ad ad

कारोबार


घट्न थाल्यो कर्जाको ब्याज, कुन बैंकबाट पाइन्छ सस्तो ऋण?

घट्न थाल्यो कर्जाको ब्याज, कुन बैंकबाट पाइन्छ सस्तो ऋण?

फाइल तस्बिर


केशर बोगटी
माघ ४, २०८० बिहिबार २१:३६, काठमाडौँ

कर्जाको ब्याजदर सस्तिन (घट्न) थालेको छ । पछिल्लो समय बैंकहरुले निक्षेपको ब्याजदर घटाउन थालेसँगै कर्जा सस्तिन सुरु भएको हो। 

निक्षेपको ब्याजदर घट्दा पुँजी स्रोतको लागत घटेर बैंकहरूको आधार दर (बेस रेट) घट्छ। बैंकहरुको वेसरेट घट्दा कर्जाको ब्याजदर सस्तो हुन लागेको छ।

निक्षेपको ब्याजदरमा आउने परिवर्तनले आधार दरलाई प्रभावित पार्छ। निक्षेपमा ब्याजदर बढेमा आधार दर समेत बढ्ने गर्छ भने घटेमा आधार दरसमेत कम हुने गर्छ। 

पछिल्लो तीन महिनायता बैंकहरुले निक्षपेका ब्याजदर घटाउँदै आउदा पुँजी स्रोतको लागत घटेर आधार दर घट्न गई कर्जा ब्याजदर घट्न थालेको छ। 

बैंकहरूले विगत तीन महिनाको मासिक आधार दरका आधारमा औसत आधार दर निकाल्छन्। यसरी निस्किने आधार दर नै कर्जामा लागू हुन्छ। 

बैंकहरुले आधार दरमा अधिकतम् ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रवाह गर्दै आइरहेका छन्। केही बैंकहरुले भने कर्जाको प्रिमियम घटाएर कर्जा प्रवाह गरिरहेका छन्। 

राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया लगायतले कर्जामा प्रिमियम घटाएर ऋण दिन थालेका छन्। 

बैंकहरूबाट ग्राहकले कर्जा लिँदा ब्याजदर निर्धारणका क्रममा आधार दरमा मोलमोलाई गर्न पाउँदैनन्। 

बैंकले ग्राहकको सम्बन्ध र मोलमोलाई क्षमताअनुसार प्रिमियममा थपघट गरेर कर्जाको ब्याजदर निर्धारण गर्छन्। त्यसैले ग्राहकले पहिले नै थोरै आधार दर भएका बैंक रोजेर कर्जा लिनु उपयुक्त हुन्छ।

बाह्य क्षेत्रमा सुधार आइरहेको र रेमिट्यान्स पनि वृद्धि हुँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजीको पर्याप्तता बढ्न थालेको छ । हाल बैंकहरुसँगै ६ अर्बको हाराहारीमा लगानीयोग्य रकम (तरलता) समेत थुप्रिएको छ। 

प्रणालीमा तरलता थुप्रिएसँगै पछिल्लो समय राष्ट्र बैंकले पैसा खिच्न थालेको छ। निरन्तर निक्षेप वृद्धि हुँदै जादा कर्जाको डिमान्ड बढ्न नसक्दा बैंकहरुले ३ प्रतिशत ब्याज खाएर राष्ट्र बैंकमा पैसा राख्न थालेका छन्। 

यद्यपि, कर्जा नबढ्ने र निक्षेप थपिने देखिएसँगै बैंकहरु आगामी समयमा अझै ब्याजदर घटाउने आँकलन गर्न सकिन्छ। 

यसका साथै, पुसको तुलनामा माघमा वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.८२४ प्रतिशतले घटेर ८.१६७ प्रतिशतमा झरेको छ। त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसत ०.७६४ प्रतिशतले घटेर ६.१३ प्रतिशतमा झरेको छ।

कुन बैंकको आधार दर कति? 
पुसको तुलनामा माघमा सानिमा बैंकको बेसरेट घटेको छ। पछिल्लो तीन महिना औषत वेस रेट ९.४४ प्रतिशत कायम भएको छ। अघिल्लो तीन महिना औसत बेसरेट ९.५९ प्रतिशत थियो। 

अघिल्लो महिनाको औसत आधार दरको तुलनामा पछिल्लो महिनाको औसत आधार दर घटेको छ। बेस रेट घट्दा बैंकबाट कर्जा ब्याजदर घटेको छ। 

त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको आधार दर घटेको छ। पछिल्लो तीन महिना औसत आधार दर ८.२५ प्रतिशत छ। बैंकको ८.२५ प्रतिशत रहेको आधार दरमा प्रिमियम जोडेर कर्जा प्रवाह गर्नेछ। 

कुमारी बैंकको बेस रेट १०.५७ प्रतिशत, एनएमबि बैंकको ९.६६ प्रतिशत, सिद्धार्थ बैंकको ९.५० प्रतिशत, कुमारी बैंकको १०.५७ प्रतिशत, माछापुच्छ्रे बैंकको ९.८६ प्रतिशत र एभरेष्ट बैंकको बेसरेट ९.२६ प्रतिशत छ। 

त्यसैगरी, नेपाल एसबीआई बैंकको ९.९३ प्रतिशत, हिमालयन बैंकको १०.७७ प्रतिशत, स्टान्डर्ड चाटडर्ड बैंकको ८.०१ प्रतिशत, नबिल बैंकको ९.०७ प्रतिशत, सिटिजन्स बैंकको १०.३९ प्रतिशत, प्राइम कमर्सियलको १०.५२ प्रतिशत, कृषि विकास बैंकको १०.११ प्रतिशत र नेपाल बैंकको बेस रेट ९.०५ प्रतिशत छ। 

ग्लोबल आइएमई बैंकको ९.६ प्रतिशत, एनआईसी एशियाको १०.१ प्रतिशत, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९.६६ प्रतिशत, नेपाल इन्भेस्टमेन्टको ९.६६ प्रतिशत र लक्ष्मी सनराइज बैंकको बेसरेट १०.६२ प्रतिशत छ। 

वाणिज्य बैंक र स्ट्यान्डर्डको बेसरेट ८ प्रतिशत
वाणिज्य बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको बेसरेट ८ प्रतिशतको हाराहारीे छ। ऋणीले कम बेसरेट भएको बैंकबाट सस्तोमा कर्जा पाउँछन्। 

आधा दर्जन वाणिज्य बैंकको बेसरेट भने १० प्रतिशत माथि छ। १० प्रतिशत बेस रेट हुने बैंकले अधिकतम् ५ प्रतिशतसम्म प्रिमियम जोड्दा कर्जाको ब्याजदर १५ प्रतिशत पुग्छ। कर्जाको प्रिमियम ३ प्रतिशत जोड्दा पनि कर्जाको ब्याजदर १३ प्रतिशत पुग्ने देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .