ad ad

कारोबार


जीएमआरले मर्स्याङ्दी-२ चिनियाँ कम्पनीलाई बेच्दा तिरेको थियो लाभकर, माथिल्लो कर्णालीमा के होला?

जीएमआरले मर्स्याङ्दी-२ चिनियाँ कम्पनीलाई बेच्दा तिरेको थियो लाभकर, माथिल्लो कर्णालीमा के होला?

दीपक भट्ट
पुस २४, २०८० मंगलबार २०:५२, काठमाडौँ

भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राओ (जीएमआर)ले माथिल्लो कर्णालीको जस्तै माथिल्लो मर्स्याङ्दी२ को सेयर अर्को कम्पनीलाई बिक्री गर्दा पुँजीगत लाभकर तिरेको पाइएको छ।

उक्त कम्पनीले ११ वर्ष लाइसेन्स होल्ड गरेर २०७५ सालमा बिक्री गर्दा २ अर्ब ७२ करोड लाभकर तिरेको पाइएको हो।

अहिले जीएमआरले करिब १० वर्ष होल्ड गरेको माथिल्लो कर्णालीको सेयर अर्को कम्पनीलाई हस्तान्तरण प्रक्रिया सुरु गरेको छ।

भारतीय सरकारको समेत लगानी रहेको सतलज जलविद्युत निगम (एसजेभीएन) कम्पनीलाई सेयर हस्तान्तरणको प्रक्रिया सुरु गरिएको हो।

सतलजले भारतको अर्थ मन्त्रालयअन्तर्गतको लगानी तथा सार्वजनिक सम्पत्ति व्यवस्थापन विभागबाट स्वीकृतिसमेत पाइसकको छ।

भारतमा स्वीकृति लिए पनि यो किनबेचमा नेपालमा कुनै प्रक्रिया नपुर्‍याएको विषयले अहिले विवाद ल्याएको छ।

तर यसभन्दाअघि जीएमआरले अर्को परियोजनामा यसरी नै लामो समय होल्ड गरेर अर्को कम्पनीलाई सेयर हस्तान्तरण गर्दा नेपाल सरकारलाई लाभकर तिरेको पाइएको हो।

माथिल्लो मर्स्याङ्दी २ जलविद्युत् आयोजनाको सेयर स्वामित्व ३ अर्ब ५३ करोड रुपैयाँमा चिनियाँ कम्पनीलाई बिक्रि गरेको थियो। जीएमआरले २०७५ सालमा चिनियाँ कम्पनी सिचुवान इन्भेस्टमेन्टलाई बिक्री गरेको थियो। जसमा जीएमरआरले नै २ अर्ब ७२ करोड रुपैयाँ पुँजीगत लाभकर दाखिला गरेको आन्तरिक राजस्व विभागको तथ्याङ्कले देखाएको छ।

यो कम्पनीले अपर मर्स्याङ्दी २०६४ सालमा लाइसेन्स लिएर ११ वर्ष होल्ड गरेर बसेको थियो। ११ वर्षपछि चिनियाँ कम्पनीलाई बिक्री गरेको थियो। त्यतिबेला जीएमआर आफैंले स्वःमूल्याङ्क गरी कर कार्यालयमा कर दाखिला गरेको थियो।

तत्कालिन समयमा जीएमआरको तर्फबाट हिमताल हाइड्रोपावर कम्पनीले पुँजीगत लाभकर कर कार्यलयमा दाखिला गरेको विभागको तथ्याङ्कले देखाएको हो।

माथिल्लो मर्स्याङ्दीकोे सेयर जसरी होल्ड गरेर अर्को कम्पनीलाई प्रदान गरेको थियो त्यसरी नै अहिले ९ सय मेगावाटको कर्णाली जलविद्युत भारतीय कम्पनी सतलजलाई दिने प्रक्रिया अपनाएको छ।

कर्णाली आयोजना समेत १० वर्ष होल्ड गरेको छ। तर यसको भने पुरै सेयर हस्तान्तरण गर्न लागेको भने हैन।

सन् २०१४ मा भारतीय कम्पनी जीएमआरले नेपालसँग निर्माण सम्झौता गरेको थियो।

उक्त आयोजना विकास सम्झौता (पीडीए) अनुसार ७३ प्रतिशत सेयर विकासकर्ता कम्पनी जीएमआरको रहने र बाँकी २७ प्रतिशत नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणको हुने उल्लेख छ।

जीएमआरको ७३ प्रतिशत सेयरबाट ३६ दशमलव ५ प्रतिशत सतलजको हुने र अर्को ३६ दशमलव ५ प्रतिशत जीएमआरको रहने गरी हस्तान्तरण हुन लागेको हो।

यसमा कर लाग्ने वा नलाग्ने विषयमा भने अर्थमन्त्रालयका पदाधिकारी नै अन्यौलमा देखिन्छन्। यस विषयमा अध्ययन गर्नुपर्ने अवस्था रहेको अर्थ मन्त्रालयका राजस्व महाशाखा प्रमुख रितेश शाक्यले बताए।

शाक्य भन्छन्,‘दुवै भारतीय कम्पनी नै हुन्। उनीहरुबीच कसरी सेयर हस्तान्तरण हुन लागेको हो त्यो मुख्य कुरा हुन आउँछ। लाभ लिएर सेयर हस्तान्तरण हुने भए त्यसमा कर लाग्छ। तर त्यो भन्दा पहिला हस्तान्तरण कसरी भएको हो त्यो हेर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .