कारोबार


सिमेन्ट उत्पादन मागभन्दा बढी, कसरी टिक्लान् पाँच दर्जन उद्योग?

सिमेन्ट उत्पादन मागभन्दा बढी, कसरी टिक्लान् पाँच दर्जन उद्योग?

सन्तोष न्यौपाने
फागुन ५, २०७६ सोमबार ८:५४,

सिमेन्ट उत्पादनमा मागभन्दा उत्पादन धेरै भएपछि व्यवसायी चिन्तित भएका छन्, ‘अहिलेकै अवस्थामा ५ दर्जन सिमेन्ट उद्योग कसरी धानिने?’

भएका उद्योगहरु टिक्ने चिन्ता जनाइरहँदा अर्कोतर्फ सिमेन्ट उद्योगमा लगानी बढ्दो छ। उद्योगहरु थपिँदै छन्। मुलुकभर हाल सञ्चालनाम रहेका सिमेन्ट उद्योगको संख्या ६२ छ। थप केही सञ्चालनको तरखरमा छन्।

हाल नेपालको सिमेन्टको माग वार्षिक १ करोड २० लाख टन (१२ मिलियन टन) छ। उत्पादन १ करोड ८० लाख टन (१८ मिलियन टन) पुगेको छ। अधिकांश उद्योग आफ्नो क्षमताको ८० प्रतिशतसम्म मात्र सिमेन्ट उत्पादन गरिरहेका छन्। यता देशभित्र सिमेन्टको खपत भने खासै बढेको छैन।

यस्तो अवस्थामा कसरी धानिने त ५ दर्जन उद्योग? ‘मुलुकका सिमेन्ट उद्योगलाई बचाउने दुई विकल्प छन्,’ नेपाल सिमेन्ट उद्योग संघका उपाध्यक्ष ताराप्रसाद पोख्रेल भन्छन्, ‘एउटा आन्तरिक खपत बढाउने र अर्को निर्यात गर्ने।’

arghachi cement 23

सबैभन्दा सजिलो उपाय आन्तरिक खपत बढाउने हो। त्यसको लागि उद्योगी होइन सरकार तात्नुपर्छ। विकास खर्च बढाउने र पूर्वाधार निर्माणमा तीव्रता दिने।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पुशपति मुरारका स्वदेशी उद्योग ‘सस्टेन’को लागि खपत बढाउनुभन्दा अर्को राम्रो विकल्प नभएका बताउँछन्।

‘खपत बढाउन पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्छ। अहिले घर तथा भवन निर्माण सुस्त छ’, मुरारका भन्छन्, ‘यो कामलाई तीव्रता दिन आवश्यक छ।’ सरकारले स्वदेशी सिमेन्ट उद्योगलाई फाइदा पुग्ने गरी केही निर्णय गर्नुपर्ने उनको बुझाइ छ।

pashupati muraraka 22
पशुपति मुरारका

‘सरकारी तहबाट निर्माण हुने सडकमा अहिले बिटुमिन प्रयोग हुन्छ। बिटुमिनको सट्टा सिमेन्ट प्रयोग राम्रो हुन्छ,’ उनी भन्छन्, ‘सिमेन्टको प्रयोग अहिलेलाई अलि महँगो पर्ला तर यो टिकाउ हुन्छ।’

पूर्वाधार निर्माणमा सरकारले आफ्नो काम गर्ने शैलीलाई पनि परिवर्तन गर्न आवश्यक छ। ‘सरकारले बजेट खर्च गर्न सकेको छैन,’ उपाध्यक्ष पोख्रेल भन्छन्, ‘बजेट खर्च गरेर कामलाई तीव्रता दिने।’

आर्थिक वर्ष १२ महिनाको हुन्छ तर काम भने ६ महिनाभन्दा पनि कम हुने पोख्रेलको भनाइ छ। केही महिना बर्खा भनेर जान्छ, केही महिना दसैँ तिहारजस्ता चाडवाड, केही महिना बजेटपछिको ठेक्कापट्टा मै जान्छ।

‘विभिन्न बहानामा ६ महिना जान्छ,’ पोख्रेल भन्छन्, ‘सरकारले ६ महिना काम नहुने प्रवृत्तिलाई हटाउनु पर्छ।’

स्वदेशी सिमेन्ट उद्योगलाई बचाउन मेहनत गर्नुपर्ने अर्को काम निर्यातको वातावरण बनाउनु हो।

हाललाई नेपाली सिमेन्ट निर्यात गर्न बढी सम्भावना भएको मुलुक दक्षिणी छिमेकी देश भारत हो। भारतमै ठूलो मात्रामा सिमेन्ट उत्पादन हुन्छ। त्यहाँ सिमेन्टको उपभोक्ता मूल्य नेपालभन्दा सस्तो छ।
यस्तो अवस्थामा नेपालले कसरी सिमेन्ट निर्यात गर्न सक्छ त ?

पोख्रेल भारतमा नेपाली सिमेन्ट निर्यात हुने विषयमा ढुक्क छन्। भन्छन्, ‘तराईको पूर्वदेखि पश्चिमसम्मको सीमा क्षेत्रको नजिकको विहारमा भारतका सिमेन्ट उद्योग छैनन्। त्यो क्षेत्रमा हामीले सिमेन्ट निर्यात गर्न सक्छौं।’

नेपालबाट भारतमा सिमेन्ट निर्यात गर्ने पहल व्यवसायीले मात्र गरेर हुँदैन। यसको लागि सरकारले गम्भीर भएर भातरसँग सहकार्य गर्नुपर्छ। नेपाल सरकारले यसबारेमा भारत र स्वदेशी उद्योगीसँग काम गर्नुपर्ने पोख्रेलको भनाइ छ।

सरकारले भारतमा सिमेन्ट निर्यात गर्ने वातावरण बनाउन भने स्वदेशी सिमेन्ट उद्योगलाई प्रोत्साहन हुनेगरी केही सहुलियत दिनुपर्ने पोख्रेलको भनाइ छ। जस्तो कि नेपालभन्दा भारतमा उत्पादन हुने सिमेन्टको मूल्य सस्तो छ। नेपालमा लागत बढी हुँदा महँगो छ।

tara4
ताराप्रसाद पोख्रेल

‘अब हामीले पनि लागत घटाउनु पर्छ,’ पोख्रेलले भने, ‘त्यसका लागि केही उपाय छन्।’

पहिलो, नेपाली सिमेन्टले भारतबाट कोइला आयात गरेर प्रयोग गरिरहेका छन्। त्यो लागत बढाउने एउटा पक्ष हो। त्यसलाई घटाउने सरकारले पहल गर्नुपर्छ। पोख्रेलकाअनुसार कोइलामा लाग्ने भन्सारकर मूल्य बढी पर्नुको अर्को कारण हो।

मुरारका भारत हुँदै तेस्रो देशबाट कोइलाको आयात गर्न दिनुपर्ने बताउँछन्। तेस्रो देशबाट कोइला ल्याउँदा धेरै सस्तो पर्ने उनको भनाइ छ।

दोस्रो, विद्युत महसुलमा घटाउने। नेपाल विद्युत प्राधिकरणले विद्युत् उत्पादन धेरै भइरहेको जनाएको छ। विद्युत खपत बढाउन अब हिटर वा खाना पकाएर मात्र नहुने अवस्था आउँदै छ। स्वदेशमा उत्पादन भएको विद्युत खपतलाई बढाउन सिमेन्ट उस्ता उच्च प्रतिफल दिने उद्योगका लागि महसुल घटाइदिनु पर्ने पोख्रेलले बताए।

विद्युत् निर्यात गर्ने अवस्थामा मुलुक पुग्दैछ। सरकारले सस्तो दरमा विद्युत् निर्यात गर्ने दरमा व्यवसायीलाई पनि दिने हो भने यसले सिमेन्ट उद्योगलाई फाइदा पुग्ने मुरारकाको भनाइ छ।

तेस्रो, सिमेन्ट निर्यात गर्नेगरी उत्पादन लागत घटाउने अर्को उपाय ढुवानीमा सहुलित दिनु हो। सिमेन्ट उद्योग र चुनढुंगाा खानीबाट गरिने ढुवानीको लागत उच्च छ। पोख्रेल यसका लागि ढुवानीकर्ताको ‘मनोपोली’, कच्चिबाटो र स्थानीय तहका समस्या समाधान गर्नुपर्ने बताउँछन्।

‘सरकारले यति काम गर्ने हो भने चौतर्फी फाइदा छ,’ पोख्रेलले भने, ‘सरकारले केही अनुदान दिँदा उसको राजस्वमा ठूलो सहयोग पुग्नेछ।’

नेपाली सिमेन्ट उद्योगलाई बचाउन यी उपाय नगर्ने हो भने अब उत्पादन घटाउनुको विकल्प नभएको व्यवसायी बताउँछन्।

arghachi cement 22

अहिले सञ्चालनमा रहेका सिमेन्ट उद्योगले अबको १० वर्षसम्म धान्न सक्ने पोख्रेलको अनुमान छ।

त्यसपछि पनि यिनै उद्योगले क्षमता विस्तार गर्न सक्छन्। ‘सिमेन्टमा अब नयाँ प्लेयर आउन सम्भवना छैन’, पोख्रेलले भने।

अझै सौर्य सिमेन्ट, सम्राट सिमेन्टजस्ता केही उद्योग पाइपलाइनमा छन्। प्युठान सिमेन्ट, घोराही, सोनापुर, कसमस सिमेन्ट जस्ता उद्योगले क्षमता विस्तार गर्ने योजना बनाइरहेका छन्।  

अहिले सञ्चालन भइरहेको सिमेन्ट उद्योग ६२ रहेका छन्। त्यसमध्ये २१ वटाले आफ्नै क्लिंकर उत्पादन गरिरहेका छन्। यी सिमेन्ट उद्योगमा झन्डै ४ खर्ब लगानी भएको छ भने ५५ हजारले रोजगारी पाएका छन्।

उद्योगको संख्या बढेसँगै मुलुकमा क्लिंकर आयात पनि घटेको छ। पूर्वतिर नेपाली क्लिंकर उत्पादन गर्ने उद्योग नभएको र भारतबाट ल्याउन नजिक पर्ने भएकाले केही मात्रामा क्लिंकर आयात हुने गरेको पोख्रेल बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad