ad ad

कारोबार


राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दु:ख दिँदैनौँ : अर्थमन्त्री पुन

राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दु:ख दिँदैनौँ : अर्थमन्त्री पुन

नेपालखबर
चैत २०, २०८० मंगलबार १७:४८, काठमाडौँ

अर्थमन्त्री वर्षमान पुनले राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दु:ख नदिने आश्वासन दिएका छन्।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँगको भेटवार्तामा अर्थमन्त्री पुनले सो कुरा व्यक्त गरेका थिए। 

भेटको क्रममा ढकालले अर्थमन्त्री पुनलाई पछिल्ला दिनमा महासंघमा अनावश्यक बजार अनुगमन बढेको भन्दै सदस्यहरुबाट गुनासो आइरहेको जानकारी गराएका थिए।

सरकारको राजस्व सङ्कलनमा कमी आएपछि सरोकारवाला निकायले व्यवसायीलाई समस्यामा पारेको उनले बताए। ढकालले निजी क्षेत्रले सुव्यवस्थित रुपमा काम गर्न नसके व्यवसाय मात्र नभई सरकारको राजस्वमा समेत असर पर्ने बताए।

अध्यक्ष ढकालले मुलुकमा उद्योग, व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरण बनाउन पहल गर्न अर्थमन्त्री पुनलाई आग्रह गरे। उनले अहिले मुलुकले बढीभन्दा बढी स्वदेशी तथा विदेशी लगानी भित्र्याउने समय आएको बताए।

लगानी सम्मेलन चाँडै हुन गइरहेकोले अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई स्वदेशी लगानीकर्ताहरुलाई सम्मान गर्नुपर्ने र सरकारले व्यवसायीहरुको मनोबल बढाउनुपर्ने धारणा व्यक्त गरे।

आफ्नो कुरा राख्दै अर्थमन्त्री पुनले उठेको विषयलाई गम्भीरतापूर्वक हेर्ने आश्वासन दिए। उनले निजी क्षेत्रलाई जसरी पनि सहयोग गर्न सरकार सधैँ तत्पर रहेको बताए। मन्त्री पुनले राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दु:ख नदिने आश्वासन पनि दिए।

अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको बताए। मन्त्री पुनले वर्तमान सरकारको अहिलेको मुख्य प्राथमिकता देशको अर्थतन्त्र सुधार गर्नु रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .