ad ad

कारोबार


सेयर बेचेर समयमै पठाउन नजान्दा लगानीकर्ताले तिर्छन् लाखौँ जरिवाना

धितोपत्र बोर्डमै अड्कियो ‘अक्सन मार्केट’ सञ्चालनको कार्यविधि
सेयर बेचेर समयमै पठाउन नजान्दा लगानीकर्ताले तिर्छन् लाखौँ जरिवाना

केशर बोगटी
माघ २३, २०८० मंगलबार १२:४०, काठमाडौँ

दैलेखका दीपक खत्रीले पछिल्लो २ वर्षदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) भर्ने गरेका छन्। दुई वर्षमा उनलाई ६ कम्पनीको आईपीओ परिसकेको छ। खत्रीले केही दिनअघि आफूलाई परेकामध्ये केही आईपीओ बिक्री गर्ने सोच बनाए। 

आईपीओ बिक्री गर्न ब्रोकर खाता (टीएमएस) पनि खोले। टीएमएस खोलेको केही दिनमा उनले दुई कम्पनीको आईपीओ बिक्री गरे। उनलाई त्यो सेयर बिक्री गरेपछि खातामा पैसा आइहाल्छ भन्ने लागेको थियो। तर, त्यस्तो भएन। 

उनले बिक्री गरेको सेयर ईडीआईएस (ट्रान्सफर) गर्नुपर्नेमा उनी जानकार थिएनन्। ३/४ दिनपछि सेयर ईडीआईएस नगरेका कारण ब्रोकर कम्पनीबाट उनलाई फोन आयो। समयमा सेयर ट्रान्सफर नगरेकोले २० प्रतिशत जरिवाना तिर्नुपर्ने ब्रोकरले सुनाएपछि खत्री अलमल्ल परे। 

‘मलाई सेयर ट्रान्सफर गर्नुपर्छ भन्ने नै थाहा थिएन। ब्रोकर कम्पनीले समेत जानकारी दिएन’, उनले नेपालखबरसँग भने, ‘३/४ दिनपछि तपाई पेनाल्टीमा पर्नुभयो भनेर फोन आयो। मैले जानाजान सेयर ट्रान्सफर नगरेको होइन।’ 

अब गल्ती नै भएपछि उनले जरिवाना तिर्नैपर्‍यो। 

त्यस्तै, काठमाडौंको एक क्याम्पसमा पढ्ने विनोद पनेरु सेयरबजारमा निकै चासो राख्छन्। उनी धेरथोर लगानी समेत गर्छन्। पैसा हुँदा उनले दोस्रो बजारबाट सेयर किन्ने गरेका छन्। आईपीओबाट बजारमा प्रवेश गरेका पनेरु दोस्रो बजारबाट केही कम्पनीको सेयर खरिदबिक्री गर्ने गरेको सुनाउँछन्। 

गत साता मात्रै बजार २१ सय विन्दु माथि उक्लिँदा उनले एक वाणिज्य बैंकको १०० कित्ता सेयर खरिद गरे। त्यो खरिद गरेको सेयर ४/५ दिसम्म बित्दा समेत उनको खातामा आएन। उनले ब्रोकरलाई फोन गरेर सेयर आएन भनेर सोध्दा सिस्टमको समस्याले भन्ने जवाफ पाए।

उनले फोन गरेको केही समयमा ब्रोकरले उनको डिम्याटमा सेयर पठाएको उनी सुनाउँछन्। 

पछिल्लो समय बजारमा नवप्रवेशी लगानीकर्ताको उपस्थिति बाक्लिँदै गएको छ। कुनै कम्पनीको आईपीओ निष्काशन हुँदा औसत १४/१५ लाखले आवेदन दिने गरेका छन्। 

यसले पनि बजारमा सर्वसाधारणको आकर्षणसँगै उपस्थिति बाक्लिँदै जान थालेको देखाउँछ। 

तर नवप्रवेशीहरुको प्रवेशसँगै बजारमा माथिका समस्या दोहोरिने समेत गरेका छन्। जसको मारमा तिनै लगानीकर्ता मात्रै पर्ने गरेको पाइन्छ। 

लगानीकर्ताले सेयर पठाउन ढिलाइ गर्दा उसलाई २० प्रतिशत पेनाल्टी लाग्ने अनि ब्रोकरले सिस्टमको समस्या देखाउँदै पन्छिने परिपाटी बढ्दो छ। 

यसले लगानीकर्ता मात्रै मारमा पर्ने गरेको तर ब्रोकर कम्पनी बहानाबाजी गरेर उम्किने गरेको देखिन्छ।  नियमको कमजोरी र ब्रोकरको मनोमानीले यस्ता घट्ना बढ्दा लगानीकर्ताले सास्ती पाएका छन्। 

सीडीएस एण्ड क्लियरिङले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो ६ महिनामा १४ हजार ७८५ जना लगानीकर्ताले बेचेको सेयर समयमा ट्रान्सफर गर्न नसकेर ‘क्लोज आउट’ परी २ करोड ७३ लाख ६२ हजार ७२४ रुपैयाँ जरिवाना तिरेका छन्। 

चालू आवको ६ महिनामा (पुस मसान्तसम्म)मा लगानीकर्ता १३ करोड ६८ लाख १३ हजार ६२४ रुपैयाँको सेयर खरिदबिक्रीबापत क्लोज आउटमा परी २ करोड ७३ लाख ६२ हजार ७२४ रुपैयाँ पेनाल्टीमा परेका हुन्। 

२०८० साउनमा क्लोज आउटमा परी लगानीकर्ता ५३ लाख ५० हजार, भदौमा ४४ लाख ७२ हजार, असोजमा ३६ लाख ५८ हजार, कात्तिकमा ११ लाख ६६ हजार, मंसिरमा ३३ लाख ६७ हजार र पुसमा ९३ लाख ४७ हजार रुपैयाँ पेनाल्टी तिरेका छन्। 

के हो ‘क्लोज आउट’ समस्या? 
लगानीकर्ताले आफूले बिक्री गरेको सेयर समयमै ट्रान्सफर गर्नुपर्ने हुन्छ। जस्तै, कुनै लगानीकर्ताले आज सेयर बिक्री गर्यो, त्यो सेयर दोस्रो दिन अर्थात् सेयर बिक्री गरेको पर्सिपल्ट दिनको १२ बजेभित्र ट्रान्सफर गरिसक्नुपर्ने हुन्छ। यदि बिक्री गरेको त्यो सेयर ट्रान्सफर गर्न ढिलाइ भए क्लोज आउटमा परिन्छ। 

त्यसैले लगानीकर्ताले बिक्री गरेको सेयर समयमा ट्रान्सफर गरिसक्नुपर्छ, जुन लगानीकर्ताको दायित्व पनि हो। ट्रान्सफर गर्न ढिलाइ गर्दा वा हुँदा लगानीकर्ताले २० प्रतिशत पेनाल्टी अर्थात् फाइन तिर्नुपर्छ। 

समस्याको समाधान अब अक्सन मार्केटबाट
क्लोज आउटको समस्या बढ्दै जाँदा सीडीएस एण्ड क्लियरिङले ‘अक्सन मार्केट’ सञ्चालनको कार्यविधि तयार पारी स्वीकृतिको लागि धितोपत्र बोर्डमा पठाएको छ।  

सीडीएस एण्ड क्लियरिङले लिलाममार्फत सेयर किनबेच हुने बजार सञ्चालनमा ल्याउने उद्देश्यले अक्सन मार्केटको कार्यविधि बनाएर सञ्चालनको स्वीकृतिका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पठाएको हो। 

बोर्डले स्वीकृति दिएपछि सो अक्सन मार्केट सञ्चालनमा ल्याइने सीडीएस एण्ड क्लियरिङका सूचना अधिकारी सुरेश न्यौपानेले बताए। संसारका धेरै मुलुकमा सञ्चालनमा आइसकेको अक्सन मार्केट नेपालमा पहिलोपटक सञ्चालनमा ल्याउन लागिएको उनको भनाइ छ। 

‘अक्सन मार्केट सञ्चालनको लागि कार्यविधि बनाएर स्वीकृतिको लागि धितोपत्र बोर्डमा पठाएका छौँ’, न्यौपानेले नेपालखबरसँग भने, ‘बोर्डले सञ्चालनको स्वीकृति दिएपछि अक्सन मार्केट सञ्चालनमा ल्याउँछौँ।’

तर कार्यविधि पठाएको लामो समय बितिसक्दा समेत बोर्डले अनुमति नदिएको उनको भनाइ छ। अक्सन मार्केट सञ्चालनमा ल्याएसँगै क्लोज आउटको समस्या समाधान हुने न्यौपाने बताउँछन्। 

किनकि कुनै सेयर बिक्रेताले समयमा ईडीआईएस नगर्दा (क्लोज आउट)मा पर्दछ। अक्सन मार्केट सञ्चालनमा आएपछि लगानीकर्ताले समयमा सेयर पाउने व्यवस्था हुन्छ। 

‘कुनै सेयरधनीसँग १००० कित्ता छ, त्यो सेयर उसले समयमा ट्रान्सफर गर्न छुटायो वा बिर्सियो भने ऊ क्लोज आउटमा पर्छ’, उनले भने, ‘सेयर किन्नेले त समयमा १००० कित्ता पाउनुपर्छ। यस्तो अवस्थामा ब्रोकरले सेटलमेन्ट ग्यारेन्टी फण्डबाट सापटी लिएर अक्सन मार्केटबाट सेयर खरिद गरेर सेटलमेन्ट गराउँछ।’

यस्तो अवस्थामा अपुग सेयर ब्रोकरले अक्सन मार्केटबाट खरिद गरी समयमै लगानीकर्ताको डिम्याट खातामा पठाउन सक्छ। जसले गर्दा बजार सञ्चालन भइरहन्छ र यता लगानीकर्तालाई सेयर नपाउने समस्या पनि हुँदैन। 

संसारमा अन्य धेरै मुलुकमा अक्सन मार्केट सञ्चालनमा छन्। नेपालमा ब्रोकरहरुले क्रेताको डिम्याट खातामा हप्तौँपछि पनि सेयर जम्मा गर्ने गरेका छन्। 

‘बिक्रेताले समयमा सेयर ट्रान्सफर नगरेको भन्दै क्रेतालाई ढिलाइ गरी सेयर पठाउँछु भन्न ब्रोकरले पाउँदैन’, उनले भने, ‘लगानीकर्ताले खरिद गरेको सेयर समयमा पाउनुपर्छ।’

नेपाल स्टक एक्सचेञ्ज नेप्सेका सूचना अधिकारी मुराहरी पराजुली अक्सनविनाको बजार अपूरो हुने बताउँछन्। उनका अनुसार सेकेन्डरी मार्केट सञ्चालनको मुख्य चुनौती नै बजारलाई निरन्तर लैजानसक्नु नै हो। 

‘स्टक एक्सचेञ्ज चलाइसकेपछि त्यसमा डिफल्टको सम्भावना धेरै हुन्छ। किन्नेले पैसा नदिन सक्छ र बेच्नेले सेयर नदिन सक्छ’, उनले भने, ‘सेकेन्डरी मार्केट सञ्चालनको मुख्य च्यालेन्ज नै बजार सहज रुपमा चलाउनु नै हो। यहाँ सेयर किन्नेले सेयर पाउनुपर्यो र बेच्नेले पैसा पाउनुपर्यो।’

आधुनिक र पर्फेक्ट स्टक भनेको सेटलमेन्ट फन्ड र अक्सन मार्केटसहितको हुनुपर्ने उनको भनाइ छ। योविना सेकेन्डरी मार्केट सञ्चालनमा समस्या हुने उनले बताए। 

के हो अक्सन इन्डेक्स? 
अक्सन मार्केट त्यस्तो बजार हो जहाँबाट तुरुन्त सेयर लिलामीमा खरिद सकिन्छ। यो सञ्चालनमा आउँदा बजारको राफसाफ सहज हुने नेप्सेले जनाएको छ। सेयरको राफसाफमा सहज हुने भएकाले अक्सन मार्केट आवश्यक छ। 

सेयरबजारमा सूचीकृत कम्पनीको जोड्ने काम ब्रोकर (धितोपत्र दलाल व्यवसायी)ले गर्छ। संसारभर कारोबार भएपश्चात् सेटलमेन्ट गरिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार नेपालमा पनि सेयरको कारोबार हुनेछ। संसारका अन्य मुलुक अक्सन मार्केट सञ्चालन भए पनि नेपालमा भने पहिलोपटक सुरु गर्न लागिएको हो। 

कुनै सेयरधनीले सेयर बिक्री गरेर ट्रान्सफर (ईडीआईएस) नगरे पनि ब्रोकर कम्पनीले क्रेतालाई सेयर उपलब्ध गराउनुपर्छ। त्यस्तो अवस्थामा ब्रोकरले अक्सन मार्केटबाट सेयर खरिद गरी क्रेतालाई समयमै सेयर उपलब्ध गराउन सक्छन्। 

तर, नेपालमा अक्सन मार्केट सञ्चालनमा नहुँदा ब्रोकर कम्पनीले क्रेताको डिम्याट खातामा सेयर पठाउन हप्तौँ दिन लगाइरहेका हुन्छन्। बिक्रेताले सेयर नदिएपछि ब्रोकरले त क्रेतालाई सेयर उपलब्ध गराउनुपर्छ। 

त्यस्तो अवस्थामा ब्रोकरले अक्सन मार्केटबाट सेयर खरिद गरेर क्रेतालाई उपलब्ध गराउनुपर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .