी गरेर प्रिमियम मूल्यभन्दा पनि उच्च मूल्यमा दोस्रो बजारमा कारोबारमा आइसकेका छन्। 

दोस्रो बजारमा उच्च मूल्यमा कारोबार भएपछि अहिले स्थापित कम्पनी पनि प्रिमियम मूल्यमा सेयर निष्काशन गर्न उत्साहित देखिएका छन्। कतिपयले भने साधारणसभामा प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव राख्दै छन्। 

चालू आर्थिक वर्षमा बोर्डले सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड र हिमालयन रि इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न स्वीकृति दिएको थियो। जुन अहिले दोस्रो बजारमा सूचीकरण भई कारोबार सुरु भएको छ। 

गत आवमा घोराही सिमेन्ट इन्डष्ट्रिज, भगवती हाइड्रोपावर डेभलपमेन्ट क. लिमिटेड, मान्डु हाइड्रोपावर, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले प्रिमियममा सेयर निष्काशन गरेका थिए। 

यता पछिल्लो समय प्रिमियममा आईपीओ निष्काशन गर्न स्वीकृति दिइएका कम्पनीबारे भने संसदको लेखा समितिमा कुरा उठेको थियो। 

कतिपय सांसदले वित्तीय विवरण राम्रो नभएका कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न दिएको आरोप लगाएपछि समितिले तत्काल प्रिमियममा आईपीओ अनुमति रोक्न बोर्डलाई निर्देशन दिएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरी ढकाल प्रिमियम मूल्यमा निष्काशन गरिने आईपीओ रोक्न धितोपत्र बोर्डलाई निर्देशन दिएको बताउँछन्। 

उनका अनुसार पछिल्लो समय धितोपत्र बोर्डले कमजोर कम्पनीलाई प्रिमियमबाट सेयर जारी गर्न दिने लहर नै चलेको हुँदा समितिले यस्तो प्रक्रिया रोक्न भनेको हो।

‘राम्रा कम्पनीलाई लगानीकर्ताको प्रतिस्पर्धाबाट मूल्य निर्धारण गरिने बुक बिल्डिङ प्रक्रियाअनुसार सेयर जारी गराउन भनेको छौँ’, ढकालले नेपालखबरसँग भने। 

अप्ठ्यारोमा छन् कम्पनी 
योसँगै प्रिमियम मूल्यमा आईपीओ जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिने कम्पनीहरू र त्यसको तयारीमा रहेका कम्पनीहरू समेत समस्यामा परेका छन्।

संसदको लेखा समितिले विगत ३ वर्षभित्र प्रिमियम मूल्यमा सेयर जारी गरेका कम्पनीहरूबारे समेत अनुसन्धान गर्न निर्देशन दिएको छ।

उनीहरूलाई त्यसरी प्रिमियममा सेयर जारी गर्न दिनु औचित्यपूर्ण थिए वा थिएन भनी छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत समितिले निर्देशन दिएको छ।  

छानबिनको क्रममा दोषी देखिएमा सम्बन्धित पदाधिकारीलाई कानुनबमोजिम कारबाहीको प्रक्रियामा लैजानुपर्ने सांसदहरूको माग छ। 

यता बीमा कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गरेको सम्बन्धमा विवाद भएपछि बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा ऐनको व्यवस्थाअनुसार हाललाई प्रिमियमबापत संकलित रकम सञ्चित कोषमा राख्न निर्देशन दिएको बताएका छन्।

उनका अनुसार हालसम्म ६ वटा कम्पनीले प्रिमियममा सेयर जारी गरेका छन्। तिनीहरूबाट प्रिमियमबापत संकलित रकम बोनस बाँड्न समेत नपाउने भएका छन्। 

नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरी प्रिमियमको आईपीओ विवादले प्रिमियममार्फत सेयर निष्काशनको लागि आवेदन दिएका कम्पनीलाई केही अप्ठ्यारो परिस्थिति बनेको बताउँछन्। 

साथै, प्रिमियमबाट आईपीओ ल्याउन चाहने कम्पनीहरूलाई समेत विवादले केही असर गर्ने उनको भनाइ छ। 

‘अहिले सबैको आम मानसिकता नै प्रिमियमबाट आईपीओ जारी गर्न दिन हुन्न भन्ने छ’, उनले भने, ‘प्रिमियमबाट आईपीओ ल्याउन दिने नदिने त्यो एउटा कुरा हो। तर, प्रिमियमबाट आउन चाहने कम्पनीलाई यो कुराको असर गर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .