ad ad

कारोबार


साताको सेयर : ४ दिनमा ११२.७१ अंकले बढ्यो सूचक, झण्डै २२ अर्बको कारोबार

साताको सेयर : ४ दिनमा ११२.७१ अंकले बढ्यो सूचक, झण्डै २२ अर्बको कारोबार

नेपालखबर
जेठ १०, २०८१ बिहिबार १६:४२, काठमाडौँ

यो साता परिसूचक र कारोबार रकमले सेयरबजारमा उत्साह थपेको छ। 

सुस्ताउँदै सुस्ताउँदै २००० विन्दुबाट झरेको नेप्से २१ सय विन्दुबाट पनि उक्लिएको छ। 

आइतबार ५ अर्ब २५ करोडको कारोबार भएको थियो भने सोमबार ५ अर्ब ८५ करोड, मंगलबार ५ अर्ब २० करोड र बुधबार ५ अर्ब ६८ करोड रुपैयाँको सेयर कारोबार भयो। 

बिहीबार बुद्धजयन्तीको सार्वजनिक विदाका कारण बजारमा कारोबार भएन। शुक्रबार र शनिबार नियमित रुपमै कारोबार हुँदैन। 

यस अर्थमा यो साता ४ दिनमात्र बजार खुल्यो। यसमा २१ अर्ब ९८ करोडको कारोबार भयो भने नेप्से सूचक यो ४ दिनमा ११२.७१ अंकले बढेको छ। 

यसले सेयरबजारको उत्साह देखाउँछ। 

पहिलो दिन ४५.६९, दोस्रो दिन २७.५४, तेस्रो दिन २३.९४ र चौथो कारोबार दिन १५.५४ अंकले सूचक बढेको छ। 

किन बढ्यो सेयरबजार?
यो साता सेयरबजारमा छाएको उत्साहको कारण राष्ट्र बैंकले गरेको मौद्रिक समीक्षालाई मानिएको छ। 

समीक्षामार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतित भइसकेका लगानीबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था ल्याउने भनेको थियो। 

यसअघि १ प्रतिशतसम्म मात्र बिक्री गर्न पाउने व्यवस्था थियो। यसले बैंकहरुलाई सेयरबजारमा लगानी गर्न प्रोत्साहन मिल्ने भएकाले पनि त्यसपछिका कारोबार उत्साहजनक रुपमा भएका छन्। 

मौद्रिक समीक्षापछि आइतबार नै पहिलो कारोबार भएको थियो। ५ अर्ब २५ करोडको कारोबार भएको दिन नेप्से ४५.६९ अंकले बढेको थियो। उक्त दिन क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक समेत ८ अंकले बढेको थियो। सो दिन माइक्रोफाइनान्स ६१, जलविद्युत् ३०, होटल ६८ अंकले बढेको थियो। 

त्यसपछि सोमबार पनि सेयरबजार २७.५४ अंकले बढेर २०९२ विन्दुमा पुगेको थियो। ५ अर्ब ८५ करोडको कारोबार भएको दिन १३४ कम्पनीको सेयर बढेको थियो। त्यसमा ६ कम्पनीको सेयर ९ प्रतिशतभन्दा धेरैले बढेको थियो। 

तेस्रो दिन मंगलबारको कारोबार पनि उत्साहजनक रह्यो। ५ अर्ब २० करोडको सेयर खरिदबिक्री भएको दिन १९४ कम्पनीको सेयर बढेको थियो। सो दिन लगानीकर्ताले ४.२८ प्रतिशतसम्म मात्र प्रतिसेयर नोक्सानी व्यहोरेका थिए। 

यता बुधबार पनि नेप्से दोहोरो अंकले बढेको थियो। योसँगै ५ अर्ब ६८ करोडको सेयर किनबेच भएको थियो। 

यो साता नेरुडे मिर्मिरे लघुवित्त, लक्ष्मी इक्विटी फन्ड, एनआईबीएल ग्रोथ फन्ड, हिमालयन रिलगायतको सेयरको सर्वाधिक माग देखिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .